रबिमाथि डिल्लीरामको आक्रोश– ‘राष्ट्रको विरुद्ध अपराध गर्ने अनि अरुलाई नैतिकता पढाउने ?’

काठमाडौँ, २७ माघ । अभियान्ता डिल्लिराम खनालले रबि लामिछानेमाथि आक्रोश पोख्दा करिश्मा मानन्धरको नाम जोडिएको बताएका छन् । हिजो (बिहिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले करिश्मासँग कुनै द्वन्द्व नभएको र रबिमाथिको आक्रोशमा उनको नाम जोडिएको बताएका हुन् । ‘पछिल्लो समयमा मैले रबिमाथि आक्रोश पोख्दा नायिका करिश्माजीको नाम जोडिएछ । मिडियाहरुमा पनि कुन कुरा राख्ने र नराख्ने ख्याल गर्दैनन् । त्यहाँ मैले किटानका साथ भनेको छैन । यस्ता कुराहरु पनि सुन्नमा आएका छ भनेको छु’ उनले भने ।

टेलिभिजनमा रहँदा यसो भएन, उसो भएन भनेर अरुलाई नैतिकताको पाठ सिकाउने रबिले नागरिकता पुनः प्राप्तिको प्रक्रिया नै नगरेर राष्ट्रप्रति जघन्य अपराध गरेको उनले आरोप लगाए । ‘करिश्माजीसँग मेरो कुनै द्धन्द्ध थिएन । आक्रोश त रविप्रति थियो । उहाँले नागरिकता लिनुभन्दा अगाडिको कुरा गर्दै छु । टेलिभिजनको पर्दामा बसेर दुनियाँलाई यसो भएन, त्यो भएन भनेर सारालाई नैतिकताको पाठ पढाउने व्यक्तिले त्यो देशको नागरिकता पुनः प्राप्तिको निवेदन नदिने । आफू राष्ट्रको विरुद्ध जघन्य अपराध गर्ने अनि अरुलाई नैतिकताको पाठ पढाउने ?’ उनले प्रश्न गरे ।

नायिका करिश्माले खनालविरुद्ध उजुरीसमेत दिएकी छिन् । खनालले मानन्धरको नाम रवि लामिछानेसँग जोडेर जथाभावी बोलेकोमा कारबाही गर्न आवाज उठाएपछि उनले साईबर ब्यूरोमा निवेदन दिएकी हुन् ।