शान्ति नेपाली समाज बेलायतको आयोजनामा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत बिपिन दुवाडीको प्रमुख आतिथ्य, एनआरएनए आईसीसीका प्रवक्ता सोम सापकोटा सहित झण्डै २०० जनाको उपस्थितिमा बुधबार ३ सेप्टेम्बर २०२६ साँझ, बर्मिंघम सिटी सेन्टरस्थित भिक्टोरिया स्क्वायरमा हालैको विनाशकारी बाढीबाट पीडितको सम्झनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भयो।
उक्त कार्यक्रममा प्राकृतिक विपत्ति, अकल्पनीय बाढीबाट जीवन गुमाउनेहरु प्रति सामूहिक रुपमा हार्दिक श्रद्धाञ्जली अर्पण गरियो भने परिवार, धनसम्पत्ति र सर्वस्व गुमाउनेहरु प्रति सामूहिक रुपमा हार्दिक समवेदना / सहानुभूति अर्पण गरियो। हराएका नागरिकहरु चाँडै भेटिउन् भन्दै अत्तालिएका, घाइतेको शीघ्र पूर्ण स्वास्थ्य लाभको कामना समेत गरियो।

सूर्यास्तको समय पारेर नेपालको राष्ट्रिय झण्डा सामुन्ने ५५५ वटा मैनबत्ती एकैसाथ बालेर दिवंगत आत्माको चिरशान्ति र शिवसायुज्य प्राप्तिको कामना गर्दै एक मिनेट मौन धारण गरियो। उक्त अवसरमा संस्थाको बाढी पीडित राहत कोषमा सहयोगको लागि आह्वान गरी केही रकम संकलन गरियो।


कार्यक्रममा कार्यवाहक राजदूतले सम्बोधन गर्दै शान्ति नेपाली समाज बेलायत लगायत बेलायतभित्रको नेपाली समुदायले यस प्रकारका देशमा परेका विनाशकारी प्रकोपहरुमा सधैं तन, मन र धनले सहयोग गर्ने गरेकोमा मुक्तकण्ठले प्रशंसा गर्दै धन्यवाद दिनुभयो। राहत रकम संकलन र सोको सुरक्षित प्रधानमन्त्री राहत कोषमा पुग्ने सम्मका काममा संस्थाहरु सचेत रहनुपर्ने विषय उठाउनु भयो।

उक्त अवसरमा एनआरएनए आईसीसीका प्रवक्ताले बेलायत र नेपालबीचको सम्बन्ध शताब्दीयौं पुरानो, निरन्तर मित्रवत् र साझा मूल्यमान्यतामा आधारित रहेको, यहाँ बसोबास गर्ने हाम्रो जीवित नेपाली समुदाय र शान्ति नेपाली समाज बेलायत जस्ता सामाजिक संस्थाहरुले यसलाई थप मजबुत बनाएको सन्दर्भ प्रस्तुत गर्दै बेलायत सरकारले नेपाल सरकार मार्फत बाढी पीडितहरुमा पुर्याएको तत्काल राहत लगायतका सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रममा संस्थाका अध्यक्ष राम प्रसाद त्यौपानेले अनेकतामा एकता र एकतामा विविधता नै नेपाली संस्कार र संस्कृति रहेको बताउँदै एक नेपालीलाई सानो काँडामात्र बिझ्दा समेत अर्को नेपालीलाई चसक्क दुख्ने समाज निर्माणको महाअभियानमा लागेको शान्ति नेपाली समाज बेलायत देशले मागेका बेला राहत रकम मात्रै नभै रगत दिन समेत तयार रहेको बताउनु भयो।
कार्यक्रम समापनका अवसरमा सम्पूर्ण राहत संकलनका सहयात्रीहरुमा आभार प्रकट गर्दै धन्यवाद दिनुभयो। पूर्व अध्यक्ष कोशलेश्वर ढकालले पीडितलाई चहिरहिरहेको आलो घाउमा मल्हम लगाउने संस्थाको नीति अनुरुप टेक गुरुङ परिवारलाई तत्काल राहत रकम नगदै £५५५ हस्तान्तरण गरिएको प्रसंग उठाउनु भयो। यसैगरी संस्थाका सदस्यको उद्धार र खोजीका लागि एक हजार पाउण्ड निकासा गरिएको, तत्काल घटनाको १२ घण्टाभित्रै प्रधानमन्त्री राहत कोषमा दुई लाख पचास हजार रकम पठाएको र थप झण्डै १२-१५ लाख रकम अर्को हप्ता नेपाल सरकारको आधिकारिक राहत कोषमा जम्मा गरिने बताउनु भयो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै समाजका उपाध्यक्ष निशेषमान बज्राचार्यले आकस्मिकताको विवेकशील पहिचान र तुरुन्त एक्सनमा जानसक्ने सामर्थ्यताले संस्थाले एउटा मानक स्थापना गरेको बताउँदै नेपालसँगको हाम्रो सम्बन्ध केवल भावनात्मक रहेको, नागरिकता त उहिल्यै खारेज भैसकेको बताउनु भयो। शान्ति नेपाली समाज बेलायतको स्थापित परम्पराले हामीलाई नीति कथाको फट्याङ्ग्राले डढेलो निभाउन आफ्नो चुच्चोमा पानी बोकेर उखरमाउलो डढेलोको आगोमा पानी खन्याएजस्तै, बाढी प्रकोपबाट प्रभावित क्षेत्रहरुमा तत्काल मानवीय राहत, तत्पश्चातको पुनर्निर्माण र पुनर्स्थापनामा पनि हातेमालो गर्नुपर्ने जिम्मेवारी आइलागेको बताउनु भयो।

समग्र राहत संकलन कार्यक्रमका साथ, संस्थाले दुई हप्तासम्म बाढी पीडित राहत, खोजी, पुनर्स्थापना र पुनर्निर्माण बाहेकका कुनै पनि कार्यक्रममा सामेल नहुने संस्थाको विवेकशील निर्णय समेतमा पूर्ण साथ दिनुभएकोमा सम्पूर्ण संस्था परिवारलाई धन्यवाद दिनुभयो।
महासचिव राजेश मणि लामिछानेले बाढीका भिडियोहरु हेर्दै जाँदा विपत्तिको प्रकोप, भूकम्पभन्दा बाढी भयावह देखिएको भन्दै भूकम्पमा एकाध परिवारका सदस्य हताहत भएपनि अन्य केही बाँचेका, भूकम्पले घरै भत्काए पनि कटेरो, बाँचेको घरभित्रको सम्पत्ति र अन्नपात बाँचेको, घर गोठ बगेकाको खेतबारी बाँकी बाँचेको, ज्यान जोगाउन नसकेका भए पनि बस्तुभाउ, अन्नबाली, खेतबारीले जीवन पुनः चलेको प्रसंग उठाउँदै यस पटकको बाढीले जीवन, परिवार, धनसम्पत्ति, घरगोठ, खेतबारी, छिमेक, समाज, टोल, गाउँ, बजार, भौतिक पूर्वाधार बाँकी केही नराखेको वाथि बताउँदै कठिन समयमा एक हुन सम्पूर्ण सदस्य महानुभावहरुमा आग्रह गर्नुभयो।
राजनीतिक द्वन्द्वका कारण पटक-पटक भोगेको देशले कहिले भूकम्प त कहिले बाढी, दोहोरिएर पुनः प्राकृतिक प्रकोपको चपेटामा परेकोले अहिले उद्धार, खोजी, पुनर्स्थापना र पुनर्निर्माणमा देश बाहिरको समेत नेपालको अहम् भूमिका रहने बताउनु भयो।
कार्यक्रममा एनआरएनए यूकेका सचिव डिएन खराल, संस्थाका कोषाध्यक्ष काशी बन, प्रवक्ता डिआर पराजुली, पूर्व अध्यक्ष प्रविण खराल, सल्लाहकारहरु क्रमशः ठाकुर ज्ञवाली, चतर साहानी, बाबुराम सापकोटा, जयन्ती थापा, प्रमुख सांस्कृतिक संयोजक सीता पौडेल, सांस्कृतिक संयोजक पार्वती भण्डारी, काभ्रे समाज यूकेका अध्यक्ष रामचन्द्र अधिकारी लगायतले उद्धार र राहतमा सबैले सक्दो सहयोग गरौं। पुनर्निर्माण र पुनर्स्थापनामा सबै जुटौं। सबैको जय होस् भन्ने धारणा राख्नुभयो।
कार्यक्रममा संस्थाका कार्यसमितिका पूर्व र वर्तमान पदाधिकारी तथा सदस्यज्यूहरु, संस्थाका संरक्षकज्यूहरु, सल्लाहकारज्यूहरु, संस्थाका साधारण सदस्यज्यूहरु, संस्थालाई स्नेह गर्ने ज्ञातअज्ञात शुभचिन्तक, शुभेच्छुक स्वदेशी तथा विदेशी महानुभावहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संस्थाका महासचिव राजेश मणि लामिछानेले संचालन गर्नुभएको थियो।
धन्यवाद!
– सूचना तथा संचार विभाग
शान्ति नेपाली समाज, बेलायत