स्कटनेपाल युके,
नोबेल शान्ति पुरस्कार विजेता अन्तर्राष्ट्रिय संस्था इन्टरनेशनल पिस ब्युरो (आईपीबी) ले एक नेपाली प्रतिनिधिलाई आफ्नो आधिकारिक सदस्यका रूपमा स्वीकार गरेको छ। सन् १९१० मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेको उक्त संस्थाले ५ मार्च २०२६ मा उनलाई सदस्यमा आबद्ध गरेको हो।
आईपीबीसँग आबद्ध भएर काम गर्ने विभिन्न समयका १४ जना अधिकारीहरूले समेत नोबेल शान्ति पुरस्कार प्राप्त गरिसकेका छन्। विश्वभर युद्धरहित संसारको परिकल्पनालाई सार्थक बनाउन सक्रिय यस संस्थामा हाल १०० भन्दा बढी देशका ४०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था र व्यक्तिहरू आबद्ध छन्।


यसै सन्दर्भमा जनस्तरमा स्थापित लुम्बिनी–कपिलवस्तु विश्व अभियानका विश्व संयोजकले संस्थाको सदस्यता प्राप्त गर्नु गौरवको विषय भएको बताएका छन्। उक्त अभियान प्रजातन्त्र तथा विश्व शान्ति सुदृढीकरण, मानव अधिकार संरक्षण तथा भगवान बुद्धको जन्मस्थलबारे विश्वमा फैलिएको दिग्भ्रम हटाउने उद्देश्यसहित सक्रिय छ।
अभियानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न उपलब्धि हासिल गरिसकेको छ। अभियानअन्तर्गत गठन गरिएका १९ राष्ट्रिय समितिमध्ये बेल्जियम राष्ट्रिय समितिले यसअघि नै आईपीबीको सदस्यता लिइसकेको जानकारी दिइएको छ।
अभियानका अनुसार विश्व शान्ति प्रवर्द्धन, मानव अधिकारको रक्षा तथा अन्यायपूर्ण कार्यलाई न्यायमा रूपान्तरण गर्ने चुनौतीहरू सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ। सोही कारण आईपीबीसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
अभियानले लोकतन्त्र र विश्व शान्तिको सुदृढीकरणका लागि भविष्यमा पनि अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै काम गर्ने जनाएको छ।
