काठमाडौ: फिल्म ‘आ बाट आमा-२’को मुख्य कलाकारमा अभिनेता पल शाह र अभिनेत्री विपना थापा अनुबन्धित भएका छन्।
सोमबार फिल्मका निर्देशक चन्द्र पन्तले दुवै कलाकारलाई अनुबन्धित गरेका हुन्। हलमा चलिरहेको फिल्म ‘आ बाट आमा’मा विपना थापा आमाको भुमिका रहेकी छन् भने पल छोराको।


त्यही कथालाई निरन्तरता र केहि फरकपनसहित निर्माण हुने ‘आ बाट आमा-२’का लागि विपना र पललाई अनुबन्ध गरेको निर्माण पक्षले जानकारी दिएको छ। अघिल्लो फिल्मका अभिनेत्रीद्वय उषा उप्रेती, सिम्रन पन्तबारे केहि खुलाएको छैन।
यसबारे निर्देशक पन्तले विस्तारै खुलाउँदै लैजाने प्रतिक्रिया दिए। ‘अहिले फिल्मकालागि दुई जना कलाकारलाई अनुबन्ध गरेका छौँ। अन्य कुरा बिस्तारै जानकारी दिदै लैजानेछौँ,’ उनले भने।
उनका अनुसार यो फिल्म आउँदो वैशाखबाट छायांकनमा जानेछ। वैशाखमा फिल्मको छायांकन गरेर दशैंमा प्रदर्शनका लागि तयार पार्ने उनको भनाइ छ।
