Thursday , October 19 2017
Breaking News

राणा र राजाका बन्दुकहरूले मार्न नसकेको कांग्रेस पार्टी तपाईका उखान–टुक्काले कसरी मर्ला ?

कांग्रेस मरिहाल्ने पार्टी होइन । यो केपी ओलीको होइन, बीपी कोइरालाको पार्टी हो

जेष्ठ १८, २०७४- आदरणीय केपी ओलीजी,
स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि नेपाली कांग्रेसप्रति तपाईका पछिल्ला अभिव्यक्तिले यो खुलापत्र लेख्न प्रेरित गर्‍यो । ‘कांग्रेस जस्तो पार्टीले यत्रो मत कसरी ल्यायो ?’ र ‘कांग्रेस जस्तो पार्टी कसरी एमालेको प्रतिस्पर्धामा आउन सक्यो ?’ जस्ता तपाईको कटाक्ष तपाईको सुनियोजित प्रचार युद्धका हिस्सा हुन् भन्ने प्रस्ट छ । निर्वाचनमा राजनीतिक अभियान चलाइन्छन् र प्रचार–युद्ध पनि हुन्छ । तर तपाई त्यो अभियान कांग्रेसविरुद्ध लगभग युद्धकै रूपमा अत्यन्त अशिष्ट, अभद्र रूपमा चलाइरहनुभएको छ । लोकतन्त्र संस्थागत गर्नुपर्ने आजको परिवेशमा कांग्रेस र एमाले एक हिसाबले सहयात्री हुन् । तर तपाई शत्रु सावित गर्न खोजिरहनुभएको छ । रचनात्मक प्रतिस्पर्धालाई तपाई युद्घ बनाउन खोजिरहनुभएको छ । जित–हारको लोकतान्त्रिक प्रक्रियालाई तपाई घृणाको खेल बनाउन प्रयत्नशील हुनुहुन्छ । यसले कसलाई के फाइदा हुन्छ ?

ओलीजी, जुन चुनावी ‘जित’को तपाईले प्रचार–युद्घ चलाइरहनुभएको छ र जुन कांग्रेसको ‘हार’को तपाई उत्सव मनाइरहनुभएको छ, त्यसका लागि पनि तपाई कांग्रेसकै ऋणी हुनुहुन्छ । सम्झनोस् त, प्रधानमन्त्रीका रूपमा यो चुनाव तपाईको कार्यसूचीमै थिएन । संविधान जारी भएपछि कार्यान्वयनमा लाने पहिलो मौका तपाईले नै पाउनुभएको थियो । तर तपाईले नेतृत्व गरेको सरकार आफैं राष्ट्रिय एकता र सद्भावको बाधक प्रमाणित भइसकेको थियो । राष्ट्रका समस्या सल्टाउन तपाईको सरकारसँग न नीति थियो, न त दृष्टिकोण, न इच्छाशक्ति । प्रधानमन्त्रीको प्रथम दायित्व राष्ट्रिय एकताको सुदृढीकरण हो । तर तपाई प्रधानमन्त्रीकै कुर्सीमा बसेर साम्प्रदायिक ध्रुवीकरणका सबैभन्दा ठूला प्रतीक बन्नुभएको थियो ।

मधेसको तरंगित मनोविज्ञानमा तपाईका अपमानजनक अभिव्यक्तिले आगोमा घिउ थपिरहेका थिए । धारिला वचनले एउटा समुदायको निरन्तर अपमान गर्नु नै तपाईको कार्यसूची थियो । प्रधानमन्त्री आफंै अविश्वासको प्रतीक भएपछि विश्वासको वातावरण कसरी बन्थ्यो र चुनाव हुन्थ्यो ? माओवादी केन्द्रसँग गठबन्धन गरेर कांग्रेसले यो सरकार गठन नगरेको भए चुनाव नै हुने थिएन । पहिलो पार्टीले तेस्रो पार्टीलाई सरकारको नेतृत्व दिएर भए पनि चुनावको वातावरण बनायो । के यो कांग्रेसको कमजोरी हो ?

अब एकपटक स्थानीय तहकै परिणाममा जाऔं । के यो परिणाममा एमाले दिग्विजयी र कांग्रेस पत्तासाफ भएको हो ? हो, कांग्रेस र एमालेबीच करिब २५ सिटको अन्तर छ । तर यो २५ सिटका पछाडि एमालेको उभार होइन, जताततै र जोसुकैसँग एमालेको तालमेलको नीतिले काम गरेको छ । यो निर्वाचनमा एमालेले तालमेल नगरेको कुनै पार्टी छैन । नेमकिपादेखि नयाँ शक्तिसम्म, राप्रपादेखि माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चासम्म हरेक पार्टीसँग एमालेले तालमेलको नीति लियो । सल्यान जिल्लाका दुई पालिकामा त एमालेले कांग्रेससँगै पनि चुनावी तालमेल गर्‍यो । यसरी विभिन्न पार्टीसँग एमालेले तालमेल गरेका स्थानीय तह ५० भन्दा बढी थिए । अहिलेको परिणामले भन्छ, कांग्रेसले पनि यत्ति नै संख्यामा तालमेल गरेको भए पहिलो चरणको निर्वाचनमै कांग्रेस पहिलो पार्टी हुने निश्चित थियो । त्यसैले यो चुनावमा कांग्रेस जनमतमा होइन, चुनावी रणनीतिमा पछि परेको हो ।

चार महानगरपालिकाकै हकमा पनि भरतपुरमा तालमेल नभएको भए कांग्रेस र एमालेले आधा–आधा ठाउँमा विजय हासिल गर्ने परिणामले देखायो । काठमाडौंमा एमालेले मेयर जित्दा कांग्रेसले उपमेयर जित्यो । त्यसैले सहरहरू पुरै एमालेमय भएको प्रचार सही होइन । निश्चय नै सहरी मध्यम वर्गले यसपटक कांग्रेससँग चित्त दु:खाएको देखियो । आईजीपी, राजदूत प्रकरणदेखि प्रधानन्यायाधीशमाथि महाअभियोगसम्मका घटनाक्रमले कांग्रेसको परम्परागत मतदातालाई उत्तेजित नबनाएको भए राजधानीको परिणाम अर्कै हुने थियो । लोकतन्त्रवादी मत साझा र विवेकशील पार्टीमा विभाजित नभएको भए काठमाडांै महानगरपालिका कांग्रेसको हातबाट जाने थिएन । राजधानीमा एमालेको लहरले होइन, लोकतन्त्रवादीको मत विभाजनले नै यो परिणाम आएको हो ।

ओलीजी, तपाई सुरुदेखि नै नेपाली समाजलाई घृणा र ध्रुवीकरणतिर लगेर चुनावी परिणाम हासिल गर्न चाहनुहुन्थ्यो । मधेस विरोधी उत्तेजक अभियान चलाएर पहाडमा एकलौटी विजय प्राप्त गर्ने तपाईको योजना थियो । मधेस आन्दोलनका मृतकहरू तपाईका लागि झरेका आँप थिए । मधेसको समथर भूमि र विहारको समथर भूमि तपाईका लागि एउटै थिए । तर कांग्रेस त्यसो गर्न सक्दैनथ्यो । जन्मदेखि नै हिमाल, पहाड र तराई जोड्ने राजनीति गरिरहेको कांग्रेसले पहाडी जनताको मत तान्न मधेसको अपमान र मधेसी जनताको मत तान्न पहाडी जनताको अपमान गर्न सक्दैनथ्यो । बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक नेपाली समाजलाई जोड्न खोज्नु कांग्रेसको कमजोरी होइन, जिम्मेवारी हो । ओलीजी, तपाईले जुन तहको ध्रुवीकरणका लागि अथक प्रयत्न गर्नुभयो र जुन तहको घृणाको राजनीति फैलाउनुभयो, परिणाम त्यस्तो पनि आएन । तपाईले देशमा जुन तहको विभाजन खोज्नुभएको थियो, त्यसमा तपाई असफल हुनुभयो । पहाडको निर्वाचन सकिएपछि अहिले फेरि मधेससँग सहमतिका कुरा गर्न थाल्नुभएको छ, यो चुनावी रणनीति मात्र हो ।

ओलीजी, ‘अझै कहाँ छ, कांग्रेस ?’ भन्ने प्रश्न पनि हास्यास्पद छ । ३० वर्ष लामो पञ्चायतीकालमा कुनै एकदिन पनि विचलित नभई लोकतन्त्रको धुनी जगाएका घरहरू यो देशको हरेक टोलमा छन् । आज केपी ओलीले उपभोग गरेको लोकतन्त्र त्यही धुनीले ल्याएको हो । २००७ सालको जनक्रान्ति, पञ्चायत विरुद्घ ३० वर्ष लामो अथक प्रतिरोध र ०४६ सालको जनआन्दोलन अनि ०६२/६३ सालको अन्तिम आन्दोलनमा नेतृत्व कांग्रेसको थियो, ओलीजीहरू केवल सहयोगी भूमिकामा हुनुहुन्थ्यो । राणाहरूले निमोठ्न नसकेको उल्टै राणाशाही नै पल्टाइदिएको, राजाहरूले हराउन नसकेको उल्टै राजतन्त्रनै ढालिदिएको नेपाली कांग्रेसका लागि केपी ओलीको प्रमाणपत्र जरुरी छैन । २०३६ सालको जनमत संग्रहमा यही लोकतन्त्रलाई बुर्जुवा बहुदल घोषणा गरेर पञ्चायतलाई सघाएका तपाईहरू, अझ तपाई त बयलगाडा चढेर अमेरिका पुगिँदैन भन्दै गणतन्त्र ल्याउन असम्भव देख्नुहुन्थ्यो, आज नेपाली कांग्रेसकै त्यागको कारण लोकतन्त्रको उपयोग गरिरहनुभएको छ । हामी त्यसमा रिस गर्दैनौं, बरु गौरव गर्छौं । ओलीजी, के यो कांग्रेस कमजोर भएको लक्षण हो ? यो स्थानीय तहको निर्वाचन के तपाईहरूको लेनिनवादको विजय हो ?

एमालेमा पछिल्ला समयमा एकलौटी वर्चस्वले ओलीको मनोबल बढाउनु स्वाभाविक हो । हावादारी सपनाले केही बेर जनतालाई अलमल्याउनु पनि अस्वाभाविक होइन । तर देश उखान–टुक्काले अघि बढ्दैन । नेपाली राजनीतिमा ओलीले असहिष्णुता र गालीगलौजको नयाँ अध्याय सुरु गर्नुभएको छ । लोकतन्त्र संस्थागत गर्न राजनीतिक दलहरूबीच आपसी विश्वास र सहकार्य बढाउनुपर्ने बेला उत्तेजना र धु्रवीकरण रोज्नुभएको छ । संविधानको भावना सहमतिका आधारमा बढ्नुपर्ने देखिन्छ । तर तपाई दूरी बढाउन कम्मर कसेर लाग्नुभएको छ । उहाँका लागि देशभन्दा ठूलो चुनावी परिणाम भएको छ । तर कांग्रेस त्यसो गर्न गर्न सक्दैन । के यो कांग्रेसको लाचारी हो ?

ओलीजी, चुनावको मुखैमा तपाईले मदन भण्डारीसम्मको प्रयोग गर्नुभयो । यी लोकप्रिय राजनेताको रहस्यमय मृत्यु सम्बन्धमा छानबिन पक्कै हुनुपर्छ । तर झन्डै २५ वर्षपछि यस्तो प्रयोगको के तुक छ ? तपाई ०५१ सालको अल्पमत सरकारमै गृहमन्त्री हुनुहुन्थ्यो, त्यतिखेर के गर्नुभयो ? तपाईकै पार्टीका माधव नेपाल र झलनाथ खनाल प्रधानमन्त्री भए र तपाई आफैले नौ महिना सरकार चलाउनुभयो । त्यो बेला छानबिनका लागि कुन शक्तिले कहाँ रोक्यो ? राजनीतिक फाइदाका लागि जति पनि गिर्न तयार हुने यो संस्कृतिले देशलाई कहाँ पुर्‍याउँछ ?

ओलीजी, तपाईलाई नेपाली कांग्रेस कसरी प्रतिस्पर्धी भयो ? भन्ने आश्चर्य लागेछ । तर कांग्रेस कहिल्यै तपाईसँग प्रतिस्पर्धा गरिरहेको छैन, बरु तपाईको पार्टी कांग्रेससँग प्रतिस्पर्धाको प्रयासमा छ । गणेशमान सिंह स्वयम्ले विद्रोहको झण्डा उठाएपछि ०५१ सालको मध्यावधि निर्वाचनमा बाहेक कुनै संसदीय चुनावमा एमालेले कांग्रेसलाई उछिनेको छैन । तथ्यभन्दा परको कल्पनाले केही समय आत्मसन्तोष त मिल्छ, तर त्यस्तो आत्मसन्तोष क्षणिक हुन्छ ।

निश्चय नै कांग्रेसले आत्मसमीक्षा गर्नुपर्ने थुप्रै विषय छन् । कांग्रेस केवल पार्टी होइन, आन्दोलन हो । यो आन्दोलनसँग लोकतन्त्रका मूल्य र मान्यता गाँसिएका छन् । आईजीपीदेखि महाअभियोग प्रकरणसम्म पुग्दा कांग्रेसले देखाएको विचलनले सहरी मध्यम वर्गलाई विचलित तुल्यायो । कठिन परिस्थितिमा पनि लोकतन्त्रका निम्ति लडेको पार्टी निर्वाचनमा विजय संख्या वृद्विका लागि तालमेल गर्न पुग्यो । त्यसमा पनि समर्थकहरूले चित बुझाएनन् । उम्मेदवार चयनका सन्दर्भमा पनि त्रुटि भएको हुनसक्छ, हामीले समीक्षा गर्न आवश्यक छ ।

ओलीजी, तपाईलाई कांग्रेसको मरणको कथा लेख्न धेरै हतारो भए जस्तो लाग्छ । तर कांग्रेस मरिहाल्ने पार्टी होइन । यो केपी ओलीको होइन, बीपी कोइरालाको पार्टी हो । यो देशमा लोकतन्त्रको दशकौं लामो संघर्षमा हरेक गाउँमा कांग्रेस कार्यकर्ताको रगत पोखिएको छ । कांग्रेस केवल पार्टी होइन, अथक अभियान र आन्दोलन हो । राणा र राजाका बन्दुकहरूले मार्न नसकेको यो पार्टी तपाईका उखान–टुक्काले कसरी मर्ला ? तपाईले नेपाली राजनीतिमा जुन भाषा, जुन शैली र जुन अपमानको संस्कार विकास गर्न खोज्दै हुनुहुन्छ, त्यो विषवृक्ष भएर भोलि तपाईकै पार्टीमा फैलिनेछ ।(नेपाली काँग्रेसका युवा नेता तथा केन्द्रिय सदस्य प्रदिप पौडेलले एमाले अध्क्षय केपी ओलीलाई लेख्नुभएको खुल्लापत्र कान्तिपुरबाट लिईएको हो )

प्रकाशित मिति : जेठ १८ बिहिबार-२०७४

Leave a Reply