Friday , October 20 2017
Breaking News

राजेन्द्र महतोलाई नाकाबाट लखेट्ने भुमिपुत्र शान्तकुमार यी नै हुन, कसरी लखेटे !

भदौरे प्रचण्ड गर्मी, त्यसमाथि भैरहवा । शान्तकुमार शर्माको कोठामा कुलरको आवाज गुन्जिरहेको थियो । बेलहिया नाकाको ठीक अगाडि रहेको घरमा शर्मा आफ्नो जीबन भोगाइ साट्दै थिए । सीमा नाकाका बासिन्दा यिनको भुमिका सीमा स्तम्भको जस्तो छ ।

उनी बेलहियाको भुमीपुत्र हुन् । ५५ बर्ष अघि उनी बेलहियामा जन्मिए । बेलहिवाबाट ८ किलोमिटर पर रहेको भारतको नउतनवा ईन्टर कलेजमा प्लेस टु पढे । गोरखपुर विश्वविद्यालयबाट सन् १९९१ म समाजशास्त्रमा विद्याबारिधी गरे । अध्ययनमा अब्बल शर्माले सीमा क्षेत्रको बसाइका कारण नेपाल र भारतको संस्कृति र सभ्यताको नजिकबाट अध्ययन गर्ने मौका पाए ।

शुरुमा शान्तलाई जागिरको भोक थियो । सरकारी हाकिम भनेपछि गाऊघरमा भिन्दै सान हुन्थ्यो । पढेरपनि जागिर नगर्दा अक्षमको बात लाग्थ्यो । यस्तैमा २०५० सालमा लोकसेवा आयोगले समाजशाश्त्रीको माग गर्यो । उनले परीक्षा दिए , पास पनि भए । जलस्रोत मन्त्रालय अन्र्तगत सिचाईं विभागमा उनी जागिरे भए ।

शान्त समाजमा फैलन चाहन्थे । समाजलाई प्रत्यक्ष प्रभाव पार्ने नमुनायोग्य काम गर्न चाहन्थे । सरकारी कार्यालयमा रहँदा सो सम्भव भएन । समाजशास्त्रका शान्ता सरकारी जागीरमा रम्न सकेनन । ३ वर्ष नपुग्दै उनले सरकारी जागिर छोडिदिए । खाइपाइको जागिर छाड्दा धेरैले आश्चर्य व्यक्त गरे, ‘के गरेको यस्तो !’ बाहिरफेरकाले जागिर छोडेकोमा अनेक प्रश्न गरेपनि उनकै माइलो दाजु बिजयले उनलाई समाजसेवामा हौस्याइरहेका थिए । नेपाली काँग्रेसमा सक्रिय दाजुले शान्तालाई उत्प्रेरित गर्थे, ‘जागिर दैनिक गुजारा चलाउने माध्यम मात्र हो । तिमीजस्तो मान्छेले समाजकै स्तर उन्नतीकरणका लागि आफुलाई होम्नुपर्छ ।’

२०५१ सालमा राजा विरेन्द्रबाट ‘क’ श्रेणीको महेन्द्र विद्यावारिधी उपाधी प्राप्त गरेका शान्तले सम्भावनायुक्त सरकारी जागिर छाडिदिए । त्यसपछि उनको जीबनले अर्कै मोड लियो । उनी समाजसेवामा लागे । बेलहिया नाकाको अगाडि घर भएकाले उनको घर आफैंमा व्यापारिक केन्द्र बन्दै थियो । दैनिक गुजराका लागि उनलाई उतिसारो समस्या हुँदैनथ्यो ।

जागिर छोडेपछि उनी नेपाल भारत मैत्री संघको अध्यक्ष भए । त्यो संस्थामा रहेर उनले नेपाल भारतको सिमा क्षेत्रको विभिन्न काम गरे । उनको घर अगाडि बाटै दिनहुँ चेलीबेटीहरु सीमापारि लगिन्थे । बुझ्दै जाँदा त्यसरी गएका मध्ये अधिकांश बम्बइका कोठीमा बेचिन्थे । उनले चेलीबेटी बेचबिखनका बिरुद्ध लाग्ने प्रण गरे । ‘आफ्नै आँखा अगाडि चेलीबेटीलाई लैजादै गरेको कसरी हेर्नु ?’ मनको बह बिसाउँदै शान्ता भन्छन्, ‘पहिले पहिले चेलीबेटी कति बेचिए । हामीले कतिलाई बम्बइबाटै फिर्ता ल्यायौँ । लागू औषध कारोबारीको बोलवाला थियो । प्रशासनसँगको सहकार्यमा हामीले निगरानी बढायौँ । नागरिक तहको निगरानीले धेरै काम गर्दोरहेछ ।’

भारतमै पढेका र भारत आउजाउ भइरहने हुँदा पारिका पनि उनीसँग डराउँथे । उनी भन्छन्, ‘नबिराउँनु नडराउँनु । उनीहरुको बिगार पनि गरिदैन, हाम्रो बिगार गर्न पनि दिइदैंन ।’ भारत जाँदा उनले नेपालीका अनेक कथाव्यथा नजिकबाट देखेका छन् । कतिपय नेपालीले अनाहकमा ज्यान गुमाउँछन् । घरसम्म शब ल्याउने हैसियतपनि हुँदैन । उनले अलपत्र परेका शब नेपाल ल्याइदिएका छन् ।

चेलीबेटी बेचबिखन बिरुद्धको अभियान र समाजसेवाले शान्त धेरैको नजरमा परिसकेका थिए । जीबनदाताका रुपमा उनलाई पूज्य ठान्नेको संख्यापनि उल्लेख्य छ ।

नाकावन्दीका बेला उनको परिचय फराकिलो भयो । अन्यत्रका नाका ठप्प हुँदा पनि बेलहिया नाका चालूप्राय रह्यो । बेलहिया नाकालाई अबरोध गर्न पारिबाट ढुंगामुडा गरियो । पारि गएका नेपालीको हात काटियो । राजेन्द्र महतो नाकावन्द गर्न आफैं उपस्थित भए । तर, भैरहवा क्षेत्रका बासिन्दाले अदम्य साहश देखाए । शान्तले निभर्यका साथ नाकावन्दीको विरुद्धमा आठै प्रहर जागरुक रहे । सीमा पारीबाट आएको राजेन्द्र महतोको समुहलाई खेदेपछि शान्तको परिचय सीमा पहरेदारका रुपमा दरियो । शान्तसहितको प्रतिकार समुहले अशान्त बन्दै गरेको नाकामा शान्ति ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको थियो ।

नाकावन्दीका बेला आफ्नो घर अगाडिको नाका खुला राख्न सकेकोमा उनलाई गर्व लाग्छ । ‘जनता जागेपछि कसैले केही गर्न सक्दैन ।’ मुठी कस्दै शान्त जोशिए । बेलहिया नाका सुरक्षित रहेको सन्देश देशैभरि फैलियो । नाकावन्दी यता बेलहिया नाका थप चहलपहलपूर्ण छ । कतिले बीरगंजको रुट डाइर्भट गरेर बेलहियाबाट मालसामान झिकाउन थालेका छन् । नाका थप व्यस्त हुँदा नाका वारि र पारि दुबैतिरका जनता खुशी छन् । शान्ता भन्छन्, ‘जगत भलो त आफु भलो । दुनियाँलाई फाइदा भयो, साथीभाइले जसपनि दिएका छन् ।’

कालोबजारी गर्ने र नाकावन्दी गर्ने दुबै पक्षले शान्तलाई निशाना नबनाएका होइनन् । तर उनी डग्मगाएनन् । मध्येरातमा ज्यान लिने धम्कीसहितको फोन आउँदा पनि उनले हासेर टारिदिए । भन्छन्, ‘मरेर एक दिन जानु नै छ । केही ढिलो र छिटोको कुरा हो । असल काम गर्दा मरियो भने अमर भइन्छ । मलाई डर लाग्दैन ।’

सीमावर्ती क्षेत्रमा बसेर देशको पक्षमा बोल्नु जोखिमपूर्ण पनि हुन्छ । पारिबाट कस्ले कतिबेला निशाना लगाउने हो एकीन छैन । तर, उनलाई यस्ता कुराको प्रभाव छैन । खुला सीमानका कारण देशले दुःख भोगिरहेको उनको अनुभव छ । ‘१७ सय किलोमिटर खुला सीमाना छ, अनेकथरि गतिविधि खुला सीमानाका कारण भइरहेको छ ।’ उनी भन्छन्, ‘नेपाली सुरक्षाकर्मीको तैनाथी सबै ठाऊँमा हुँन सकेको छैन । उताकाले के गर्छन् सबैलाई थाहा छदैछ ।’

भन्सार एजेन्ट महासंघको केन्द्रिय उपाध्यक्ष शान्त सिद्धार्थ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षपनि हुन् । नेपाल रेडक्रस सोसाईटी, रोटरी क्लब, लगायत अन्य धेरै सस्थाहरुमा उनको संलग्नता छ ।

साभार नेपालआज /सागर बुढाथोकी

Leave a Reply