Wednesday , October 18 2017
Breaking News

सन्तानका लागि विवाह आवश्यक छैन : पुरा पढ्नुहोस

– अश्विनी कोइराला

माघ १२, २०७२-
अनुपमा रोसी, साहित्यकार
महिला–पुरुष सम्बन्ध, नेपाली समाजको प्रवृत्ति र यौनका विषयमा खुला रूपमा कलम चलाउने महिला निकै कम छन् । साहित्यकार अनुपमा रोसीले यी तीनवटै विषयमा निडर भएर कमल चलाएका कारण उनी कहिलेकाहीँ आलोचित पनि हुने गरेकी छन् । विद्यालयदेखि अखिलको राजनीति गरेकी अनुपमाले आफूभन्दा कमजोर मानिसलाई नेतृत्वले माथिल्लो स्थान दिएपछि अचानक राजनीति छाडिन् र लेखनमा होमिइन् । अनुपमाले सानैमा घर छाडेर विद्रोह पनि गरिन् त्यसैले उनको लेखनमा राजनीति र लोग्नेमानिसप्रति आक्रोश देखिन्छ । २०५९ सालको राष्ट्रव्यापी कविता–संग्रहमा प्रथम भएकी अनुपमाले एक गजल–संग्रह तथा तीन उपन्यास लेखिसकेकी छिन् । उनको ‘कालो छायाँ’, ‘नाङ्गो मान्छे’ र ‘कुमारी आमा’ तीनवटै उपन्यासका विचारले लेखक–कविहरूको समूहमा खैलाबैला मच्चिएको थियो ।

तपाईंले कुमारी आमा उपन्यासमा महिलाले विवाह नगरी बच्चा जन्माउनुपर्छ भन्ने वकालत गर्नुभएको छ । तपाईं आफैं पनि यस्ता कुरा गर्नुहुन्छ । यो उपन्यास तपाईंको आत्मकथा हो ?
यो आत्मकथा होइन, तर धेरैले मेरा उपन्यासका पात्रहरूलाई म हुँ भन्ने मान्नुहुन्छ । ती पात्रसँग मेरो अन्तरंग लगाव भएका कारण पनि पाठकलाई त्यस्तो लागेको हुनसक्छ । यो उपन्यास मेरो आत्मकथा किन पनि होइन भने म अहिलेसम्म आमा भएकी छैन, तर सन्तान जन्माउन महिलाले विवाह नै गर्नुपर्छ भन्ने कुरा म मान्दिनँ । मेरो वकालत उपन्यासकी पात्रले गरेकी हो ।

तपाईंको अर्को उपन्यास ‘कालो छायाँ’ मा लोग्नेमानिसहरूप्रति असाध्यै वितृष्णा छ । लोग्नेमान्छेप्रति किन यति धेरै आक्रोश ?
म सानै छँदा मेरी फुपूले फुपाजुबाट धेरै दु:ख पाउनुभएको थियो । प्रत्येक दुई–चार महिनामा फुपाजुको पिटाइबाट बच्न उहाँ माइती आउनुहुन्थ्यो । त्यति मात्र होइन, बुढेसकालमा फुपाजुले फुपूलाई छाडेर अर्कै युवतीसँग विवाह गर्नुभयो । मेरो बालमस्तिष्कमा त्यसले गहिरो प्रभाव परेको रहेछ । मेरा स्त्री पात्रमा ती दृश्य परेका हुन सक्छन् । म लोग्नेमानिसलाई सम्मान गर्छु । धेरैले मलाई लोग्नेमानिसका विषयमा यस्ता प्रश्न सोध्न थालेपछि लोग्नेमानिसका राम्रा पक्षका बारेमा एउटा उपन्यास नै लेखौं कि भन्ने सोच्न थालेकी छु ।

के का लागि लेख्नुहुन्छ ?
म आफ्नै लागि लेख्छु । जे देख्छु, जे महसुस गर्छु त्यही लेख्छु । जस्तो ‘नाङ्गो मान्छे’मा मैले जस्ता मान्छे देखें, महसुस गरेँ त्यही लेखेकी छु । लेख्नुको उद्देश्य नै मनलाई हलुका बनाउनु हो ।

तपाईं महिलाको यौनिकताको खुला पक्षधर हुनुहुन्छ, यसको कुनै खास कारण छ ?
हाम्रो समाजमा पुरुष यौनिकता जति खुला छ, त्यस आधारमा महिला यौनिकता धेरै खुम्चिएको छ । वास्तवमा विवाहित महिलाहरू आफ्नो इच्छाले न त यौनसम्बन्ध राख्न सक्छन् न त उनीहरूको सन्तुष्टिको विचार नै पुरुषहरूले गर्छन् । म महिलाको यौनेच्छा उसको विवाह वा श्रीमान्को इच्छाका आधारमा हुनु हुँदैन, बरु उसको आफ्नै हातमा हुनुपर्छ । नेपाली महिलाहरूले यो पीडा आजको समयमा पनि भोगिरहेका छन् । महिलाको यौनिकता पुरुषको हातमा होइन, उनीहरूको आफ्नै हातमा हुनुपर्छ भन्ने कुरामा विश्वास गर्छु ।

तपाईंलाई बाहिर बहादुर महिला लेखकका रूपमा लिइन्छ । तपाईं आफू महिला लेखक भनेर चिनिन रुचाउनुहुन्छ कि लेखक मात्र ?
स्त्री र पुरुष फरक हुन सक्छन् तर लेखक न त महिला हुन्छे न त पुरुष । यस कारण म आफूलाई महिला लेखकको कोटीमा राख्न चाहन्नँ, जहाँसम्म बाहिर मलाई बहादुर भनिन्छ भन्ने कुरा छ, मलाई त त्यस्तो लाग्दैन । मैले त यस्ता कुरा लेखें भनेर धेरै गाली खाएकी छु ।

तपाईंमा यति धेरै विद्रोही भावना कसरी आयो ?
मेरो बुवा निकै कडा हुनुहुन्थ्यो । साँझ पर्नेबित्तिकै लट्ठी लिएर बस्नुहुन्थ्यो र ढिलो घर आए बेस्मारी कराउनुहुन्थ्यो । यो पीडाबाट मुक्ति प्राप्त गर्न मैले घर नै छाडिदिएँ । एक्लै बसेपछि स्वतन्त्रता के हो, जीवन के हो भन्ने बुझ्ने मौका पाएँ । मैले पो हिम्मत गरेर घर छाँडे, मजस्ता थुप्रै महिला बुबा–आमा, श्रीमान् र परिवारको कैदमा छन् । त्यो सम्झँदा मलाई ठूलो पीडा हुन्छ । सम्भवत: यही पीडाका कारण मभित्र विद्रोही भावना जन्मियो । म सामान्य जीवनमा विद्रोही छैन, तर लेखनमा त्यो विद्रोह झल्कन्छ ।

-कान्तिपुर  साप्ताहिक बाट

Leave a Reply