राज्यमन्त्री तोसिमा कार्कीमाथि ठूलो आपत, जान सक्छ मन्त्रि पद !

काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की आत्मदाहको प्रयास गरेका इलामका प्रेम आचार्यलाई अस्पतालमा भेट्न गएको विषयबारे चर्को आलोचना भइरहेको छ ।

मन्त्री भएर गम्भीर गल्ती गरेको भन्दै उनलाई तत्काल बर्खास्त गर्न माग भइरहेको छ ।जलेर सख्त घाइते आचार्यलाई भेट्न कार्की मंगलबार कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेकी थिइन् ।

तर, घाइतेलाई भेट्न जाँदा राज्यमन्त्री कार्की क्यामेरा लिएर वार्डमा नै पुगेपछि उनको आलोचना भएको हो ।

जलेर घाइते बिरामीलाई भेट्न जाँदा उपचारसम्बन्धी प्रोटोकल र संवेदनशीलता अवलम्बन नगरेको, सङ्क्रमणबाट बिरामीलाई जोगाउनुपर्नेमा क्यामेरासहित वार्डमा नै पुगेर लापरबाही गरेको, बिरामीको गोपनीयता हनन गरेको र सस्तो लोकप्रियता हासिल गर्न खोजेको भन्दै मन्त्री कार्कीको आलोचना भइरहेको छ ।

यता, संघीय संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा निधन भएको छ । बुधबार बिहान ५ बजे आचार्यको निधन भएको डा. किरण नकर्मीले जानकारी दिएका छन् ।