‘म बहुलाए पनि राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ्छ’ – रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू बहुलाए पनि राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ्ने बताएका छन् । पासपोर्टको विषयमा आफूबाट कमजोरी भएको स्वीकार गरेका उनले आफूले कुनै दुरुपयोग भने नगरेको बताए ।

आइतबारको पत्रकार सम्मेलनमा उनले आफूले यही विषयमा जेल जान परेपनि पार्टीभने अघि बढ्ने र पाँच वर्षपछि रास्वपाले नै सरकार बनाउने बताए ।

‘म जेल जान परेपनि राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ्छ’, उनले भने, ‘म बहुलाए पनि राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ्छ । यो बेथितिबाट वाक्क दिक्क भएको बेलामा हामी सरकारमा गएका हौँ ।’

उनले आफूहरू फोहोर सफा गर्नकै लागि सरकारमा गएको पनि बताए ।

आइतबार पत्रकार सम्मेलन गर्दै मिडिया सञ्चालक र पत्रकारहरूप्रति आक्रोशित बनेका लामिछानेले पार्सपोर्टमा फसाउन सकिन्छ भनेर १२ भाइ मिलिसकेको बताए ।

‘पार्सपोर्टमा फसाउन सकिन्छ भनेर १२ भाइ मिलिसकेका छन् । यसलाई हटाइसकेपछि भनेर । अव दुख पर्‍यो भनेपनि म रेडी छु । तयार छु, फसाउनुहोला, आफ्नो मुद्दा आफै लड्छु’, लामिछानेले भने ।

उनले गृहमन्त्री हुँदा त आफूले केही गर्न नसकेको भन्दै अव बाहिर निस्केपछि पनि के गर्न सक्छु र ? भन्दै प्रश्न गरे ।

‘बाहिर आएपछि त के गर्नसक्छु र ? गृह मन्त्रालयमा पदलोलुपताका लागि म गएको होइन । १२ वर्ष खटेको मान्छेलाई १२ मिनेटमा काम हुनेगरी गर्‍यो त्यसकारण म गृहमा जान खोजेको हो’, उनले भने, ‘प्रहरी र सिडिओ आफ्ना मान्छे राख्नुपर्छ भनेर मिडिया मालिकहरू दौडने गरेको र मालिकले अहएको धेरै पत्रकारले मान्ने गरेको समेत बताए ।

उनले आफू जेल परेपनि र मरेपनि आफ्नो पार्टी अघि बढ्ने दाबी गरे । उनले आफ्नो मुद्दाका दिन रामेश्वर थापा कहाँ कहाँ कुन न्यायाधीशकोमा जानुभयो भन्ने आफूलाई सबै थाहा भएको बताए ।