रामचन्द्र पौडेलको राजीनामा स्वीकृत ?

राष्ट्रपतिमा निर्वाचित भएपछि पार्टीको सबै जिम्मेवारीबाट अलग भएका रामचन्द्र पौडेलको राजीनामा स्वीकृत भएको छ।

नेपाली कांग्रेसका नेता तथा केन्द्रीय कार्यसमितका सदस्य पौडेलले आज सभापति शेरबहादुर देउवासमक्ष राजीनामा दिएका थिए।

नेपाली कांग्रेसले केहीबेर अघि विज्ञप्ति जारी गर्दै पौडेलले दिएको राजीनामा स्वीकृत गर्दै पार्टीको जिम्मेवारी र साधारण सदस्य समेतबाट अलग भएको जनाएको छ।

साथै सभापति देउवाले पौडेलको सफल कार्यकालका लागि शुभकामना दिएका छन्।​

कमल थापाको राप्रपा नेपालका प्रवक्ता राप्रपामा फर्किए

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रवक्ता सुरेश आचार्य राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमै फर्किएका छन्।

राप्रपाले आइतवार पार्टी कार्यालय,धुम्बाराहीमा गरेको प्रवेश कार्यक्रममा सुरेश आचार्यसहित करिब १६ जनालाई स्वागत गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताए।

राप्रपा प्रवेश गर्नेहरुमा सन्देश रम्तेल, बाँकेका शिवबहादुर शाही, काठमाडौंका कविन्द्र थापा, रामकुमार गिरी र सुरज राउत, कैलालीका रवीन्द्रकुमार मल्ल र सञ्जय मल्ल, सिन्धुलीका नवीन बस्नेत छन्।

श्रेष्ठका अनुसार सिन्धुपाल्चोकका नवीन भट्टराई, काठमाडौंका मनीष आचार्य, रोशनकुमार बोहोरा, समीर सुवेदी र तिलककुमार ठोटी पनि राप्रपा प्रवेश गरेका छन्।

त्यसैगरी दैलेखका युवराज शाही, बाराका सुवास देवकोटा र काठमाडौंका ओम अर्याल पनि राप्रपामा प्रवेश गरेका छन्।