आत्मदाह गरेका आचार्यलाई विश्वभरबाट सहयोगको ओइरो

काठमाडौं । बानेश्वरको संसद भवन अगाडी आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको मृत्यु भएको छ । उनको मृत्युपश्चात् विश्वभरबाट सहयोग गर्नेहरुको ओइरो लागेको छ । यतिबेला आचार्यका श्रीमतीको बैंक खातामा रकम जम्मा गर्ने अभियान सुरु भएको छ ।

चर्चित समाजसेवी ईशा गुरुङ्गले यो दुखद घडीमा प्रेमका छोरीहरुका लागि भनेर १ लाख रुपैयाँ सहयोग गरेको बताएकी छिन । ज्यान गुमाएका प्रेमको छोरीहरुको लागि उनले बैकको एकाउन्टमा १ लाख पठाएको भन्दै फेसबुक मार्फत जानकारी गराएकी छिन ।

आफूले शरीरमा आगो लगाउनुअघि प्रेमले फेसबुकमा आफूले भोगेको दुख बारे लेखेका थिए । उनले आफू ऋणमा रहेको भन्दै कोही मनकारी भए ऋण तिर्न आफ्नो श्रीमतीलाई सहयोग गरिदिन अनुरोध गरेका थिए ।

नयाँबानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको आज उपचारका क्रममा किर्तिीपुर स्थित बर्न अस्पतालमा निधन भएको हो । उनको निधन सँगै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिमा आफूहरुको आगमनले पनि युवामा उत्साह थप्न नसकेको बताएका छन् ।

बैंकको ऋण तिर्न नसकेपछि आत्मदाह गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु हो । उनको मृत्युपश्चात् सामाजिक संजालमा उनका श्रीमती ननुका अधिकारीको खातामा रकम जम्मा गर्न अभियान सुरु भएको हो ।

आचार्यको मृत्युपश्चात् सामाजिक संजालहरुमा उनकी श्रीमतिको खाता नम्बर सार्वजनिक गरि सहयोग गर्न अपिल समेत गरिएको छ । विश्वभरबाट यतिबेला उनकी श्रीमतिको खातामा ब्यालेन्स ट्रान्सफर गरिएको ‘स्क्रिन सट’ सामाजिक संजालहरुमा सार्वजनिक भएका छन् ।

आचार्यले उठाएका मागको छानबिन हुन्छ : गृहमन्त्री लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संघीय संसद् भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारसँग भेटी मृतक आचार्यले उठाएका मागको उचित छानबिन गर्ने आश्वासन दिएका छन् । संसद् भवन अगाडि आत्मदाह गरेका इलामका आचार्यको परिवारलाई बुधबार भेटेर सहानुभूति प्रकट गर्दै उनको माग छानबिन हुने आश्वासन दिएका हुन् ।

संसद् भवन अगाडि आफ्नै शरीर जलाएपछि उनलाई कीर्तिपुर अस्पताल पुर्‍याइएको थियो । उक्त घटनाप्रति दुःख व्यक्त गर्दै गृहमन्त्री लामिछानेले यस्ता कुराबाट वाक्क भएर केही गर्नका लागि राजनीतिमा प्रवेश गरेको बताए । उनले अहिले चलिरहेको राजनीति र प्रशासनिक कुराहरूमा सहभागी बन्न आफू नआएको जिकीर गर्दै देशलाई केही गरौँ भन्ने मनसायबाट आएको बताए ।उनले आफूबाट भएका कमीकमजोरी पनि नियाल्ने र बाँकी कुरामा पनि आफू गम्भीर भएर लाग्ने बताए ।

उनले भने, ‘अहिले दुःखको बेला अहिले धेरै भन्ने पक्षमा म पनि छैन, यही कुराहरूबाट दिक्क भएर नै केही गर्नुपर्छ भनेर म राजनीतिमा आएको हुँ । नयाँ छु । समय लाग्नसक्छ,’ उनले भने‚ ‘सबै चिजमा म तुरुन्त छानबिन गर्नेछु । हामीबाट भएका कमी कमजोरी पनि हामी हेर्नेछौँ । हामीले छानबिन गर्ने विषयमा छानबिन गर्नेछौँ । म गम्भीर भएर काम गर्नेछु ।’

मृतककी श्रीमती नानुका आचार्यले आफ्ना छोराछोरीको भविष्य सुनिश्चित गरिदिन, शिक्षाको सुनिश्चित गर्न, आफूलाई सक्ने रोजागारी दिन र श्रीमान्‌ले लिएको आर्थिका ऋण सरकारबाट तिरिदिन आग्रह गरेकी छन् । उनले देशमै केही गरौँ भन्ने मान्छेको मृत्यु भ्रष्टाचारमा लिप्त प्रशासन र सरकारकै कारण भएको बताइन् ।

उनले भनिन्, ‘उहाँले देशका लागि केही गरौँ भनेर गरौँ भन्नुभयो, तर अब बच्चाहरुको भविष्य के हुने हो ? मैले कसरी गर्ने; मेरा छोरीहरूको भविष्य, पढाइ सुनिश्चित गरियोस्; मैले सक्ने रोजगारी पनि दिनुस् । यो भ्रष्टाचारी देश भएर मेरो मान्छेको ज्यान गयो, एउटाले कृषिमा १५ पटक अनुदान पाउँदा हामीले फारम भर्नसमेत लाखौं खर्च गर्नुपर्‍यो ?’

गृहमन्त्री लामिछानेले मृतकका आफन्तलाई भेटेसँगै आफन्तहरुले शव बुझेका छन् । मंगलबार आफूमाथि पेट्रोल छर्किएर आगो लगाई आत्मदाहको प्रयास गरेका इलामका ३७ वर्षीय आचार्यको बुधबार बिहान उपचारका क्रममा निधन भएको थियो ।