Friday , December 15 2017
Breaking News

जुन गीत गाएर निकै पछुतो भयो : पशुपति शर्मा

काठमाडौँ – स्वरै सुरिलो, शब्द उस्तै । समयसापेक्ष समाजको कथा उतार्छन् । त्यसैले त लोकगायनमा पशुपति शर्मा आजभोलि खुबै चलेका छन् । जुन गीत निकाल्छन्, ‘हिट’ भइहाल्छ । तर, उनको गायनजीवन खोतल्दा निकै रमाइला पाटा भेटिन्छन्, कठोर पनि उत्तिकै । श्रोता–दर्शकले सबैभन्दा बढी मन पराएका गीत, उनैलाई मन नपरेका पनि छन् । एउटै गीत रेकर्ड गर्न झन्डै आधा महिना समय लागेको हरिबिजोग कहानी पनि उनीसँग छ । रेस्टुरेन्टमा गीत नगाइदिँदा झन्डै रामधुलाइ हुनुपरेको काण्ड पनि व्यहोरेका छन् । नयाँ पत्रिकाका प्रवीण देवकोटासँग पशुपतिले सुनाए, गायनजीवनका केही रमाइला किस्सा स्

पहिलो गीत रेकर्ड गर्न १२ दिन लाग्यो
गाउँमा छँदा फाट्टफुट्ट गीत गाउँथेँ । स्याङ्जामा हुने विभिन्न गायन प्रतिस्पर्धामा भाग लिन्थेँ । आफ्नै तालमा गाउँदा–गाउँदै सिकेकै आधारमा जिल्लाको एउटा प्रतिस्पर्धामा दोस्रो पनि भएँ । तर, गीत रेकर्ड गर्ने स्टुडियो कहिल्यै देख्न पाएको थिइनँ, न त गीतको सुर–ताल नै थाहा थियो । ०५६ सालमा काठमाडौं छिर्दा पनि गीत गाउँछु भन्ने कुनै उद्देश्य थिएन । पढ्न छिरेको केटोलाई रहरै–रहरमा एउटा एल्बम त निकालूँ न त भन्ने झोक चल्यो । यो बल केवल गाउँमा गाएको अनुभवले मात्रै पैदा गरेको थियो ।

०५८ को अन्तिमतिर पहिलो गीत रेकर्ड गराउन स्टुडियो गएँ । ‘स्याङ्जामाथि वन‘’ बोलको गीत रेकर्ड गर्न सजिलो भएन । जति गाउँदा पनि सुर–ताल नै मिलेन । हत्तु भइयो । आफूलाई त राम्रै गाएजस्तो लाग्थ्यो । तर, रेकर्डिस्टले खाली भएन भन्थे । एक मन उसैलाई थाहा रहेनछ भन्नेसम्म लाग्थ्यो । यो गीत निरन्तर रेकर्ड गर्दै जाँदा १२औँ दिनमा फाइनल गरेको हुँ । रेकर्डिस्टले त अझै भएन भन्दै थिए । यत्तिको भए चलिहाल्छ नि भनेर छाडेको । त्यो पहिलो गीत खासै चल्दा पनि चलेन ।

पहिलो गीत रेकर्ड गर्दा व्यहोरेको हालतले मलाई भोकल सिक्न प्रेरित गर्यो । त्यसपछि दुई वर्ष भोकल सिकेँ । यहीबीचमा दोहोरी साँझमा गाउन पनि सुरु गरेँ । ०५८ देखि पाँच वर्षसम्म गीत रेकर्ड गर्ने र एल्बम निकाल्ने कामचाहिँ गरिनँ । ०६४ मा मात्रै फेरि गीत रेकर्ड सुरु गरेँ । त्यसपछि भने सबैजसो गीत हिट भएका छन् ।

अरूका शब्दमा गाउन असजिलो लाग्छ
निकै कम मात्रै गीत अरूका शब्दमा गाएको छु । यो बाध्यताले मात्रै हो, मेरो खुसीले गाएको होइन । आफ्नो शब्दमा जति राम्रो प्रस्तुति दिन सक्छु, अरूको शब्दमा सक्दिनँ । यो कुरा स्वीकार्न मलाई कुनै धक छैन । अरूका शब्दमा लेखेको गीत गाउनै अप्ठ्यारो लाग्छ । मेरो स्वर अर्काको शब्दमा मेल पनि खाँदैन ।

पशुपतिले गाएपछि गीत चल्छ भनेर गाइदिन प्रस्ताव बाक्लै आउने गर्छ । तर, म तर्किने गरेको छु । यसका पछाडि दुई कारण छन् । पहिलो त मेरो स्वर अरूका शब्दमा मेल नै खाँदैन, मलाई खुब असहज लाग्छ । दोस्रो, अब अरूका गीत गाएर खतरा नमोलौँ भन्ने पनि हो । धेरै वर्ष चलिसकियो, अब फेरि अरूको गीत गाएर असफल हुन सक्ने खतरा लिन चाहन्नँ । थोरै गीत गाउने, आफ्नै शब्दमा गाउने भन्ने नै हो ।

कहिलेकाहीँ त आफ्नै गीत पनि सोचेजस्तो गर्न सकिँदैन । कुनै गीत मन परेन भने एरेन्ज गरेपछि पनि भाका परिवर्तन गर्छु । तिजका गीत ‘हेर्न ओइ बाटुली‘’ र ‘मोटरसाइकल झ्याउ लाग्यो, कार किनेर ल्याऊ‘’ दोस्रोपटक भाका परिवर्तन गरेका गीत हुन् ।

श्रोतालाई भन्दा मलाई अर्कै गीत मनपर्यो
अत्यधिकले मन पराएको र मलाई निकै नै चर्चामा पुर्याएको गीत ‘मलाई अमेरिका एई‘’ नै हो । त्यसो त ‘ढाड दुखेर मार्यो’ पनि झन्डै–झन्डै उही हाराहारीमा चल्यो । तर, मलाई भने ढाड दुखेर मार्यो नै बढी मन परेको गीत हो । यो गीतको विषयवस्तु मनपर्छ । जिन्दगी संघर्षशील छ र मान्छे जे गरे पनि असन्तोषी जात हो भन्ने सन्देश गीतले दिन खोजेको हो । कसैले बसेर खा भनेपछि जिन्दगीमा कोही सुखी रहन सक्दैन।

जुन गीत गाएर निकै पछुतो भयो
धेरै गीत गाएँ । तर, एउटा गीतले भने मलाई निकै चित्त दुखायो । जे सकारात्मक सोचेर गीत लेखेँ र गाएँ, प्रतिफल नकारात्मक प्राप्त भयो । ‘हामी नेपाली हौँ‘’ बोलको गीत सबै जातजाति र धर्मका हामी समान हौँ भन्ने सन्देशका लागि थियो । तर, जसका लागि भनेर गाएको थिएँ, उही समूहले चर्को आलोचना गर्यो । धेरै नै आलोचना भएपछि मिडियालाई अब नबजाइदिनु भनेर सार्वजनिक रूपमै आग्रह गर्नुप¥यो । यो अवस्थामा मलाई निकै पछुतो लाग्यो । कहिलेकाहीँ सकारात्मक गर्दा पनि नकारात्मक परिणाम निम्तिँदो रहेछ । यो घटनामा दुई–तीन दिन घरमै बस्न मन लागेन ।

गीतका शब्द कि सुत्दा नभए ट्वाइलेट बस्दा फुर्छ
सामाजिक घटना–वस्तु जोडेर ‘टिपिकल’ शब्दमा गीत लेख्न मन लाग्छ । मेरा सबैजसो गीत यस्तै नै छन् । खासमा फरक शैलीका गीत दिन सके चल्छ भनेर नै यसो गरेको हो । छिटो हिट हुनुपर्छ भन्ने स्वार्थले नै यहाँनेर काम गरेको छ । तर, मैले समाजमा दिनुपर्ने सन्देशको पाटो पनि भुलेको छैन । गीत ठट्यौली मात्रै होइन, सन्देशमूलक हुनैपर्छ भन्ने मान्यता हो ।

गीत लेख्ने परिस्थिति भने मेरो फरक हुन्छ । मलाई निकै एकान्त चाहिन्छ । हुलमुलमा लेख्न सक्दिनँ । एक्लै भएको अवस्थामा मात्रै गीत लेख्छु । ढोका थुनेर कोठाभित्र एक्लै सुतेर गीत सोच्ने गर्छु र लेख्छु । कति गीत त ट्वाइलेटमा बसेर पनि सोचेको छु । त्यसो त एक्लै भएको अवस्थामा कहिलेकाहीँ गाडीमै पनि गीतका शब्द फुर्छन् ।

मेरो गीतमा हुरुक्कै हुने ६ वर्षको फुच्चे फ्यान
धेरै फ्यान भेटिए । सुगम, पप र आधुनिक गीत मात्रै सुन्नेहरू पनि ‘तपाईंले गाएपछि लोकगीत पनि सुन्न थालेको छु,’ भन्ने भेटिए । पोखराको एउटा फुच्चे फ्यानको कहानीचाहिँ रोचक छ । उसलाई मेरो गीत निकै मन पर्दो रहेछ । कुनै दिन स्कुल जान मानेन या केही कुरामा झगडा गर्यो भने घरका अभिभावकले ‘पशुपति शर्मालाई भेटाइदिन्छु’ भनेपछि शान्त भइहाल्ने रहेछ । एकपटक पोखरा जाँदा त्यो ६ वर्षजतिको फुच्चेलाई उसकै आमाले भेटाउन ल्याइन् । मैले दिनभर उसलाई आफ्नै काखमा राखेँ । बेलुका घर जाने वेला पनि छुट्टिनै मानेको थिएन । त्यो घटनाले मलाई अचम्म लाग्यो, आखिर बच्चाहरू किन यतिसम्म सोच्न सक्छन् रु

गीत नगाइदिँदा कतिले कुट्नै खोजे
वेला–वेला बाहिरै खाने भनेर रेस्टुरेन्टतिर गइन्छ । धेरैले चिन्नु स्वाभाविक नै हो । दाइ नमस्ते भन्दै आउँछन् र एउटा गीत गाइदिनु न भन्छन् । मलाई भने कार्यक्रमबाहिर खान बसेको ठाउँमा गीत गाउन मन लाग्दैन । मैले ‘यस्तोमा गाउन मुड आउँदैन, सरी’ भन्छु । तर, उनीहरू आवेशमा आउँछन् । कोही घमन्डी भनेर पाखा लाग्छन् भने कोही त कुटौँलाझैँ गर्छन् । यस्ता मान्छे धेरै भेटिए ।

एकपटक बुटवलमा यस्तै घटना भयो । ‘क्याम्पस पढ्न आउनी‘’ बोलको गीत गाएर चर्चामा थिएँ, त्यतिखेर । होटेलमा बस्दा एकजना व्यक्तिले गीत गाइदिन भनेँ । मैले इन्कार गरेँ । उनी त चर्को स्वर गर्दै लम्की–झम्की गर्न पो थाले । आजकाल त यस्तो असहज अवस्था भयो भने जुरुक्क उठेर बाटो तताइहाल्छु ।

गीत गाउन नसके व्यवसाय गर्छु
मैले गायनमा लामो समय खर्चिएँ । अबका दिनमा पनि सकेसम्म गीत नै गाउँछु । तर, कुनै दिन स्वरले साथ दिएन भने अभिनय गर्ने पनि विकल्प छ । मलाई अभिनयमा पनि इच्छा हो । यदि केही भएन भने व्यापार व्यवसाय नै गर्ने हो । विदेश गएरचाहिँ बस्दिनँ । यही समाजमा केही गरेर बस्छु । लास्टै पर्यो भने बरु गाउँमा गएर बाख्रा पालेर बस्ने हो ।नयाँ पत्रिकाबाट

Leave a Reply

%d bloggers like this: