हत्या आरोपमा श्रीमान जेल परेका थिए,१२ वर्षपछि श्रीमती अर्कैसँग भेटिइन्

काठमाडाैँ – भारतकाे अमेठीमा एउटा अचम्मको घटना बाहिर आएको छ । एकजना व्यक्तिले बिना अपराध जेल सजाय भोग्नुपरेको छ । हत्याको आरोपमा श्रीमान् जेलमा बस्नु परकाे थियाे ।

तर, १२ वर्षपछि श्रीमती अचानक भेटिइन् । श्रीमानले रायबरेली जिल्लामा श्रीमती फेला पारे । त्यसैले अहिले उनका परिवारले यस विषयमा समाधान खोज्न आग्रह गरिरहेका छन् ।

भारतकाे अमेठीका मनोज कुमार वर्मा आफ्नी श्रीमती सीमा वर्मासँग बस्थे । २५ मार्च २०११ मा युवककी श्रीमती सीमा वर्मा अचानक बेपत्ता भइन् । धेरै खोजी गर्दा पनि श्रीमती भेटिइनन् ।

मनोजका ससुराले उनी वर्माविरुद्ध आफ्नै श्रीमतीको हत्या गरी शव लुकाएर राखेको आरोपमा प्रहरी चौकीमा उजुरी दिएका थिए । त्यसपछि मनोजले ११ दिन जेल सजाय भोग्नुपरेको थियो ।

यसरी धरौटीमा जेलबाट छुटेपछि मनोजले श्रीमतीको खोजी गरे । १२ वर्षमा खाेला फर्किन्छ भन्ने उखान उनकाे जीवनमा लागु भएकाे छ । उनले हराएकी श्रीमतीलार्इ १२ वर्षपछि भेटेका छन्, त्याे पनि अर्कै पुरूषसँग । १० जनवरी २०२३ मा मनोजलाई उनकी श्रीमती जीवित रहेको जानकारी दिइएको थियो ।

पीडितका श्रीमान मनोजले रायबरेली निवासी उनकी श्रीमती सीमा १२ वर्षअघि एक पुरुषसँग भागेर बिहे गरेको बताए । यो थाहा हुँदाहुँदै पनि उनका परिवारले हामीविरुद्ध झुटो मुद्दा हालेका छन् ।

जसका कारण हामीले जेल सजाय भोग्नुपरेको थियो । १२ वर्षदेखि चलिरहेको मुद्दाका कारण हाम्रो जीविकोपार्जन खोसिएको छ । हामी पत्नीको बयान अदालतमा पेश गर्न चाहन्छौं ताकि हामी निर्दोष साबित हुन सकौं।