स्वतन्त्र विद्यार्थी समाजले त्रिविमा उठायो ‘गोल्ड मेडलिस्ट’ उम्मेदवार

काठमाडौँ, २७ फागुन । त्रिभुवन विश्व विद्यालयको स्ववियु सभापतिमा एक जना गोल्ड मेडलिस्ट विद्यार्थीले पनि उम्मेदवारी दर्ता गरेका छन् । नेपाल स्वतन्त्र विद्यार्थी समाजबाट मास्टर्स तर्फका गोल्ड मेडलिस्ट विद्यार्थी विष्णु बैडेलाले आफ्नो टिमसहित स्ववियु सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको टिमबाट सचिवमा अंग्रेजीका टपर योगेन्द्र बम र कोषाध्यक्षमा निश्चल घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । सदस्यमा जीनराज ढुंगाना, रमेश ऐरी, इन्द्रकुमार रावल र मानबहादुर बोहोरा उम्मेदवार बनेका छन् ।

“हामी सबै कलेजमा आएका छौँ । विद्यार्थीका समस्यालाई नजिकबाट बु्झेका छौँ । क्याम्पसका समस्यासँग पनि हामी जानकार छौं,” उम्मेदवार बडैलाले भने, “त्रिविको स्ववियु विवेकशील हुनुपर्छ । खोक्रा राजनीतिक भाषणमात्रै गर्ने भन्दा पनि अध्ययन गर्ने बौद्धिक हुनुपर्छ। राजनीतिका नाममा ढुंगामुडा गर्ने भन्दा पनि बौद्धिक रूपमा समस्याको हल खोज्ने व्यक्तिलाई यहाँहरूले जिताउनु हुनेछ भन्ने विश्वास छ ।”

नेपाल स्वतन्त्र विद्यार्थी समाजबाट उम्मेदवार बनेका अधिकांश नेता यसअघि त्रिविमा नेविसंघको राजनीतिमा सक्रिय थिए । तर, गुटको आधारमा उम्मेदवार बनाइएपछि उनीहरूले स्वतन्त्र विद्यार्थी समाजबाट उम्मेदवारी दिएको बताएका छन् ।