सरकार छोड्ने बिषयमा विभाजित रास्वपा, मन्त्रीहरुले नै रविलाई दिएनन् साथ ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पार्टी सरकारबाट बाहिरिने हो भने त्यसको आधार देखाउनुपर्ने बताएका छन् । हतारमा निर्णय नगरी पार्टी अगाडि बढ्नुपर्ने उनको धारणा छ । पार्टीले बिहीबार साँझ साढे ४ बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठकले पार्टी सरकारबाट बाहिरिने संकेत पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले गरेका छन् ।

सभापति रवि लामिछानेले पनि सत्ता गठबन्धनबाट बाहिरिने संकेत सामाजिक संजालमा सन्देश लेखेर गरेका छन् । यसैबीच संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले भने अहिले पार्टीले लिने हरेक निर्णय महत्वपूर्ण रहेका र त्यसले मुलुकको राजनीतिमा प्रभाव पार्ने भएकाले छलफलबाट आधारसहित स्पष्ट राखेर जानुपर्ने बताए ।

व्यक्तिगत हिसाबमा कसलाई के लाग्छ भन्ने कुरा फरक भयो, छलफलबाट सबै साथीहरूले अपनत्व लिने गरेर निर्णय गर्नुपर्छ । यो समय हामीले राजनीतिक परिपक्वता देखाउने अवसर हो । अलिकति पनि विचलित हुनु हुँदैन । राजनीतिमा संकट भने आइरहने चिज हो, उनले भने, अहिले हामीले कस्तो नजीरमा काम गर्छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

यस्तै ३५ दिनमा छोड्ने हो भने सरकारमा गएको किन हो भन्ने प्रश्न त हामीलाई आउँछ नै। बस्ने हो भने पनि प्रश्नहरू उठेका छन्। कसले के पद पाउने भन्ने भन्दा हामीले चुनावमा जुन प्रतिवद्धता पत्र लिएर गएका थियौं त्यो हाम्रो प्राथमिकता बन्नुपर्छ। बैठकमा हामीले यही धारणा राख्ने हो,’ उनले भने।

पार्टी अप्ठ्यारो स्थितिमा रहेको भन्दै उनले परिपक्वता देखाउने बेला भएको पनि बताए। यस्तो निर्णय छलफलबाटै गर्नुपर्छ। मेरो विचारमा अहिले हाम्रो परिपक्वता देखाउने बेला हो। बल्ल सुरू भएको पार्टी छौं। जस्तो खालको अभ्यास गर्दै जान्छौं त्यही नजिर दर्ज हुने हो। त्यसैले राम्रो नजिर सेट गर्नुपर्छ। असहज परिस्थितिमा छौं त्यसैले सरकारमा जानेरनजाने विषयको टुंगोमा पुग्न छलफल हुन जरूरी छ।

त्यसमा सबैको अपनत्व हुनुपर्छ,’ उनले भने, ‘सरकार छोडे पनि नछोडे पनि सबल दुर्बल पक्ष छन्। यो कुरा नागरिक माझ हामीलाई सुभेच्छा राख्ने आशा राख्ने मान्छेहरूलाई त त्यसको जवाफ दिनुपर्ला। निर्णयमा सबैले अपनत्व लिन सकेन भने पार्टी बन्दाबन्दै बिग्रिन्छ। झन् अप्ठ्यारोमा पर्छ भन्ने मलाई लाग्छ। गृहमन्त्री आफैंलाई बनाउन पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिइरहेका खबर बाहिरिएका छन्।