Friday , October 20 2017
Breaking News

मिल्काइदेऊ नाथे ढोंग-२

 सरला गौतम 

प्रेममा छैन, आजसम्म ‘चोखै’ छु भन्ने जस्ता कुरा गर्नु ढोँग हो। बरु भन्दिनुस् न, मैले चाहेँ भने प्रेम गरेको मान्छेको बच्चा पाउँछु बिहे नगरी। परेको हामी ब्यहोरम्ला।

 

कालिकोटको रेडियोमा कार्यक्रम निर्माण गर्दै थियौं। एकजना सहकर्मी भाइले गीत छान्न थाले। मैले सोधेँ, ‘भाइ तिमीलाई कुन गीत मन पर्छ?’ उनले भने, ‘उदित नारायणको ‘मलाई यो जीन्दगीले दुख दियो गनीगनी, कहिले आफ्नो ठानी कहिले पराई ठानी।’ अनि फेरि भने ‘दिदी तेह्र वर्षमा माओवादीले लिएर गए। क्रान्तिकारी गीतबाहेक केही सुन्न पाइनँ। त्यो बेला एक पटक कतै यो गीत सुनेँ। मलाई धीत मारेर सुन्ने रहर पुगेकै थिएन।’

मैले जिस्काएर भनेँ, ‘ल आज दिनभरी यही गीत सुन।’

काठमाडौंमा धेरै पछि एकजना प्रगतिशील लेखक दिदीसँग भेट भयो। हामी दुईमा एक अर्काप्रति आदर मात्र होइन पिरती पनि छ। घडिको सुईलाई पज गरेर निकै घन्टा हामीले एक अर्काको मन सुन्यौं। आफ्ना प्रगतिशील साथिभाइलाई उहाँले टाटा बाइबाइ गरिसक्नु भएको थियो। कुनै सिद्धान्तको खास अनुुशासनमा नहिँड्ने मेरो साथ रोज्दै।

उहाँको प्रगतिशील स्टाटस देखेपछि तुरुन्त मेसेजमा गएर निहुँ खोज्थेँ म। त्यो दिन लाइभ भेट्यौं। कुरैकुरामा मैले जिस्किएर भनेँ, ‘उस तपाइँको प्रगतिशीलता।’ आफ्नो मनको माया अनुहारमा सोहोरेर उहाँले मलाई भन्नुभयो, ‘सरला तिमी आफूले चाहेको लेख्न बोल्न स्वतन्त्र छौ। तर हामीलाई एक खालको बाध्यता छ। आफ्ना क्रान्तिकारी साथीहरुले के भन्लान् भन्ने विचार गर्नु पर्छ।’

अरु पनि पत्याउन गाह्रो पर्ने सुन्दर कुराहरु उहाँले मलाई भनेर उर्जा दिनुभयो। टाढाबाट उत्कर्षको क्रान्तिकारी कुरा सुन्दा झोँक चल्थ्यो। नजिक बसेर यस्तो कुरा सुन्दा म अतास्सिएँ। ‘छोड्दिनुस् यी सबै नौटंकी शालीनता। यही कुरा त इम्पोज गरेको थियो पितृसत्ताले। त्यही कुरा अर्को तरिकाले बोकी हिँड्नुको के अर्थ?’ मैले भनेँ।

उहाँले फेरि भन्नुभयो, ‘अब गाह्रो हुन्छ।’

लेखक बुद्धिसागरले एक सन्दर्भमा भनेका थिए मसँग, ‘विचारले तोड्छ मनले जोड्छ।’ ठीक त्यही बखत फरक विचारका टाउकाहरु बोकेको हाम्रो मन एकै पटक धेरै कुरामा द्रवित भएको थियो। नयाँ जमानामा लादिएको प्रगतिशीलता र मनुस्मृतिले थोपरेको पितृसत्तामा खास भिन्नता देखिनँ मैले।

काठमाडौँमा सामाजिक विषयमा छलफल चलाउने संस्थामा एकदिन गएँ। नारीवाद थियो विषय। बाहिर निक्लेपछि हाँसोको कुरा भयो। मैले सोधेँ, ‘हामीमध्ये को–को खुलेर हाँस्न सक्छौँ।’ प्रायः सबैको उत्तर थियो, ‘धेरै हाँस्ने बानी छैन।’ एकजना अभियन्ताको स्वीकारोक्ति थियो, ‘कुरा त मैले यहाँ आएर क्रान्तिका गरेँ। छोरीहरुलाई अबेरसम्म बाहिर हिँड्न दिन्नँ।’

काठमाडौँका सडकपेटीमा कैले ठमठम गर्दै कहिले अत्तालिँदै रातविरात कामबाट फर्केको, पछि लागेका जड्याँहा तह लाउन खुकुरीले छप्काइदिम्ला भन्दै बाझेको, मलाई साँझैमा घर फर्किने, कम हाँस्ने भलाद्मी प्रगतिशीलताले अहँ छोएन। यस्तो बोल, यस्तो लगाऊ, यसरी हिँड वा यस्तो विचार राख, यो पितृसत्ताले नै मनग्य भनिराखेकै छ। प्रगतिशीलताको भाँडोमा हालेर फेरि उही तिउन पुग्यो। उही कुरा दोहोर्याउन मन थियो ‘हास्न्याँ हरु वेश्या हुन्छन्,’ भनेर साहित्य लेखिने देशमा हाँसेरै लडौं, अनि थप्न मन थियो प्रेम गर्नेको उछितो काढ्ने समाजमा प्रेम गरेरै लडौं। निकै सुन्दर शब्द प्रगतिशीलताले नयाँ पुस्ताको स्नेह नपाउने भयो। विचरा शब्द शब्दकोषबाट हटाइदिउँ भन्ने नारायण वाग्ले दाइलाई यहाँनेर म टेर्दिनँ। प्रगतिशीलताको नौटंकीले यो शब्दनै ‘विचरा’ भयो। ‘शालीन पितृसत्ता’ सँगको लडाइँ सकिएको छैन, ‘शालीन प्रगतिशीलता’ जिस्काइरहेको छ समाजलाई।

दशकौँ काठमाडौँमा बसेर हाड घोटेपछि सफलताको शिखरमा पुगेकी एक अभिनेत्रीले आफ्नो प्रेम सम्बन्धबारे निकै संकोच मानेर अन्तर्वार्ता दिइन्। त्यति मात्र होइन, आफूले प्रेम नै नगरेको भनिन्। उनी मसँग प्रेम र यौनको बारेमा मज्जैले खुलेकी थिइन्। मलाई पचेन। फेरि इनबक्समा अनौपचारिक कुरा गरेँ जिस्कँदै। ‘दिदी किन डराको त्यस्तरी? प्रेममा छैन, आजसम्म ‘चोखै’ छु भन्ने जस्ता कुरा गर्नु ढोँग हो। बरु भन्दिनुस् न, मैले चाहेँ भने प्रेम गरेको मान्छेको बच्चा पाउँछु बिहे नगरी। परेको हामी ब्यहोरम्ला। लडौंला समाजसँग मिलेर।’

उहाँको उत्तर थियो, ‘धत् त्यस्तो कहाँ गर्न सक्नु!’ सामाजिक–आर्थिक रुपमा सशक्त एक महिला जीवनको अति प्राकृतिक पक्ष प्रेमको सवालमा यति डराँउछे। खै त, कुन नामको ‘क्रान्तिले’ दियो बल? एकल महिला, अविवाहित केटीहरुहरुले जब प्रेम र आफ्नो शरीरमाथिको अधिकारको कुरा गर्छन्, सबैभन्दा पहिलो आक्रमण प्रगतिशील समूहकै भेट्छन्। महिला पीडा छापिरहने राष्ट्रिय दैनिकलाई एउटा लेख पठाएँ। ‘दुख र सुख सिक्काका दुई पाटा हुन्। जबसम्म महिलाको सुखको पक्ष खोजी गरिन्न, दुखको सम्बोधन हुन सक्दैन। अविवाहित केटीमाथि यौन हिंसाको कुरा गर्ने समाजले उसको यौन सुखमा जीब्रो किन टोक्छ?’ लेख छाप्न नमिल्ने जानकारी आयो। करबलले पछि छापियो। यति कुरा पनि भन्न हिच्किचाउने मूलधारका अखबारसँग लड्नु पर्छ, जो महिलाका कुरा रातदिन ‘छापिदिन्छन्।’


आफ्नी आफन्त बालिकासँग खेल्दै लेखिका

कहिलेकाहीँ कुनै अमूक लेखकको भन्दा आफ्नो फरक विचारको लेख देखेपछि साथीहरु सोध्छन्, ‘फलानोलाई ड्यास दिएको?’ सही कुरा हो, हृदय लुकाएर दिमाग छरिएका शब्दहरु व्यक्तिगत रुपमा मलाई प्रिय लाग्दैनन्। मन छुँदा पनि छुँदैन। फरक विचार बगैंचाका सुन्दर फूलहरु हुन्। यसैले बगैंचाको विविधताको रक्षा गर्छ। तँ भन्दा म फरक भनेर गजक्क फूलेका होइनन् फूलहरु। एक अर्काको फक्राइमा सुगन्ध सापटी दिएर नै ती फूल्न सक्छन्। तर हृदय दबाएर देखाउनु पर्ने ‘क्रान्तिकारिता’ र ‘प्रगतिशीलता’ ढोंग हो। यसले व्यक्तिलाई त सक्छ, समाजमा पनि विविधता फैलिन दिँदैन। फरक विचारजस्तै देखिने ढोंगी विचार फूल होइन सिंउडीको काँडा हो।

खगेन्द्र सँग्रौलाले एकपटक अनामनगरमा भएको नागरिक समाजको बैठकमा भन्नुभएको थियो, ‘प्रगतिशील लेखन बारेका कार्यक्रममा जान्छु, तलदेखि माथिसम्म लेखिएको प्रगतिशील शब्दबाहेक बाँकी केही प्रगतिशील हुँदैन।’ प्रगतिशील भनिन मनपराउने साथीहरुले इनबक्समा तारिफ गरेर टाइमलाइनमा विरोध गर्नु त मेरा लागि पनि सामान्य हो। के देखाउनु पर्छ, के बाँच्नु पर्छ हरे! कोही सल्लाह पनि दिन्छन्, ‘जे मनमा छ त्यो देखाउने होइन। कूटनीतिक पारा पनि चाहिन्छ। मनको कुरा लेख्दा बढ्ने भनेकै शत्रु हुन्।’ हजारौं वर्षसम्म सुषुप्त पारिएको हाम्रो मनले बल्ल त थाहा पाउन थालेको छ आफ्ना कुरा। त्यही पनि लुकाएर बोल्ने त कुरै छैन।

कटनको कुर्ताभन्दा महंगो सुटमा सादगी छाँट्ने क्रान्तिकारी नेतृभन्दा आफ्नो रुचीको पोसाकमा आफ्ना दैनिक कामले समाज बदल्ने पात्रहरु मलाई खास क्रान्तिकारी लाग्छन्। धेरै पहिला एउटा साप्ताहिकले फोटो छापेको थियो। नेपाल आएको कुनै विदेशी नेता सडकमा मस्त नाच्दै थिए। फोटोबारे विस्तृतमा लेखिएको पनि थियो। हाम्रा नेताहरु बाहिर कति भलाद्मी देखिन्छन्। तर काम जनताको हितमा गर्दैनन्। मस्त नाचिदिन्छन्, जनताकै लागि बाँचिदिन्छन्। सार यस्तै थियो। सो फोटो भेटिएमा पूरै टेक्स्ट पनि देखिएला।

एक दिन टिभीमा जात्रा फिल्म हेरेर मुस्काउँदै निक्लेका बाबुराम भट्टराई देखेर मेरो मनमा खुसी छायो। हाँसो कुुरा निक्लेपछि उनी फेरि गम्भीर भइहाले र आदर्श वचनतिर लागे। टिभीमै भन्न मन लागेको के मलाई, ‘अरे यार नेताज्यू, दुई मिनेट त हाँस्नुस्। आफैँ हाँस्न नसके संसार हँसाउने परिवर्तन कसरी ल्याउनुहुन्छ?’ आफू उल्लु भइरहने, अनेकौं कोणमा विश्लेषित भइरहने हँसमुख नेता कृष्णप्रसाद भट्टराईले कसैलाई जज गरेको दृष्टान्त मैले भेटेको छैन।

आफ्ना बारेमा सारा टिप्पणी उनले भगवान शिवले निलकण्ठ विष पिएजस्तो पिए। धेरैजसो देखावटी सज्जनहरुको भीडमा एउटा सरल, सरस मन लिएर बाँचे। हरदम मुस्कुराएर बोले। यस्तै व्यक्तिहरुले साँचो मन देखाएर बाँच्ने प्रेरणा दिन्छन्। ताजा विचारहरु समाजमा संचार गर्ने बाटो खोलिदिएर दिशानिर्देश गर्छन्। ठीक यति बेला प्रगतिशीलता मुस्कुराउँछ होला।

पछिल्लो पटक राष्ट्रकवि माधव प्रसाद घिमिरेसँग मैले कविताको कुरा गरिनँ। केटीका कुरा गरेँ, सौन्दर्यको कुरा गरेँ। कुरैकुरामा सोधेँ, ‘तपाइँलाई कस्ता केटी राम्रा लाग्छन्?’ सबै उज्यालो माथ गरिदिने उनको अनुहारमा उही उज्यालो थियो। दुई हत्केलाले एउटा आकार निकाले, ‘बान्की परेका, गहनाले भन्दा अनुहारको हाँसोले सुशोभित भएका, जसको शरीरमा गहना नै सुशोभित होस्।’

मैले फेरि सोधेँ, ‘ऐना हेर्नुहुन्छ?’ उज्यालोको एक टुक्रा फेरि थपियो उनको मुहारमा। जोसिँदै भने, ‘हेर्छु र भन्छु अरे वाह माधवप्रसाद! मन गलेको बेला यसरी आफैँसँग प्रेरणा लिन्छु।’

मैले कल्पना गरेँ, यो देशको दुर्लभ मणिले ऐना हेरेर मुस्कुराउँदा वायुमण्डलमा एक टुक्रा मुस्कान थपियो होला। उनले आफैलाई वाह! भनेर हौसला दिँदा वायुमण्डलमा चार सय चालीस भोल्टको उर्जा थपियो होला। तीन घन्टासम्म अन्टसन्ट बात मारेर सडकमा निक्लँदा पैताला झन्डै पखेटा भएका थिए। म भित्रभित्रै पूरै जोसिएकी थिएँ। कुनै बेला जीवनमा आदर्श नारी हुने एक मात्र लक्ष्य थियो मेरो।

त्यो दिन सडकमा नाच्दै भन्दै हिंड्न मन लागेको थियोः हाँसिदेऊ बाँचिदेऊ जीन्दगी! मिल्काइदेऊ नाथे ढोंग!!

(लेखिकाले मिल्काइदेऊ नाथे डर शीर्षकमा यसअघि पनि लेख लेखेकी थिइन्)

(नेपालखबर बाट)

Leave a Reply