Sunday , October 22 2017
Breaking News

एक साँझ, त्यो पल : तिम्रो बिर्सनै नसकिने मुस्कान

महिमाश्री

तिम्रो सुन्दरता, तिम्रो बिर्सनै नसकिने मुस्कान, तिमीलाई एक नजर देखे मनै शीतल हुने, चञ्चल हुने, तिम्रो आँखाको गहिरो सागरमा डुबूँ–डुबूँ लाग्ने, तिम्रो केशको मीठो सुगन्ध, केशमा सिउरिएको रुमालजस्तो चिम्टी, तिम्रो पहिरन अनि त्यसको रंग, तिम्रो बोली, बोलीका एक–एक शब्दहरू अझै मनमा ताजै छन् ।

साँझ कलिलै थियो । म हतारमा थिएँ, उसको निम्तो जो स्वीकार गर्नु थियो । म गएँ, जाउलाखेल बेकरीअघि, पर्खाइमा स्वागत गर्न हार्दिकताका आँखाहरू आतुर थिए । मैले ढिलो गरेकोमा सरी भनें ।
सायद जाउलाखेल वरिपरिको कुनै भिआइपी रेस्टुराँ थियो त्यो । त्यहँँका ग्राहकको आगन्तुक लाइनमा त्यो एरियाका भिआइपीजस्ता लाग्ने नेपाली तथा विदेशीहरूको बाक्लै उपस्थिति देखिन्थ्यो । रेस्टुराँभित्र बत्तीको चकाचौंध थियो भने बाहिर मन्द प्रकाश । त्यहाँको सजावटमा विदेशी गन्ध बढी थियो । उसले मन्द प्रकाशमै बस्न रुचायो, मैले स्वीकार गरी टाउको हल्लाएँ । एक–एक कप मह र कागती पानीबाट हाम्रो भेटको शुभमुहूर्त भयो र त्यसपछिका महँगा स्न्याक्स सायद बहाना मात्र थिए भेटका लागि । अब त साँझ अलि छिप्पिन लाग्दै थियो । स्न्याक्सको अर्डरपछि उसले बल्ल मुख खोल्यो–महिमा, तिमी आयौ, म आज अत्यन्तै खुसी छु, नचिताएको भेट आज सोह्र वर्षपछि, म कत्ति खुसी छु, तिमी आजसम्म पनि उस्तै छौ, मात्रै उमेरको कतै रेखासम्म मात्र । आज यसरी फेरि तिमीसँग भेट होला जीवनमा, सोचेको पनि थिइन बाँचियो भने भेट त हुने नै रहेछ ।’ मैले मनमनै भनें जीवनको ठूलो जित नै बाँच्नु हो । मैले धैर्य साँध्नु थियो आज । उसको सोह्र वर्षअघिको मायालु नजर आज पनि उस्तै थियो । त्यही चिरपरिचित नजरले एकपल्ट मेरो आँखामा पुलुक्क चियायो अनि पुन: सोह्र वर्षसम्म सम्हालिराखेका गुनासाका थैली विस्तारै खोल्न थाल्यो ।

‘उमेरले चालीस काटे पनि मन त उस्तै हुँदोरहेछ । जीवनको यति ठूलो उतारचढाव र आरोह–अवरोहमा मैले धेरै पाएँ । आज म सम्पन्नताको परिधिभित्र छु । मैले हरघडी हरक्षेत्रमा जितेको छु, विराजेबाट आज डा. विराज भएँ । सोह्र वर्षअघि साझा बसको कीर्तिपुर रुटमा ठेलमठेल गर्दै फल्र्याङ–फल्र्याङ हिँड्थें, आज लाखौंको गाडी चढेर हिँड्छु । सम्पन्न सहर काठमाडौंमा उतिबेला दशकौं पल्ट डेरा सरे हुँला आज विशाल घर छ, आफ्नै व्यवसाय छ, कत्ति जुत्ता फटाएँ हुँला जागिरका लागि आज उच्चस्तरको जागिर र रहनसहन छ, सर्वगुण सम्पन्न श्रीमती एवं सन्तानले युक्त परिवार छ । सफलताको खातैखात छ । मसँग आज नाम छ, दाम छ, सबथोक छ तर पनि म बिल्कुल विपन्न छु, अपूर्ण छु, केही गुमाएको महसुस गर्छु, अलिनो, एक्लो र अधूरो । महिमा, मेरो त्यो अधूरोपन तिमी नै हौ । बस् तिमी ।’ उसले एकै सासमा भन्यो, म सुन्दै गएँ ।

ऊ फेरि भन्दै गयो–‘त्यो पल मैले भुल्नै सकिन जुन पल तिमीसँग केही क्षण बिताएको थिएँ । तिम्रो सुन्दरता, तिम्रो बिर्सनै नसकिने मुस्कान, तिमीलाई एक नजर देखे मनै शीतल हुने, चञ्चल हुने, तिम्रो आँखाको गहिरो सागरमा डुबूँ–डुबूँ लाग्ने, तिम्रो केशको मीठो सुगन्ध, केशमा सिउरिएको रुमालजस्तो चिम्टी, तिम्रो पहिरन अनि त्यसको रंग, तिम्रो बोली, बोलीका एक–एक शब्दहरू अझै मनमा ताजै छन् । तिमी मेरो पहिलो रोजाइ, मेरो पहिलो प्यार, मैले भुल्न सकिन, केही गरे पनि भुल्नै सकिन । मैले बिर्सनै सकिन । सम्झना छ तिमीलाई भेट भएको त्यो क्षण आजजस्तै साँझ थियो । त्यो तपतप पानीको थोपा बाहिर जमिनमा झर्दै थियो । कालीमाटीको कुनै कफी सप, एक–एक कप तातो चिया, तिमी अनि म, मन पर्ने नपर्ने, रुचि र अरुचिका कुराकानी ।’ मैले सम्झने प्रयास गरें, फोटो प्रिन्ट हुनुअघिको रिलजस्तो सपनाको घामछायाजस्तो झल्याक–झुलुक फ्ल्यासव्याकहरू मेरो मानसपटलमा दौडिन आए, ऊ निरन्तर बोल्दै थियो ।
मैले रक्सी पनि पिएँ, म पागलसरी भएँ, म कवि भएँ के–के भएँ, के के……………..। महिमा तर आज मैले सोह्र वर्षपछि तिमीलाई फेरि पाएँ, म कति खुसी छु ।
‘तिमीलाई के सम्झना हुन्थ्यो, तिमीले मलाई कहिले चाहेकी भए पो ? तिमीसँग एकक्षण हिँडेको त्यो बाटो आज पनि आक्कलझुक्कल हिँड्न पुग्दा सँगै हिँड्दा टेकेका धूलाका कणहरू अझै पनि यत्रतत्र छरिएका होलान् भनी जमिनको धूलो टिपेर सँगाली राख्न मन लाग्छ । तिमीलाई पर्खेका ठाउँहरू कुनै बेला पुगिहाल्दा तिम्रो त्यो मोहनी मुहारको झझल्को आइरहन्छ, अझ ताजै । तर तिम्रो अस्वीकारले म निकै रन्थनिएको थिएँ, मर्माहत थिएँ । मैले रक्सी पनि पिएँ, म पागलसरी भएँ, म कवि भएँ के–के भएँ, के के……………..। महिमा तर आज मैले सोह्र वर्षपछि तिमीलाई फेरि पाएँ, म कति खुसी छु । तिमी मेरै हौ केवल मेरै अरूको हुनै सक्दिनौ । त्यसैले त आज तिमी एक्लो भएकी छ्यौ केवल मेरा लागि, तिमी आफूलाई एक्लो नसम्झ, म छु तिमीसँग । म तिमी खुसी भएको हेर्न चाहन्छु …………… ऊ निरन्तर बोलिरह्यो । म सुनिरहें ।

उसको यो दिवानापन असली हो यो मेरो सामु स्वीकार गर्छ अनि फेरि दुनियाँको सामु उसले मेरो विषयमा प्रचार गरेका गलत कुराहरू …………?

अब त साँझ झ्याम्मै छिप्पिसकेछ । समय गुमेको पत्तै भएन । कदममा कदम मिलाउँदै छुट्टिने बेलामा रेस्टुराँ बाहिर निस्कदा हामी केहीबेर सँगै हिँड्यौं, मैले उसको अनुहार पढें । ऊ साँच्चै नै वर्षौंपछि यति धेरै खुसी भएजस्तो लाग्यो । उसको खुसी देखेर ममा पनि कताकता आनन्दको लहर दौड्यो । उसले भेट्न आएकोमा आभार व्यक्त गर्दै बारम्बार खुसी व्यक्त गरिरह्यो । काठमाडांैको पुसको साँझ–बिहानको चिसो सिरेटो स्वास्थ्यको ख्याल राख्न अनुरोध गर्दै फेरि–फेरि पनि भेट गर्न अनि मित्रताको डोरी कायम राख्न अनुरोध गर्दै बिदाइको हात हल्लायो । मैले क्यान्डिल लाइट डिनरका लागि धन्यवाद मात्र दिएँ । हामी छुट्टियौं । ऊ आफ्नो गाडीमा पूर्व लाग्यो म पश्चिम ।

मलाई यति धेरै माया गर्ने यति धेरै मेरो दिवाना हुने त्यो पुरुष सोह्र वर्षअघि पनि यसरी नै मबाट छुट्टिएको हो । म उसलाई आदर गर्थें, सम्मान गर्थें, मेरा लागि ऊ हरतरहले योग्य थियो तर पनि ऊ मेरो सपनाको राजकुमारसँग मेल खाएन । सायद हरेक कुमारी केटीहरूको सपनाको राजकुमार हुन्छ, सानोमा एकादेशको कथामा पढेको, भाँडाकुटी खेल्दा सुनेको परीका कथाहरूसँग जोडिएर आउने वायुपंखी घोडा चढाई लैजान्छ रे भन्ने हुनसक्छ । मैले पनि त्यस्तै कुनै राजकुमारको तस्बिर मनमा सजाएर राखेकी थिएँ, अनि मैले स्वीकार गर्न सकिन र त्यसपछि पनि थुप्रै प्रस्ताव आए मैले उसलाई कहिल्यै सोचिन भनौं वा मैले उसलाई कहिल्यै यादै गरिन । म नजाने गाउँको बाटै नसोध्ने केटी ।

समय बित्दै जाँदा मैले अस्वीकार गरेका धेरै पुरुष थिए । मेरो कानले कहिल्यै केही सुन्नुपरेन तर उसैबाट मेरो कानले धेरै सुन्नुपर्‍यो । त्यो केटी घमण्डी थिई, रूपको घमण्ड, पढाइको घमण्ड, चतुर्‍याइँको घमण्ड, त्यसैले मैले नै त्यसलाई अस्वीकार गरेको आदि–इत्यादि । सायद उसले स्वीकार र अस्वीकारलाई उसको हार र जितसँग तुलना गर्‍यो । सायद उसले बुझेको थिएन मान्छेको मन र मायासँग हारजितको सरोकार हुँदैन । मायाले दिनै मात्र जानेको हुन्छ, सहनै मात्र जानेको हुन्छ, चोखो र कञ्चन हुन्छ गंगाको जलजस्तो ।

उसले मलाई दिएको त्यो घमण्डी केटीको बिल्ला भिरेर म यतिका वर्ष बाचिरहेँ । उसले दिएको त्यो बिल्ला मेरो पहिचान बन्यो र म मेरो समयका पुरुषहरूको परिवेशमा एउटी घमण्डी केटीका रूपमा परिचित भएँ, कसैले आँटै गर्न नसक्ने तर सबैको मनमा सजिएर रहने । आज म एक्ली छु तर खुसी नै छु किनभने त्यही घमण्डीपनकै कारण म कुनै नामर्दसँग झुकिन । कुनै स्वार्थी र झूटा पुरुषसँग झुकिन । मलाई गर्व छ आफ्नो घमण्डीपनमा । आफूले बोलेका र गरेका कुराहरू होइन भनी नकार्ने पुरुषहरूलाई नामर्द नै भन्न मन लाग्छ मलाई र नामर्द पुरुषहरूप्रति घृणा पनि जाग्छ ।

म सोच्छु मेरो ह्दय पनि त एउटा नारीको हो त्यति कठोर कसरी हुन सक्छ ? म पनि नारी हुँ । नारी आमा हो, जननी हो ऊसँग मायाको सागर हुन्छ, मन कोमल हुन्छ, कोमल मनभित्र सूक्ष्म आत्मा हुन्छ, आत्मा पनि दुख्छ, चाहना हुन्छ खुसीको, रहरहरू धेरै हुन्छन् सपना बुन्छे आकाश छुने । कसरी त्यति कठोर हुन सक्छे ? कसरी त्यति घमण्डी हुन सक्छे ? तर पनि उसले मलाई दिएको घमण्डीको बिल्ला मैले आजन्म भिरेरै बाँच्नुपर्नेछ, परिस्थितिले बाँधिदिएको एक्लो जीवनमा । कुनै पुरुषसँग नझुकी एक्लो जीवन गुजारा गर्न । धन्यवाद छ तिमीलाई । एक्लै बाँच्न एउटा कारण चाहिन्छ जुन कारण तिमीले दियौ, तिम्रो त्यही कारणको आधार पक्रेर म एक्लो जीवनको गाडी गुडाउने प्रयास गर्दैछु ।

तिमी तिम्रो वर्तमानमा बाँच । जन्मनुको सार्थकता राख । तिमी जुन स्थानको लायक थियौ त्यो स्थानमा पुग्यौ, त्यो स्थानको मान राख । त्यो एक साँझ, त्यो एकपल तिमीले मलाई पायौ, मेरो मायाको अनुभूति गर्न सक्यौ । मेरो मन तिमीले दिएको पगरी झिक्दा सरल छ त्यो सरल मनलाई त्यो पल तिमीले छुन सक्यौ । मैले तिमीलाई माफ गरिदिएँ । तिमी सधैं–सधैं जित्न चाहन्थ्यौ । त्यो साँझ, त्यो एकपल, तिमीले मेरो मन जित्यौ । बधाई छ तिमीलाई तिम्रो जितको ।
श्रावण २९, २०७३ प्रकाशित भएको थियो (नारी कान्तिपुरमा)

Leave a Reply