Friday , October 20 2017
Breaking News

साउदीका म्यानेजरलाई सुनाउन मन छ, नेपालमै ७० हजार कमाउँछु

अर्जुन विश्वकर्मा/सर्लाही

सर्लाही, असार ६ – सर्लाहीको शंकरपुर– ९ का बिमल लामालाई हिजो आज साउदीका मालिकलाई भेट्न मन लागेको छ । साउदीमा काम गर्दा आफूलाई अह्राई पह्राई गर्ने मालिकलाई भेट्न मन लाग्नुको कारण फेरी पनि उनको सल्लाह लिन हैन ।

हिजो आज नेपालमा आफूले गर्ने काम र कमाईका बारेमा भन्न मन छ, ‘घण्टौं काम नगरेपनि ७० हजार रुपैयाँ कमाउँछु ।’ बिमलले साउदीमा खान खाएर हात ओभाउन नपाउँदै गाली गरेर काममा खटाएको बिर्सिनु भएको छैन ।

खाना खाने बित्तिकै म्यानेजरले दिनैपिछे गाली गर्थे, ‘बस्न आएको भए आफ्नै देश जा, नत्र खुरुखुरु काम गर’ बिमलले साउदीमा खाएको गाली सम्झिनुभयो ।

म्यानेजरको गाली सहि नसक्नु भएपनि बिमलले साउदीमा पनि महिनामा ५० हजार रुपैयाँ कमाउनुहुन्थ्यो । तर कामको बोझ र काम गर्ने वातावरणले बिमललाई दिक्क बनाएको थियो । दुईवर्ष साउदीमा गाली सहेरै बिताउनुभयो ।

बिमललाई सोचेको भन्दा उल्टो लाग्यो परदेश । ‘न कामको सम्मान छ, न त कामदारको इज्जत नै । पैसा नै सबै थोक त हैन नी’ बिमलले भन्नुभयो ।

दुईचार पैसा कमाउने, छोराछोरीलाई राम्रो स्कुल पढाउने प्रायकै जस्तो सपना बोकेर बिमल पनि परदेशीनु भएको थियो । तर आत्मासम्मान नपाएको महसुस भएपछि बिमल फर्किनुभयो । सन् २०१२ मा साउदी पुगेका बिमल दुई वर्षपछि फर्किनुभयो ।

घर फर्किएको केहि समय पछि परिवारकै सल्लाहमा उहाँले कुखुरा फर्म खोल्ने निणर्य गर्नुभयो । बिमलका छिमेकीले पनि बोइलर कुखुरा पालेका छन् । तर बिमलले फरक जातको लेस कुखुरा फर्म खोल्नुभयो । विदेशबाट ल्याएको रकममा केहि ऋण खोजेर थपथाप गर्नुभयो ।

२०७२ सालको चैतबाट एक हजार वटा कुखुरा राखेर फर्मको सुरुवात गर्नुभयो । सुरुमा कुखुराको हेरचाहको बारेमा जानकारी नहुँदा बिमललाई निकै गाह्रो थियो ।
‘दिनमै चार पाँच वटा कुखुरा मर्न थाले, त्यसपछि कुखुरा विशेषज्ञको सल्लाह लिएर त्यही अनुसार गरें, अहिले राम्रो छ’ बिमलले ढुक्क हुँदै व्यवसायको बारेमा सुनाउनुभयो ।

फर्म विस्तारै फस्टाउदै गयो । आम्दानी पनि हुन थाल्यो । अहिले बिमलले कुखुरा फर्मबाट सबै खर्च कटाएर मासिक ७० हजार रुपैयाँ सम्म कमाउनुहुन्छ । काम र कमाई प्रति बिमल खुसी हुनुहुन्छ । ‘परिवारको साथमा बसेर एक सय रुपैयाँ कमाउँदा पनि लाख बराबर हुने’ बिमलले उत्साहित हुँदै भन्नुभयो ।

बिमललाई आफूले उत्पादन गरेका कुखुराले बजार नपाउने हो कि भन्ने चिन्ता पनि छैन । कुखुरा र अण्डा लिन घरमै आउँछन् । बिमलले फर्म खोल्दा काढेको चार लाख रुपैयाँ ऋणको पनि सावा व्याज चुक्ता गरिसक्नुभयो । अहिले दैनिक १५ सय रुपैयाँ अनिवार्य बचत गर्न थाल्नु भएको छ ।

कमाई राम्रो भएपछि बिमललाई अझै फर्म बढाउने धोको छ । उहाँले भन्नुभयो, ‘जम्मा गरेको पैसाले अर्को नयाँ फर्म खोलेर कुखुरा हाल्ने तयारी भैरहेको छ, अब भैंसी फर्म पनि खोलेर दुध संकलन केन्द्र सुरु गर्ने विचारमा छु ।’

उहाँलाई हिजोआज आफ्नै देशमा गरे जे पनि हुने रहेछ भन्ने लाग्न थालेको छ । बिमलालाई नेपालमै व्यवसाय गर्न साहुको गाली पनि प्रेरणा बन्यो । तर एक पटक साउदीका म्यानेजरलाई भेट्ने धोको छ र आफ्नै देशमा कमाएको कुरा सुनाउँन मन छ बिमललाई ।
– उज्जयालो

Leave a Reply