युवराज सफल भन्छन्- आ,त्मदाहको योजना स्थगित गरेँ, अर्को ठूलो कदम सोच्दैछु

काठमाडौं । रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाइएमा सिंहदरबार अगाडि आत्मदाह गर्ने घोषणा गरेर भाइरल भइरहेका छन् युवराज सफल । तीनै व्यक्ति हुन् सफल, जसले रवि विरुद्ध सर्वोच्चमा मुद्दा हालेर उनलाई गृहमन्त्रीको कुर्सीबाट ओराल्न सफल भएका थिए ।

नयाँ नागरिकता बनाएपछि रवि फेरि गृहमन्त्री बन्न दौडधुप गरिरहेका छन् । यस विषयमा सत्तारुढ गठबन्धनभित्र तीव्र रस्साकस्सी छ ।एमालेले रविलाई नै गृहमन्त्री दिनुपर्ने बताइरहँदा प्रधानमन्त्री प्रचण्ड दबाबमा परेका छन् ।

प्रचण्ड यदि गले र फेरि रवि गृहमन्त्री बनाइए भने युवराज सफलले आफ्नो घोषणा कार्यान्वयन गर्लान् ? के साँच्चै प्रेमप्रसाद आचार्यको बाटोमा लाग्लान् ?
नेपाल प्रेससँगको कुराकानीमा सफलले आत्मदाहको योजना हाललाई स्थगित गरेको बताए । बरु योभन्दा पनि ‘डेन्जर’ योजना बनाइरहेको समेत उनको भनाइ छ ।

सफलले भने, ‘मैले आत्मदाह गर्ने घोषणा गरेपछि मलाई धेरै तिरबाट दबाब आयो । प्रहरीदेखि आमजनताले समेत मलाई आत्मदाह नगर्न सुझाव दिएका छन् । ‘तपाईँ मुद्दा जितेको मान्छेले किन मर्ने ?’ भनेर सबैले सम्झाएपछि हालका लागि यो विचार स्थगित गरेको हुँ । अब योभन्दा ठूलो घटना घटाउने योजना बनाइरहेको छु ।’

आत्मदाह भन्दा ठूलो योजना के हो ? हिंसामै उत्रिने विचार गर्नुभएको हो ? भन्ने प्रश्नमा उनले जे पनि हुन सक्ने जवाफ दिए ।

‘मैले व्यक्तिगत वा सामूहिक तवरले घातक कदम चाल्न सक्छु । त्यसको जिम्मेवार केपी ओली र प्रचण्ड हुनुपर्छ,’ उनले भने ।सामाजिक सञ्जालमा भाइरल हुनकै लागि मात्रै आत्मदाहको धम्की दिएको पनि युवराजमाथि आरोप लागेको छ । त्यसलाई उनले इन्कार गरे ।

‘म आफू मरेर पनि देश बचाउन चाहन्छु भन्ने सन्देश दिन त्यसो भनेको थिएँ । अहिले म ब्याक भएको भन्दा पनि सबैतिरबाट आएको सुझाव मानेर स्थगित गरेको हो । त्यागेको भन्ने कुरा होइन । भाइरल नै हुनका लागि त अरू पनि उपाय थिए,’ उनले भने ।

सफलले रविको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता नै खारेज गर्न निर्वाचन आयोगमा उजुरी दिएका छन् भने पासपोर्ट प्रकरणमा रविलाई पक्राउ गरेर कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिने प्रयास गरिरहेका छन् । उनको जाहेरी प्रहरीले दर्ता गरेको छैन ।