मन्त्री पदबाट राजीनामा दिएको हप्ता दिन पुग्न लाग्दासमेत रविले मन्त्री क्वार्टर छाडेनन्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्री पदबाट राजीनामा दिएको हप्ता दिन पुग्न लाग्दासमेत मन्त्री क्वार्टर छाडेका छैनन् । उपप्रधानसहित गृहमन्त्रीबाट गत शुक्रवार राजीनामा दिएका लामिछानेले अहिलेसम्म मन्त्री क्वार्टर नछोडेका हुन् ।

सर्वोच्च अदालतले लामिछानेको उम्मेदवारी खारेज गर्दै नागरिकता लिन प्रक्रिया थाल्ने फैसला गरेपछि मन्त्रीसहित सांसदको पद गएको हो । उपप्रधानसहित गृहमन्त्री गुमाएका लामिछानेले भने मन्त्री क्वार्टर नछोडेर त्यहीँ बस्ने गरेका छन् । पार्टी सभापतिले मन्त्री क्वार्टर अहिलेसम्म नछोड्नु दुःखद भएको केन्द्रीय सदस्य गणेश कार्कीले बताए ।

‘पुराना दल ठिक भएनन् भनेर हामीले नयाँ संस्कार सिकाउन राजनीति थाल्यौँ’ कार्कीले भने, ‘तर, हामी पुरानो दलभन्दा फरक हुन सकिएन । यो दुःखद पक्ष हो ।’ मन्त्री पदबाट राजीनामा दिने बित्तिकै मन्त्री क्वार्टर छोडेको भए सारै राम्रो हुने भन्दै कार्कीले दुःख व्यक्त गरे ।

ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको निःशुल्क औषधि
पाँचथर, १८ माघ । पाँचथरको याङवरक गाउँपालिका–३ ओयामले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको औषधि निःशुल्क वितरण गर्न थालेको छ । वडा कार्यालयले ६० वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गर्न थालेको हो ।

वडाका धेरै ज्येष्ठ नागरिक उच्च रक्तचाप र मधुमेहका बिरामी रहेको पाइएपछि वडाले बजेटको व्यवस्था गरी औषधि वितरण थालेको हो । चालु आर्थिक वर्षमा रु चार लाख बजेट व्यवस्था गरी औषधि वितरण थालिएको वडाध्यक्ष विमल राईले जानकारी दिनुभयो । स्वास्थ्यचौकी ओयामबाट उच्च रक्तचाप र मधुमेहको औषधि खाने ६० वर्षमाथिका वडावासीको तथ्याङ्क सर्वेक्षणपछि वडाले स्वास्थ्य शिविर आयोजना गरेको थियो । वडाध्यक्ष राईका अनुसार स्वास्थ्य परीक्षणपछि उच्च रक्तचाप र मधुमेहको औषधि वितरण थालिएको हो ।

“अहिले ६० वर्ष कटेका ५४ जना उच्च रक्तचाप र मधुमेहका बिरामी भेटिनुभएको छ । उहाँहरूमध्ये सात जना दुवै समस्याबाट ग्रसित हुनुहुँदोरहेछ”, वडाध्यक्ष राईले भन्नुभयो, “कतिपयले औषधि खाने गर्नुभएको रहेछ भने रोग लागेको भए पनि कतिपयले औषधि सेवन नगरेको पायौँ ।” वडाले निःशुल्क औषधि वितरण गरेपछि भने सबैले औषधि सेवन गर्न थालेको वडाध्यक्ष राईको भनाइ छ ।

वडाको बजेटबाट याङवरक गाउँपालिकाको स्वास्थ्य शाखाले औषधि खरिद गरी स्वास्थ्यचौकी ओयाममार्फत वितरण थालेको छ । “बिरामीले सेवन गर्ने गरेका उच्च रक्तचाप र मधुमेहका २३ प्रकारका औषधि खरिद गरी वितरण गरेका छौँ”, उहाँले भन्नुभयो, “त्रैमासिकरूपमा औषधि वितरण गर्ने योजना बनाएका छौँ ।” हालसम्म छ महिनाको औषधि वितरण भइसकेको उहाँले जानकारी दिनुभयो ।