पार्टीभित्र चरम व्यक्तिवाद हाबी भएको भन्दै रास्वपा चितवनका सभापतिले दिए राजीनामा

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सभापति धर्मेन्द्र सापकोटाले पार्टी भित्र चरम व्यक्तिवाद हाबी भएको भन्दै राजीनामा दिएका छन् ।

पार्टी महामन्त्री मुकुल ढकाललाई काठमाडौँमा राजीनामा बुझाएका सापकोटाले पार्टी व्यक्तिवादी हैकम र अराजकतामा चलेकाले त्यस्तोमा बसेर काम गर्न नसकिने निष्कर्षसहित राजीनामा दिएको जानकारी दिए । गत कात्तिकमा चितवन जिल्ल सभापति बनेका सापकोटाले गत मंसिर ४ गतेको निर्वाचन पनि जिल्ला समितिलाई पूर्णयता वाइपास गरेर एकाध झुण्डलाई लिएर चुनावमा परिचालन गरिएको आरोप लगाएका छन् ।

‘पार्टी सभापति रविलाई नै भेटेर राजीनामा दिने सोच थियो, उहाँसँग समय मिलेन’ सापकोटाले भने, ‘महामन्त्रीलाई भन्दा उल्टै चितवनबाट भोट आएन भन्नु भयो, दुई–दुई सांसद र सबैभन्दा बढी समानुपातिक मत आएको चितवनलाई नै लाञ्छना लगाउनु भयो ।’

उनले रवि लामिछानेसहितको टिमले जिल्ला कमिटीलाई बेवास्ता गरेर हिँड्ने गरेको कुनै मूल्य मान्यता र सरसल्लाह र बैठक समेत नभएको बताए । ‘यसरी कसरी संगठन बन्छ ? उहाँहरूलाई पनि जिल्ला समिति चाहिएको जस्तो लागेन,’ सापकोटाले भने, ‘मलाई लाग्छ देशभरमा जहाँ जहाँ समिति बनेका छन् तिनको हालत यस्तै होला, कुनै भूमिका छैन ।’