वेष्ट ब्रोमिच – बेलायतकै पहिलोपटक आयोजित बर्मिङ्घम तीज मेला २०२६ सोमबार वेष्ट ब्रोमिचमा भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ। शान्ति नेपाली समाज बेलायतको आयोजनामा र एक दर्जनभन्दा बढी नेपाली संघसंस्थाको सहकार्यमा भएको मेलामा बर्मिङ्घम, मिडल्यान्ड, लन्डनलगायत बेलायतभरबाट नेपाली समुदायको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन स्यान्डवेल मेट्रोपोलिटन बरो मेयर मार्गरेट सटन, वेष्ट ब्रोमिच इष्ट सांसद सारा कुम्ज, वाल्सल बरो मेयर एलन फ्लेमिङ, स्थानीय काउन्सिलरहरु, शान्ति नेपाली समाजका अध्यक्ष रामप्रसाद न्यौपाने, कार्यक्रम संयोजक एवम् पूर्व अध्यक्ष कोशलेश्वर ढकाल, संस्थाका संरक्षक तथा पूर्व अध्यक्षहरुले पानसमा दीप प्रज्वलन गरी गरेका थिए।


प्रमुख अतिथि मेयर मार्गरेट सटनले नेपाली समुदायको एकता र सक्रियताको प्रशंसा गर्दै मेलाको सफलताका लागि बधाई दिइन्। वाल्सल बरो मेयर एलन फ्लेमिङले नेपाली समुदायलाई आवश्यक सबै सहयोग गर्न तयार रहेको बताए। सांसद सारा कुम्जले तीजलाई मित्रता, एकता र विविधताको उत्सवका रूपमा लिएको बताउँदै नेपाली समुदायको आर्थिक योगदानको पनि कदर गरिन्।
मेलामा नेपालबाट आएका आधा दर्जनभन्दा बढी राष्ट्रिय कलाकारको प्रस्तुति मुख्य आकर्षण बनेको थियो। चन्द्र शर्मा, विष्णु खत्री, रमेशराज भट्टराई, बबिता बानिया जेरी, जमुना राना, प्रोसेस पाण्डे लगायतका कलाकारले सांगीतिक माहोल तताएका थिए। मोडल सरिष्मा मगरको नृत्य र गायिका तथा प्रस्तोता शोभा त्रिपाठीको गायन-उद्घोषणले कार्यक्रमलाई थप रंगीन बनाएको थियो।
स्थानीय महिलाहरुले मौलिक तीज गीतमा नाचगान प्रस्तुत गरेका थिए भने नौमती बाजा, लाखेनाच र अन्य मौलिक सांस्कृतिक प्रस्तुतिले नेपाली पहिचान झल्काएको थियो। मेलाको अर्को मुख्य आकर्षण यूकेव्यापी भलिबल प्रतियोगिता थियो। बेलायतभरका आठ टोली सहभागी प्रतियोगिताको उपाधि स्याङ्जा समाज यूकेले जित्यो। विजेताले १६० पाउण्ड नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता शान्ति नेपाली समाज बेलायतले १० पाउण्ड नगद, मेडल र प्रमाणपत्र पायो। हरि थापा सर्वोत्कृष्ट खेलाडी र विशाल थापा सर्वोत्कृष्ट स्पाइकर घोषित भए। बालबालिकाका लागि फुटबल, बाउन्सी क्यासल र आइसक्रिम भ्यानको व्यवस्था पनि गरिएको थियो।
मेलास्थलमा नेपाली खाना, गरगहना, पोशाक र विभिन्न सेवा-व्यापारका डेढ दर्जन स्टलहरु राखिएका थिए।
कार्यक्रमका अध्यक्ष रामप्रसाद न्यौपानेले सबै सहयोगी, दाता, स्वयंसेवी, कलाकार, खेलाडी र शुभचिन्तकप्रति कृतज्ञता व्यक्त गर्दै आगामी १७ अगस्ट २०२६ सोमबार बिहान १० बजे The Fox Tavern, Rowley Regis, B65 0PT मा समीक्षा बैठक बोलाइएको जानकारी दिए। बैठकमा कार्यक्रमका राम्रा-नराम्रा पक्षको निर्मम समीक्षा गरी आगामी दिनका लागि मार्गनिर्देशन तयार गरिने उनले बताए।
महासचिव राजेशमणि लामिछानेले बेलायतमा हुने नेपाली कार्यक्रमको मानक बदल्ने उद्देश्यले तीज मेलालाई संस्थाको ‘सिग्नेचर’ कार्यक्रमका रूपमा अगाडि बढाइएको बताए।



























