लन्डन । बेलायतमा बिहीबार सम्पन्न स्थानीय निकाय निर्वाचनमा लन्डनस्थित बरो अफ सटन अन्तर्गत ‘वोरसेस्टर पार्क साउथ वार्ड’ को काउन्सिलर पदमा नेपाली मूलकी लुनी छोचूँ सभरवाल निर्वाचित भएकी छिन्।

लिबरल डेमोक्र्याट पार्टीको तर्फबाट उम्मेदवार बनेकी सभरवाल मे ७ मा सम्पन्न स्थानीय निर्वाचनमा १,३१८ मत प्राप्त गर्दै विजयी भएकी हुन्।

काठमाडौंमा जन्मिएकी सभरवाल लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएकी छिन्। उनले विगतमा रणनीतिक र व्यवसाय विकासको क्षेत्रमा व्यावसायिक अनुभव संगालेकी छिन्। राजनीतिमा आउनुअघि उनले ‘सन् २०१९ मा स्थापित नमस्ते नेपाली समाज यूके’ को कम्युनिटी सेक्रेटरीका रूपमा सामाजिक र सांस्कृतिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन्।

आफ्नो विजयपछि प्रतिक्रिया दिँदै काउन्सिलर सभरवालले मतदाताप्रति आभार व्यक्त गरिन्। उनले वोरसेस्टर पार्कका सम्पूर्ण बासिन्दाको हितमा काम गर्ने र सटनमा थप समावेशी समुदाय निर्माणका लागि आफ्नो सेवा समर्पित गर्ने प्रतिबद्धता जनाइन्।

सभरवालको जितलाई बेलायतमा नेपाली समुदायको प्रतिनिधित्व र राजनीतिक उपस्थितिका रूपमा महत्वपूर्ण उपलब्धि मानिएको छ। उनको विजयमा बधाई ज्ञापन गर्न पुगेका नमस्ते नेपाली समाज अध्यक्ष एवं सटनका बासिन्दा बिमल रोक्काले सभरवालको भूमिकाले स्थानीय प्रशासन र जातीय समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

राजनीति बाहेक सभरवाल व्यक्तिगत ब्लग लेखनमा पनि सक्रिय छिन्। उनको यो सफलताले बेलायतको मूलधारको राजनीतिमा नेपाली मूलका नागरिकहरूको बढ्दो प्रभाव देखिएको छ ।बेलायतमा बिहीबार सम्पन्न निर्वाचनमा करिब डेढ दर्जन नेपाली मूलका उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

