Sunday , August 20 2017
Breaking News

साउदिबाट श्रीमानले राति निदाएको बेला फोन गर्दा ‘राती फोन नगर्नु’ भनेको थिए, त्यसपछि उहाले १६ महिना भयो फोन गर्नु भएको छैन ! मेरो फोन पनि उठाउनु हुन्न !

– सन्जिता देवकोटा

काठमाडौं, असार २४ – ‘उ बाबा आयो, मेरो बाबा’ बाटोमा झोला बोकेर हिँड्ने लोग्ने मान्छे देख्ना साथ पछिपछि कुदिहाल्छिन नवलपारासीका ज्ञानबहादुरकी कान्छी छोरी । ज्ञानबहादुर साउदी जाँदा गर्भमै भएकी कान्छी छोरी चार वर्षकी भई सकिन । बुवाको अनुहार नदेखेकी उनले फोनमा बुवासँग बोल्न थालेपछि बुवा आज आउनुहुन्छ भन्दै बाटोमा मान्छे देख्ना साथ बुवा भन्दै पछि नलागेको दिन छैन् ।

जो देखेपनि बाबा भन्दै पछि लाग्ने नातिनीलाई फकाउन गाह्रो भएको छ ज्ञानबहादुरकी आमा निरमाया दराइलाई । ‘त्यो तिम्रो बाबा होइन, तिम्रो बाबा त भोलि आउँछ,’ निरमायाले यसो भन्दा उनी डाको छाडेर रुन्छिन् तर पत्याउदिनन् । रुँदारुँदै निदाउँछिन् । बिहान भएपछि फेरि त्यस्तै गर्न थाल्छिन् ।

निरमायाले नातिनीलाई ‘तिम्रो बुवा भोलि आउँछ’ भन्दै कुराएको दुई वर्ष हुन लाग्यो । नातिनीलाई दिनैपिच्छे दिने झुठो आश्वासनले निरमायाको आफ्नै मन भने कुँडिरहन्छ ।

१६ महिना अघि सम्म त ज्ञानबहादुरले साउदीबाट दिन कै फोन गर्थे । फोन आउन साथ कान्छी छोरी सँधै बोल्थिन् । ‘बाबा मलाई पापा’ भनेर फोनमा बोल्ने बानी परेकी नातिनी हिजोआज पनि मोबाइल पाउना साथ कानमा लगाएर बाबालाई आफ्ना कुरा भन्छिन् । तर उनका कुरा सुन्न फोनमा बाबा हुँदैनन् ।

‘उसको बाउले फोनमा बोल्दा नाना र पापा ल्याउँछु है बाबाले भन्थ्यो । छोरीले त्यहि सम्झेर हैरान छ ।’ निरमायाले नातिनीका क्रियाकलाप सुनाउनुभयो । ‘उसले त छोरी भुल्यो जस्तो छ, छोरीले सम्झाएर सबैलाई रुवाउँछे,’ निरमायाले चित्त दुखाउनुभयो ।

२०७० सालमा साउदी गएका ज्ञानबहादुरले २०७२ सालकाे माघदेखि घरमा फोन गर्नुभएको छैन् । निरमायासँग अन्तिम पटक फोनमा कुरा गर्दा ज्ञानबहादुरले दशैंमा आउँछु भनेका थिए । दशैमा आउँछु भनेको छोरो सम्पर्क विहिन भएपछि निरमाया आत्तिनु भएको छ । छोरीहरुसँग नबोली नसक्ने छोरो कसरी परिवर्तन भयो निरमायाले सोच्न सक्नुभएको छैन् ।

उहाँको मन झस्किन्छ । ‘कतै छोरालाई केहि त भएन ?’ ‘एक मनले सोच्छ बुहारीलाई पो सताएको हो कि ।’ निरमायाले आशाका साथ भन्नुभयो ।

आमालाई मात्र हैन श्रीमती शान्ति दराईलाई पनि श्रीमान् रिसाएर घरमा फोन नगरेको हो कि जस्तो लाग्छ । ‘उनले म निदाएको बेला राति फोन गरेका थिए त्यसैले मैले राति फोन नगर्नु भनेको थें, शान्तिले श्रीमान्सँग भएको कुराकानी सुनाउनुभयो ।

शान्तिले राती फोन नगर्नु भन्दा ‘अब कहिल्यै गर्दिन भनेर’ ज्ञानबहादुर रिसाएका पनि थिए । निरमायाले पनि निद्राको सुरमा उठेको रिसै रिसमा ‘म पनि गर्दिन’ भनेर जवाफ दिनुभएको थियो । शान्तिले बिहान उठ्ने बित्तिकै ज्ञानबहादुरको नम्बरमा फोन लागउनुभयो तर उठेन ।

त्यसको केही समयपछि फोन उठेपनि अरबी बोल्ने मान्छेले फोन उठायो । ज्ञाबहादुरका जेठा दाइ साउदी मै बसेर फर्किएकाले अरबीमै उसँग भाइको बारेमा सोध्नुभयो । तर उसले ज्ञानबहादुरलाई चिन्दिन भन्ने जवाफ दिए । शान्ति र निरमायाले ज्ञानबहादुरको नम्बरमा धेरै पटक फोन लगाउनु भयो । तर अहिलेसम्म फोन लागेको छैन् ।

निद्राको बेला बोलेको दुई शब्दले श्रीमान् यसरी रिसाउलान भनेर शान्तिले सोच्नुभएको थिएन । फेरि ज्ञानबहादुरले शान्तिलाई ठूलो बचनमा कहिल्यै गाली गरेका पनि थिएनन् । आफूले जिस्केर भनेको कुरामा श्रीमान् किन त्यति सारो रिसाए शान्तिले बुझ्नुभएको छैन् ।

त्यसैले शान्तिलाई यी सबैकुरा सपना झैं लाग्छ । झन छोरीले बुवा आज आउँछन् भनेर दिनकै गर्ने क्रियाकलापले शान्तिलाई श्रीमान् साँच्चै आएनन् भने आफू र छोरीहरुको चित्त कसरी बुझाउने होला भन्ने कुरा सताइरहन्छ ।

कान्छी छोरीले मात्रै होइन ज्ञाबहादुरकी जेठी छोरी पनि बुवा आज आउँछन भन्दै बहिनीकै कुरामा सही थप्छिन् । शान्तिलाई आफ्नो एक बचनले छोरीहरुले बुवाको मुख हेर्न धोको नै नपुग्ने हो की भन्ने लाग्न थालेको छ ।
एकपटक मात्र फोन गरेपनि माफि माग्थें

आफ्नै कुराले श्रीमान रिसाएकी भन्ने निष्कर्षमा पुगेकी शान्ति श्रीमानको एक कलको प्रतिक्षामा छिन् । ‘एकपटक मात्र फोन गरेपनि माफी माग्थें , मैले त जिस्केर भनेको साच्चै सोचेको होर भनेर सम्झाउँथें’ शान्तिले पश्चतापको भावमा भन्नुभयो, ‘मसँग रिसाको भएनी छोरीहरुको लागि दशैंमा आउनु है ।’

पहिले पहिले दुईचार दिनमा फोन गरिहाल्छन नी भन्ने लागेपनि शान्तिलाई यति लामो समयसम्म फोन नगर्दा श्रीमान् कतै समस्यामा पो परेकी भन्ने लाग्न थालेको छ ।

ज्ञानबहादुरकी आमा निरमाया पनि छोराको सन्चो बिसन्चो पनि सुन्न नपाउँदा अत्तिनु भएको छ । उहाँ छोरा खोजिदिन विभिन्न ठाउँमा धाइरहनुभएको । नवलपरासीको सूचना केन्द्रामा उहाँले निवेदन दिनुभएको छ ।

सुचना केन्द्रले ज्ञानबहादुरको खोजीका लागि काठमाडौंको अनामनगरमा रहेको प्रवासी नेपाली समन्वय समिती (पिएनसिसी) मा पठाएको थियो । पिएनसिसीले उनको खोजी गरेपनि अहिलेसम्म कुनै जानकारी पत्ता नलागेको समितीकी कार्यक्रम अधिकृत शान्ति सिंहले बताउनुभयो । ‘बुहारीकै कुराले रिसाएको भए छोरीहरुका लागि भएनी घर आउ बाबु,’ निरमायाले छोरालाई घर फर्कन अनुरोध गर्नुभयो । – उज्यालोअनलाइनबाट

Leave a Reply