Sunday , October 22 2017
Breaking News

तेरियालाई चिठी

असार २०, २०७१

‘प्यारी नानी तेरिया,

न्यानो स्नेह !

मलाई चिन्यौ ? क्या त, अस्ति काठमाडांैमा फोटो खिचेको ! फोटो त कतिले खिचे खिचे नि, हैन ! अँ, तिमी एयरपोर्टबाट सोझै राष्ट्रिय सभागृह आएको दिन क्या ! स्टेजमा जानुअघि हामीले सामूहिक तस्बिर लिएका थियौं नि, याद भयो ? थाहा भएन ? ठीक छ, आऊ म तिमीलाई सजिलोसँग सम्झना दिलाउँछु।

त्यहाँ तिम्रो हजुरबा, मम्मी र अन्य आफन्तहरू हुनुहुन्थ्यो। जनजाति महासंघका अध्यक्ष नरेन्द्र अंकलले हाम्रो परिचय गराइदिनुभएको थियो, अब याद आयो ? अलि-अलि रे ! हत्तेरिका, मैले तिमीलाई ठट्टामा सोधेको थिएँ, ‘नेपाली भाषा त बिर्सी नही हो

ना ?’ तिमीलै ठट्टैमा जवाफ दिएकी थियौ, ‘भुली नही हुँ।’ हो…यो त्यही अंकल क्या……!

नानी, त्यो दिन तिम्रो सम्मान हुनुअघि त्यही हलमा हाम्रो अर्कै कार्यक्रम थियो। म, जितु र धुर्मुस अंकलले तिमी आउने कुरा थाहा पायौं। बधाई र शुभकामना दिन हामी भीआईपी कक्षछेउमा तिमीलाई निकै बेर कुर्‍यौ। तर, तिमीलाई पछाडि अर्कै कौठामा राखिएछ। हामीले ग्लानि महसुस गर्‍यौं। नेता र मन्त्रीलाई मात्र भीआईपी मानिने संस्कार छ हाम्रो देशमा। तिमीले पनि नेपालीको नाम उँचो बनाएर आएकी थियौ, तर त्यो दिन कसैले पनि तिमीलाई भीआइपीको दर्जा दिन सकेन, जानेन वा आवस्यक मानेन। वी आर सरी ल नानु !

तेरिया, तिमी सभागृह आइपुग्नुअघि गायक खड्ग गबुर्जासँग रमाइलो कुराकानी भएको थियो।

तिमी यहाँ आउँदै छ्यौ भन्दा सुरुमा त विश्वास नै लागेन, किनभने कुनै चर्चै थिएन। मगर सांस्कृतिक संघले सम्मान गर्न लागेको भनेपछि मैले खड्ग दाइसँग ठट्टा पनि गरेको थिएँ,

‘बाहुन विभागले पनि आजै तेरियाको सम्मान गर्न चाहन्छ।’ जवाफमा खड्ग गर्बुजाले भन्नुभएको थियो, ‘नेपालीकी चेली हुन्, दुवैले संयुक्त रूपमा सम्मान गरौंला नि।’ ठट्टैठट्टामा त्यहाँ खड्ग गर्बुजाले खड्ग गर्बुजेल र मनोज गजुरेलले मनोज मगरेल र गर्बुजेल भन्ने फन्झौता पनि भएको थियो।

खै र, यो त गजुरियल कुरा भयो। आऊ, अब रियल कुरा गरौं। तिमी डीआईडी विजेता भएपछि प्रत्यक्ष भेट्ने पहिलो अवसर मिल्दा हामी अत्यन्त खुसी भयौं। मलाई भने तिम्रो स्टारले भन्दा ज्योतिले तानेको हो। त्यो ज्योति हो, तिम्रो नेपाली पहिचान, भारतीयसँगको भिषण प्रतिस्पर्धा र अन्तर्राष्ट्रिय पहिचान ! त्यसबाहेक सामान्य परिवारकी छोरीको असामान्य सफलता र पद, पैसा र पहुँचबिना कलाको विशालबजारमा नाम र दाम !

तेरिया, यो सुरुवात मात्र हो, तिमी अझै माथि पुग्नु छ। त्यसका लागि तिमीलाई केही मन्त्र दिन चाहन्छु। तिमी संसारको जुनसुकै देशमा गएर कला देखाऊ तर सबैभन्दा माथि आफ्नो देशलाई राख। विद्वान्भन्दा विद्वान् गुरुहरूसँग ज्ञान लेऊ, तर सबैभन्दा ठूलो गुरु ड्याडी र मम्मी हुन् भन्ने नबिर्स। जुन भाषाका गीतमा नाचे पनि फरक पर्दैन, तर आफ्नो मातृभाषालाई सधैं सम्मान गर। जस्तासुकै फ्लेभरका गीतमा नृत्य गर तर त्यसमा कहीं कतै पनि आफ्नो जातीयता, राष्ट्रियता र एकताविरोधी दुर्गन्ध आउन नदेऊ। तिम्रो सम्मान अझ चुलिनेछ।

तेरिया, तिमीले नेपाली समाजको मनोवृत्ति ठीक ढंगले बुझ्नुपर्ने हुन्छ। सुरु-सुरुमा तिम्रो जय गाउनेहरूको भीड लाग्नेछ। धेरैले हाई-हाई गर्नेछन्। अभिनन्दन र सम्मान ओइरिनेछ। विभिन्न नामको नाता जोड्दै नाच्न बोलाउनेहरूको ताँती लाग्नेछ। तर यो समाजले प्रयोग गर्छ र छोडिदिन्छ। ती सबैसँग समभाव राख तर निर्णय बाबा, आमा वा तिम्रो रगत र वर्ग्ासँग जोडिएका आफन्तसँग लिने गर। तिमीलाई यो स्थानसम्म पुग्नका लागि रातोदिन श्रम गर्ने मम्मीको अनुहार नर्बिस। तिम्रो पालन-पोषणका लागि पचास डिग्रीको तातोमा संघर्ष गरिरहेका ड्याडीको पसिनालाई कहिल्यै नभूल।

सरकारबाट धेरै अपेक्षा नगरेकै राम्रो नानी ! यो पार्टी वा त्यो पार्टी भन्ने कुरा छोड, जुनसुकैको सत्ता आए पनि स्रष्टाको संरक्षण र संवर्द्धनमा कोही पनि गम्भीर देखिँदैन। गौतमबुद्ध, सगरमाथा, वीर गोर्खालीको हिङ बाँधेको टालो देखाएर सत्ताको खेल खेल्ने राजनीतिज्ञहरूले तिमीजस्ता ताजा राष्ट्रिय पहिचानलाई चिन्न निकै समय लाग्छ।

त्ोरिया, सम्मान र अभिनन्दनको भीडमा तिमीलाई एउटा अन्यौल हुनसक्छ, म को हुँ भन्ने कुरा। कसैले जनजातिकी छोरी भन्नाल्। कसैले नेपालीकी सान भन्लान्। पश्चिमाञ्चलको गौरव भन्नेहरू आउलान्। डीआइडीकी उत्पादन भन्दै उतै फर्काउनेहरू पनि सक्रिय होलान्। यस्तो बेलामा, जबसम्म तिम्रो कलाको अहित हुँदैन तबसम्म जसले जे भन्छ, हो म त्यही हुँ भनिदेऊ, किनभने तिमी त्यही हौ जो उनीहरू भनिरहेका हुन्छन्।

गर्वले भनिदेऊ, हो म मगरकी छोरी हुँ, किनभने तिमीले मगरजातिको नाम उँचो बनाएकी छ्यौ। शिर उँचो पारेर स्वीकार गर, हो म पश्चिमाञ्चलकी चेली हुँ, किनभने तिमीले लुम्बिनी अञ्चलको छाती चौडा बनाएकी छ्यौ। नडराई भनिदेऊ, हो म भारतको डीआडीमार्फत उदाएकी तारा हुँ किनभने उसैले तिमीलाई यो स्थानसम्म पुर्‍याइदिएको हो।

तर तेरिया, जब तिम्रो नाममा जातीय राजनीति चलखेलको गन्ध आउन थाल्छ, त्यो बेला प्रस्टसँग भनिदेऊ कि म मात्र नाट्यश्वरकी छोरी हुँ, किनभने मेरो कला समग्र मानवजातिका लागि हो। जब तिम्रो नाम लिएर क्षेत्रिय स्वार्थको कुरा आउँछ, त्यो बेला भनिदेऊ, म पूर्व-पश्चिम-उत्तर-दक्षिण सिंगो देशको सन्तान हुँ। जब तिम्रीलाई प्लेटर्फम दिएका आधारमा तिम्रो नाममाथि व्यापार गर्ने प्रयास गर्न खोजिन्छ, तब प्रस्ट विचार, चौडा छाती र उँचो शिर बनाएर भनिदेऊ- म नेपाली माटोमा जन्मिएर सिंगो धर्तीमा नाच्न जन्मिएकी तेरिया मगर हुँ।

किनभने तिमी हाम्री तेरिया हौ, नेपालीकी तेरिया हौ र हामी सबैको तेरिया हौं, मुरीमुरी शुभकामना।

प्रकाशित: असार २०, २०७१

Leave a Reply