के रवि लामिछानेको राजनीतिसँग प्रभावित हो ‘छक्का पन्जा ४’को कथा ?

शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘छक्का पन्जा ४’ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । शुक्रबार र शनिबार फिल्मले बम्पर व्यापार गर्यो । आज आइतबार पनि फिल्मको व्यापार सुखद छ । मध्यान्नदेखिका शोजहरुमा दर्शकको चाप बढेको छ । भोली र पर्सी होली, बुधबार नारी दिवस परेकाले पनि फिल्मको व्यापारमा फेरि उछाल आउने पक्का छ ।

यो फिल्मले एउटा गुन्डाबाट राजनीतिज्ञ हुँदै मन्त्री बन्न लागेको ‘राजा’को यात्रालाई प्रस्तुत गरेको छ । यो फिल्म हेर्दा धेरैलाई राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको राजनीतिक करिअरको याद आउँछ ।

सांसद बनेसँगै उनले मिडियाको साथमा गरेको काम कारवाहीलाई फिल्ममा देखाइएको छ । सरकारमा जाने निमन्त्रणा आएसँगै उनी आफै सरकारमा जान हतारिएको जस्तै यसमा पनि राजालाई मन्त्री बनाउने प्रस्ताव गरिन्छ । फिल्म हेर्दै जादा दर्शकले दीपकराज गिरीमा रवि लामिछाने देख्छन् ।

यो फिल्मले समाजको कथालाई मिठो तरिकाले प्रस्तुत गरेको छ । विशेषगरि, राजनीतिकतन्त्र र गणतन्त्रमा कर्मचारीतन्त्र हाबी हुँदा जनताले भोग्नु परेको समस्या, कर्मचारीतन्त्रमाथि धावा बोल्न उदाएको राजाको कथा फिल्ममा प्रस्तुत गरिएको छ ।

हेमराज वीसीको निर्देशनमा तयार भएको फिल्ममा दीपकको साथमा केदार घिमिरे, वुद्दि तामाङ, निर शाह, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी लगायतका कलाकारको अभिनय छ ।