Monday , December 11 2017
Breaking News

गठबन्धन या तालमेल कि सत्ता हत्याउने जालझेल ?

-सरगम भट्टराई

प्रेममा जस्तै राजनीतिमा जे पनि जायज बनाईँदो रहेछ। ‘लोक’को कल्याण गर्नु पर्ने राजनीतिले जब केहि ‘लोग’ को मात्र कल्याण गर्ने सपना देख्छ तब यस्ता घटनाहरु घटिरहने रहेछन्। यसै हप्ता नेपाली राजनीतिका धर्ती र आकाश एकैचोटी तरंग त्यतिखेर भए जतिखेर तीन तिर तितर बितर भएका परस्पर बिरोधी शक्तिहरु नाटकीय र अनपेक्षित रुपमा एउटै गठबन्धन र एकीकरणको निर्णय सम्म गरे।

झट्ट हेर्दा यो गठबन्धन आम जनताले सोचेको भन्दा अलग्गै देखियो। चलतित्रको कथामा ट्विष्ट आए जस्तै यति चाँडै एमाले,माओवादी र नयाँ शक्ति जस्ता दलहरु एकै ढिक्का होलान् भनेर दलकै शिर्ष नेताहरुले पनि सोचेका थिएनन् भन्ने कुरा बिभिन्न समाचार टिप्पणीले बताउँछन्।

जे होस्, देश र जनताको हित गर्न भनेर खुलेका राजनैतिक दलहरु एकजुट हुनु त राम्रो कुरा हो तर यो गठजोड़ कति देश र जनताको हितका लागि र कति सत्ता सोपानका लागि गरिएको हो भन्ने कुरा आगामी समय सन्दर्भले नै बताउला। तर नाममा मात्र कम्युनिस्टको बिल्ला भिरेर परस्पर बिरोधी जस्तै देखिएका एमाले,माओवादी र कम्युनिस्टको धंगधंगी नमेटिएको नयाँ शक्ति बिचको गठबन्धन कतिन्जेल टिक्ने हो भन्ने बारेमा स्वयं शिर्ष नेताहरुलाई पनि दुबिधा भईरहेको छ होला।

यति बेलाको बाम एकताले बिशेष गरी कांग्रेसी बृत्तमा ठूलो छटपटाहट भएको छ। हुन पनि नहोस् कसरी ! साँच्चिकै यो एकतामा अन्तर्घात नहुने हो भने बाम शक्तिले दुई तिहाई त हैन स्पष्ट बहुमत ल्याउन सक्ने सम्भावनालाई नकार्न सकिदैन।

बामहरुको एकता देखेर कांग्रेसले पनि आफ्नो तालमेलको प्रयासलाई सार्थक रुप दिन खोजेको छ यद्यपि कांग्रेससंग आउने सम्भावित गठबन्धनहरु बाम गठबन्धन जस्तो बलियो हुने देखिदैन। कांग्रेस पनि त्यस्तो पार्टी हो जहाँ कहिले भ्रष्टाचारीहरु चुनाव लड्न पाउनुपर्छ भन्ने हरु छन् र सबै भन्दा बढि भ्रष्टाचारीहरु त्यतै छन्।

यो एकता के का लागि?

एमाले र माओवादी केन्द्र बिचको तालमेलमा राष्ट्रियता, जनजीविका र शुशासनका क्षेत्रमा कुनै प्रतिवद्दता भएका छैनन्, अझ समृद्द नेपालको सपना देखाएर स्थापना भएको नयाँ शक्ति नेपाल पनि पूरानै परम्परागत पार्टीको आहालमा मिसिन जानुले बैकल्पिक शक्ति भनेर उनले बजाएको बाजाको बिचमा प्वाल परेको छ। जनयुद्दको खुलेर बिरोध पनि नगर्ने र समर्थन पनि नगर्ने बाबुराम भट्टराई लाल सलामको मुठ्ठी कँस्न हतारिएका रहेछन्। दुईटा डुंगामा खुट्टा राखेर बैकल्पिक राजनीतिको यात्रा लक्ष्यमा पुग्न सकिदैनथ्यो, दश बर्ष युद्द लडेर आफ्नै पार्टीमा अट्न नसकी बिद्रोह गरेर नयाँ पार्टी खोल्दैमा बैकल्पिक शक्ति हुदैनथ्यो अर्थात उनले रोजेको लाईन सफल हुन सक्दैनथ्यो, त्यसैले नयाँ शक्तिले आफ्नो समृद्दिको सपना तुहाएर सुरक्षित अवतरण मात्र गरेको कुराले अब उनले बोकेको बैकल्पिक राजनीतिको दाह संस्कार भईसकेको स्पष्ट छ। पूराना पार्टीहरुको राजनीतिलाई सराप्नु सम्म सरापेर तिनै संग घाँटी जोडेर देशको हैन आफू र आफ्ना कार्यकर्ताको भविष्य रोजेर पुन: बाबुरामजी असफल भएका छन्। यसले नयाँ शक्ति बैकल्पिक शक्ति हैन भन्ने कुरा स्पष्ट भएको छ।

सत्य कुरा बोल्ने हो भने नयाँ शक्ति सहितको यो गठबन्धन सत्ता लिप्सा र पूर्वाग्रहयुक्त मात्र छ। जसरी पनि सत्तामा जाने र त्यसैको बलमा लूटतन्त्रलाई बढ़ावा दिदै राज्यसत्ताको दुरुपयोग गर्नु बाहेक अरु खासै राम्रो हुने कुरामा शंका छ। यसै गरी कांग्रेसले बनाउने सम्भावित गठबन्धनमा त अझ बिगतमा सत्ता भनेपछि जुनसुकै हालतमा मरिहत्ते गर्नेहरुको भीड़ हुनेछ।

राजनीतिमा शत्रु मित्र: देखाउने दाँत मात्रै:

गत स्थानीय चुनावमा भरतपुरको घटनामा कांग्रेससंग बुई चढेर रेणु दाहाललाई स्थानीय सत्ताको बैतरणी तार्ने माओवादी र कमल थापा संग मिल्दा उनको दललाई राष्ट्रवादी देख्ने र बाहिर हुँदा राजावादी देख्ने एमाले तथा साना ठूला मधेसी दलहरुले जनताको आँखामा धुलो हाल्दै आफ्नो समीकरणलाई बैधानिक र पवित्र घोषणा गरिरहेकै थिए। बाहिर बाहिर कार्यकर्तालाई मतपत्र च्यात्न लगाउने तर भित्र भित्रै एकीकरणको कशरत गर्ने दलहरुका अहिले सम्मका सबै गतिबिधिहरु जनता केन्द्रित नभई सत्ता केन्द्रित हुन् भनेर जति भने पनि नमानेर तिनै पार्टीहरुको डम्फू बजाउने हामी निरिह मतदाताहरुले राजनीतिको मेनु कहिले फेर्ने होला?

त्यसै गरी नेपाली कांग्रेसको पार्टी पनि २०४७ साल यता निरन्तर सत्तामै छ। पार्टीलाई परिभाषित गर्दा लोकतान्त्रिक शक्ति भन्ने तर लोकको हितमा कहिल्यै काम गर्न नसकेको कांग्रेस र यसले गरेका सत्ता केन्द्रित खेलहरु हेर्दा यिनीहरु कहिल्यै लोकतान्त्रिक हुनै सकेनन्।

गठबन्धनले कसको हातमा लड्डु र कसको हात खाली ?

हालै भएको गठबन्धनले प्रत्यक्ष रुपमा बाम गठबन्धनलाई फाईदा देखिए पनि अप्रत्यक्ष रुपमा अरुलाई नै फाईदा पुग्ने देखिन्छ। पार्टी भित्र झण्डै बराबरको संख्यामा गुट भएका एमाले, माओवादी र नयाँ शक्ति बिच चुनाव सम्म यो तालमेल टिकिहाल्छ भन्ने ग्यारेन्टी छैन, त्यसै गरी यो आलेख लेख्ने बेला सम्म कांग्रेस सहितको सम्भावित गठबन्धन पनि पहिल्यै टेस्टेड निकम्मा गठबन्धन बाहेक केहि होईन। अर्थात गठबन्धन र एकीकरणको नाममा सत्ता हत्याउने जालझेल मात्र भनेर बुझ्दा फरक पर्दैन।

समाचार टिप्पणीमा आए जस्तै कुनै अदृष्य शक्तिको ईशारामा भएका यी गठबन्धन एकीकरण सम्म नै पुगेछ भने पनि बिभिन्न पार्टीमा अहिले देखिए जस्तै निम्नतम चार पाँच गुट हुनेछन्, ती गुटका नेता तथा कार्यकर्तालाई भाग पुर्याउँदा पुर्याउँदै राज्य कोष र नीतिहरुको तीब्र दोहन शुरु हुनेछ। बैचारिक समूहको नाममा फरक फरक धारहरु कृया़शील हुनेछन्,नातावाद, कृपावादले झन् बिकराल अवस्था हुनेछ। बहुमतकै सरकार बने पनि त्यसको बिरुद्द पार्टी भित्रबाटै ढलाउने प्रयास हुने छैनन् भन्ने कुरामा शंका गर्ने प्रशस्त ठाउँ छ जुन ईतिहाँसले देखाईसकेको छ। बिगतमा कैयौँ पटक जुट्ने र फूट्ने त कम्युनिष्टहरुको पर्याय नै बनेको छ।

त्यसै गरी पार्टीमा ब्यापारी, विवादित पूर्व प्रशासक, गुण्डा र डनहरुलाई फूलमाला लगाएर स्वागत गर्दै पार्टीलाई डनमय र धनमय बनाउने पार्टीहरुले देश र जनताको लागि काम गर्छन् कि तिनै डनवाला र धनवालाको पक्षपोषण गर्दैनन् भन्ने आधार केहि छैन।

अब यिनै आँखाले पूर्व प्रहरी प्रशासक नवराज सिलवाल गृहमन्त्री तथा उनको नीजि सचिव या अंगरक्षकमा मोस्ट वान्टेड डन दिपक मनाङे नियुक्त भए पनि आश्चर्य मान्दा धेरैको तारो बन्ने ख़तरा देखिदैछ।

एमाले र माओवादी दुवै पार्टी उनै हुन् जो अर्को दल काँग्रेससित मिलेर आफ्नो फाईदा हुने गरी कानुन मिचेर या बनाएर नीतिगत र काग़ज़ी भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन्।डा. गोबिन्द के.सी.ले पटक पटक गरेको सत्याग्रहलाई नटेरेर रातारात आफ्नो अनुकूल बिधेयक ल्याएर कार्यकर्ता र नेताहरु बचाउने पनि यिनै हुन्, मूलुकमा साम्प्रदायिक हिंसामा तेल थप्ने पनि यिनै हुन्।

त्यसै गरी लाखौँ बिद्यार्थीको भविष्यमा धावा बोलेर असक्षम शिक्षक हावी हुने ऐन ल्याउने र पार्टीका बफादार कार्यकर्ताले चलाएका निजी स्कूल मालामाल गर्ने, नेताको नाम मेडिकल कलेज र विश्वविद्यालय खोलेर ब्यापार गर्न कानुनै बदल्ने वा बनाउने, भागबण्डामा पार्टी कार्यकर्तालाई न्यायाधीश बनाउने र मन नपरेको फैसला गर्ने न्यायाधीशलाई महाभियोग लगाउने, अख्तियारजस्ता संबैधानिक निकायमा दलैपिच्छे भ्रष्टाचारको संरक्षण गर्ने गरी भागवण्डामा नियुक्ति गर्ने र पाईला पाईलामा दण्डहीनता हुल्नेहरुले जनताको हितमा काम गर्लान भनेर सोच्नु र हावामा महल बनाउनु उस्तै हो।

त्यसै गरी यी पार्टी एकीकरण हुने हो भने बिगतमा जनयुद्दको धंगधगी भएको माओवादी र नयाँ शक्ति र एमालेका डन तथा गुण्डाहरुले लोकतन्त्रलाई लूटततन्त्र बनाउँदैनन् भन्ने ग्यारेन्टी केहि छ? यसको ताज़ा प्रमाण यिनीहरुको जीवनशैली हेरे पुग्छ।

यस्तो बेला पूराना शक्तिहरुबाट वाक्क भएका जनताले भरपर्दो बैकल्पिक शक्तिको रुपमा उदाएको विवेकशील साझा पार्टी प्रति झुकाव राख्ने बलियो सम्भावना देखिन्छ। जन्मे देखि नै चुनावको महायज्ञमा होमिएको विवेकशील साझा पार्टीले केहि बर्ष भित्रै टोल टोलमा संगठन विस्तार गर्दै सार्वजनिक संस्था प्रति निगरानी समूह गठन गर्दै रचनात्मक काम गर्दै गएमा अत्यन्त प्रभावकारी हुने देखिन्छ। बिकल्पको प्रचार गरी आम जनताको घर दैलोमा विवेकशील साझा पार्टी पुग्यो भने यसले लोकप्रियता हासिल गर्ने अवसर धेरै हुनेछ।

अन्त्यमा,

राजनीतिले जनताको मन छुनुपर्छ तर त्यहि राजनीतिले हामी नेपाली जनताको मन कुँडिएको छ। चुनावको मुखमा एक भएको बाम गठबन्धनले कथं कदाचित जनताको कुँडिएको मनलाई शितल बनाएछ भने देशले खोजेको त्यहि हो, त्यस बारे कसैले टाउको दुखाउनु ज़रूरी छैन। तर भ्रष्टाचार, बेथिति र क़ानूनी राज्य तथा लोककल्याणकारी राज्यको बारेमा चुँक्क नबोलेर कुर्सी हत्याउने खेल हो कि भनेर आम जनताले शंका गर्ने ठाउँ प्रशस्त छ। त्यसैले यो बाम एकता सत्तामा पुगेर मिलिजुली खाम भन्ने ध्येयबाट भएको हुनाले यस बारे हामी सचेत हुनु ज़रूरी छ।

आउनुहोस्, यिनीहरुको हर्कतको सार्वजनिक निगरानी समूह बनाएर खवर्दारी गरौँ।

प्रकाशित मिति : २०७४ असोज २१,शनिवार 

Leave a Reply

%d bloggers like this: