Wednesday , December 13 2017
Breaking News

सबिता भन्छिन : आफनो आयु घटाएर पुरुषका लागि किन वर्त बस्ने ?

साउन लाग्नासाथ हरियो पहिरन लगाउने देखि हातमा चुरा अनि मेहेन्दी लगाउने प्रचलन बढ्दो छ ।

-सविता सापकोटा

‘साउन लाग्यो केटी हिँड् हरिया चुरा लाउन जाम ।’ आवाज मेरै कानमा ठोक्कियो । किनकी मैले हरियो चुरा र मेहेन्दी लगाउँदिन भन्ने थाहा हुँदाहुँदै जिस्काउँथे साथीहरु । ‘ओहो ! यस्को त मेहेन्दी कति गाढा बसेको, बुढाले धेरै माया गर्ने भयो !’ ‘हा हा हा’ यस्तै कुराहरुमा रमाए मेरा साथीहरु ।

‘खोई तेरो हात !,’ मेरो हात हेर्दै एउटीले भनी, ‘यसलाई त बुढाले माया नै नगर्ने रैछ । खोई तेरो हातमा चुरा ?’ मलाई चुराको आवाज झर्को लाग्छ, मेहेन्दीको रङ्गसँग जलन हुन्छ । बस् यति भनेँ । साउन लाग्नासाथ हरियो पहिरन लगाउने देखि हातमा चुरा अनि मेहेन्दी लगाउने प्रचलन बढ्दो छ ।

पछिल्लो समय फेसनकै रुपमा बढदै गएको यो प्रचलमा केही किंवदन्तीहरु जोडिएका छन् ।प्राचीन किंवदन्ती अनुसार मेहेन्दी, हरियो चुरा र ब्रत बस्दा विवाहित महिलाका श्रीमानको आयु बढ्छ भन्ने मान्यता छ । श्रीमतिको लागि श्रीमानले ब्रत बस्न आवश्यक छ कि छैन् ? विवाहित महिलाले यसरी चुरा मेहेन्दी लगाउँदा उनीहरुको सुन्दरता सामान्य भन्दा बढ्ने गर्छ जसले श्रीमानमा श्रीमतीको आकर्षण कायम राख्छ ।

श्रीमती मात्र श्रीमानको अगाडि राम्री बन्नुपर्ने यो कस्तो मान्यता ! श्रीमतिले ब्रत बस्दा स्वास्थ राम्रो हुनुका साथै श्रीमति प्रति श्रीमानको सम्बन्ध प्रगाढ हुने गर्दछ भन्ने मान्यता पनि जनमानसमा छ । मेहेन्दीले पनि स्वास्थमा फाइदा पुर्याउँछ । मेहेन्दीको शीतलताले तनाव, टाउको दुखाई र ज्वरोबाट राहत प्रदान गर्ने मान्यता रहिआएको छ । हातमा मेहेन्दीले नाम लेख्दैमा कोही आफ्नो हुन्छ र ? मेहेन्दी गाढा बस्दैमा माया प्रेम प्रगाड बस्छ र ?

स्कुल पढ्दा साथीहरुको लहलहैमा म पनि हातमा चुरा र मेहेन्दी लगाउथेँ । केही दिनमा हातै नराम्रो बनाउने गरी मेटिने मेहेन्दी र फुटेर जाने चुराहरुले मेरो हातै रित्याएर गएझैँ लाग्थ्यो । आजकल यस्तो लाग्छ, जीवनमा सम्बन्धहरु पनि मेहेन्दी र चुरा जस्तै हुन् केही दिन रङ्ग दिन आउँछन् तर आफैँलाई रित्याएर जान्छन् ।

पछिल्लो समय फेसनकै रुपमा यो प्रचलन बढिरहेको छ । एउटी नारीले हरियो चुरा र मेहेन्दी लगाएर पुरुषको स्वास्थ्य लाभ हुन्छ भने नारीको स्वस्थ्य लाभका लागि पुरुषले के गर्ने ? वर्षै्पिच्छे ब्रत बसेर हातमा मेहेन्दी र हरियो चुरा लगाउने पल्लो घरकी दिदिका श्रीमानले अर्को श्रीमती लिएर टाप कसे । ब्वाइफ्रेन्डको नाम लेखेर उसकै लागि हातमा मेहेन्दी लगाउने मेरा साथीहरुका ब्वाइफ्रेन्डहरुले ब्रेकअप दिए ।

कुनै समय म पनि उसका लागि मेहेन्दी र चुरा लगाउँथे । उसले त अर्कैसँग बिहे गर्यो । आजकल मलाई यी सब चिज भ्रम लाग्छन् र म केही पनि लगाउँदिन म । “ हो । मलाई चुराको आवाज सुनेर झर्को लाग्छ । मेहेन्दीको रङ्ग देखेरै जलन हुन्छ । अचेल बजारमा चलेका अनेक रङ्ग छानी छानी लगाउने चलन जो छ, थरीथरीका चुरा किनेर लगाउने चलन जो छ, ति सबै फिका लाग्छन् ।

साउने सक्रान्ति एक संस्कृति हो भन्नेमा सन्देह छैन । तर यस्ता चाडसँगै झुन्डिएर आउँछ बजार । जसले आम मानिसका रुची आफैँ सृजना गर्छ र भब्य ब्यापार बढाउँछ । हामी तिनै बजारीया वस्तुको रामरमितामा मक्ख पर्छौँ र सृजनशिल कामबाट बन्चित बनेको पत्तो हुँदैन । यस्ता मननयोग्य तर्क धेरै महिलावादीहरुको छ ।

मेरो सन्दर्भ फरक छ । मैले यसलाई सैद्धान्तिक तहबाट हेरिन । जतिबेला म सोच्थेँ, यी रङ्गहरुले जीवनमा खुसी र समृद्धि थप्नेछन् । अनेकथरी झिलिमिली चुरा र रंगिबिरंगी मेहेन्दीले प्रेमिल जीवनमा पक्कै नयाँ उर्जा दिएलान् भन्ने लाग्थ्यो । तर मेरो सोझो अनुभवको कुनै पनि कोणबाट त्यस्तो देखिएन । मैले सैद्धान्तिक तहबाट बहस नछेडे पनि यस्ता कुराहरुप्रति कुनै विश्वास रहेन ।

‘ आफैँले असाध्यै प्रेम गर्ने मान्छेले त जीवनलाई रङ्गिन बनाउन सकेन, दुई दिनमै उँडिजाने बजारीया रङ्गहरुले कसको जीवन रङ्गिन बनाउन सक्ला र ! लाग्छ की, हामी मान्छे र तिनका व्यवहारमा विश्वास गर्न छोड्छौँ । तिनका व्यवहारलाई बुझ्न सक्दैनौँ तर मान्छेले बनाएका चुरा र रङ्गहरुमा विश्वास गर्छौँ । यो आफैँमा एक भयंकर अन्योलता हैन र ? सोध्नुछ, थुप्रै युवतिहरुलाई जो आफ्नो प्रेमीलाई खुसी बनाउन चुरा छान्दैछन्, रातभर जाग्राम बसेरै हात रंग्याउँदैछन् । तिनका प्रेमीहरु पनि तिनिहरुप्रति प्रतिबद्ध छन् त ?

मैले थुप्रै साथीहरु देखेको छु, जो हरेक साउने सक्रान्तिमा प्रेमीलाई खुसी पार्न हात रंग्याउँछन्, चुरा लगाउँछन् । तर अर्को साउन लाग्नुअघि नै तिनिहरु प्रेमीले धोका दिएको काहानी सुनाएर रुन्छन् । यस्तो सुन्दा मलाई तिनिहरुप्रति माया लाग्दैन, बरु दया लाग्छ ।

‘ हरितालिका तीज, कृष्णाष्टमी, औंशी, साउने सक्रान्ति । यस्ता थुप्रै चाडले संस्कृति मात्रै बोक्दैनन् । युवतिहरुलाई सृजनशिल हुने बाटो पनि रोक्छन् । कहिलेकाहीँ त सोच्छु, महिलाहरु लोग्नेलाई खुसी पार्नकै लागि जन्मिएका हुन् त ? आफ्नो आयु घटेको पत्तो छैन, लोग्नेलाई खुसी पार्न उद्यत महिलाहरु देख्दा उदेक लाग्छ ।

सोम, साउन १६, २०७४ मा प्रकाशित

Leave a Reply

%d bloggers like this: