सन्दीपको आँखामा आँसु ?

पपुवा न्यूगिनीविरुद्धको म्याचमा ग्लोबल क्रिकेट स्टार स्पिनर सन्दीप लामिछाने म्यान अफ दि म्याच भएका छन् । सन्दीपले खेलमा ५ विकेट लिएका थिए ।म्याच अफ द म्याचको अवार्ड लिएपछि सन्दीप भावुक बनेका थिए ।

उनले आँशु पुछ्दै नेपालका लागि खेल्न पाउनु आफ्नो भाग्य रहेको बताए । ‘भविष्यमा पनि म आफ्नो देशका लागि योगदान दिन चाहन्छु,’ उनले भने ।पाटन उच्च अदालतले धरौटमिा छोडेपछि टिममा फर्किएका सन्दीप उत्कृष्ट लयमा छन् । त्यसयता लगातार विकेट लिइरहे पनि म्यान अफ दि म्याच भने पहिलोपटक भएका हुन् ।

उनले अफगानिस्तानका स्टार रसिद खानको रेकर्ड ब्रेक गर्ने लगभग पक्का नै भएको छ । सबैभन्दा कम खेल खेलेर १०० विकेट पुरा गर्ने बिश्व रेकर्ड सन्दीप लामिछानेको नाममा हुनेछ ।

आइसीसी लिग–२ ः पपुवा न्युगिनीविरुको खेलमा नेपालको सहज जित
काठमाडौँ, २९ फागुन ।आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत नेपालले पपुवा न्युगिनीविरुद्धको खेलमा सहज जित निकालेको छ । नेपालले पपुवा न्युगिनीविरुद्धको खेल नौ विकेटले जितेको छ ।

पपुवा न्युगिनीले नेपालसामु जितका लागि ९६ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले उक्त लक्ष्य सात दशमलव चार ओभरमा एक विकेट गुमाएर पूरा ग¥यो ।

नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले बिष्फोटक ब्याटिङ गरे । दुवै जनाबीच ५१ रनको साझेदारी रह्यो । शेखले २१ बल खेल्दै तीन छक्का र आठ चौकाको मद्दतमा अविजित ५३ रन बनाए ।

यस्तै भुर्तेलले १४ बल खेल्दै दुई छक्का र चार चौका प्रहार गरी ३३ रन बनाए । कुशल मल्लले अविजित रहँदै १२ रनको योगदान दिए । उनले १३ बल खेल्ने क्रममा एक छक्का र एक चौका हाने । बलिङतर्फ पपुवा न्युगिनीका चाड सोपरले एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज नेपालले टस जितेर पपुवा न्युगिनीलाई ब्याटिङ गर्ने निम्तो दिएको थियो । पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३२ ओभर खेल्दै सबै विकेट गुमाएर मात्र ९५ रन बनायो । पपुवा न्युगिनीका ब्याटर नेपाली बलरसामु निरीह साबित भए । पपुवा न्युगिनीले सुरुआतमै महत्वपूर्ण दुई विकेट गुमाएको थियो ।

हिरी हिरी, सेसे बाउ, कप्तान असाद भाला र चाल्र्स अमिनीले केही हदसम्म पारी सम्हाल्ने प्रयास गरे । तर नेपाली बलरले उनीहरुलाई खुलेर खेल्न दिएनन । भालाले २०, बाउले १८, अमिनीले १६ तथा हिरीले १४ रन बनाए । अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन ।