Monday , July 24 2017
Breaking News

राजसंस्था छोडेपछि……यस्तो भयो

– बबिता बस्नेत

स्थानीय निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ल्याएको मत देखेर लागिरहेको छ, मेरो बुवाआमा र मेरो बुवाआमाजस्तै आस्था राख्ने तमाम आमाबुवा र महानुभावहरूले नेताको रूपमा कमल थापालाई होइन, राजसंस्थालाई पो सम्मान गरेका रहेछन् ।

कुरा घरबाटै सुरु गरूँ, कामविशेषले पहाड घर खोटाङ जानुभएका बुवालाई टेलिफोनमा भनेँ– काम नसकिए पनि भोट हाल्न त आउनुप¥यो नि । बुवाले जवाफमा भन्नु भो– खै भोट हाल्ने पनि कसलाई र ? त्यस्तो जिताउनैपर्ने कोही भए पो… । राजनीतिलाई नजिकबाट बुझ्ने मेरो बुवाको निराशाजनक जवाफ सुनेर छक्क परेँ । उहाँले भन्नुभयो, ‘कमल थापाले राजसंस्था छोडेपछि उनको पार्टीलाई भोट हाल्ने कुरा भएन, अरू त्यस्तो खासै कोही छैन ।’ पञ्चायतकालमा खोटाङ जिल्लाको इलाका नं. ८ का जिल्ला पञ्चायत सदस्य मेरो बुवा मोहनबहादुर बस्नेतलाई राजसंस्थाप्रति अगाध आस्था थियो । राजा वीरेन्द्रको पूर्वाञ्चल भ्रमणका बेला राजारानीलाई भेटेर फर्किएपछि घरमा आउने मानिसहरूसँग बुवाले राजासँग भएका कुराकानी र दिएका किताबको बारेमा चर्चा गरेको अझै सम्झन्छु । तरुण तपस्वी, विचार विज्ञानलगायतका किताब त्यतिबेला पञ्चहरूलाई अध्ययन गर्नका लागि दिइँदोरहेछ । बुझी–नबुझी सानै हुँदा तिनै पुस्तकहरू पढ्दै जाँदा किताब पढ्ने बानी लागेको हो ।

पञ्चायत गयो, प्रजातन्त्र आयो, प्रजातन्त्रपछि लोकतन्त्र, गणतन्त्र, मुलुकमा तन्त्रहरू थपिँदै जाँदा राजसंस्था गयो । तर, बुवा र मेरो बुवाजस्तै धेरै राजनीतिकर्मीको मनमा राजसंस्थाप्रतिको आस्था र सम्मान गएन । घरमा प्रजातान्त्रिक आस्था राख्ने सदस्यको बाहुल्य छ । संविधानसभाको निर्वाचनमा छोराछोरी सबैले आफू आस्थावान दललाई भोट हाले पनि बुवाआमाले गाईलाई नै हाल्नुभो । आफूहरूले मात्र मत हाल्नुभएन मत दिनलाई अरूलाई हारगुहार पनि गर्नु भो । नेता कमल थापा र तत्कालीन राप्रपा नेपालसँग उहाँहरूको अपेक्षा हिन्दूधर्म र राजसंस्थाप्रतिको आस्थाबाहेक अरू केही थिएन । कमल थापाप्रति उहाँहरूको आदर यति थियो कि हरेक अन्तर्वार्ताहरू नछुटाई हेर्ने, उहाँका भनाइहरूमा सहमति जनाउने । अहिले हामीले कमल थापाको बारेमा राम्रो कुरा गर्दा उहाँहरू सुन्नै चाहनुहुन्न । फोनमा बुवालाई भनेँ– राजसंस्था छोडेर के भयो त ? राष्ट्रियताको कुरा त घोषणापत्रमा छ नि… हिन्दूधर्म पनि छोडेका छैनन् । उहाँले उल्टै मलाई प्रश्न गर्नु भो– राष्ट्रियताको कुरै गर्न त केपी ओली नै ठीक छन् नि, कमल थापा किन चाहियो ? आज केही सिट आउँदैमा राजसंस्था छोड्नेले भोलि योभन्दा माथि पुग्नासाथ हिन्दूधर्म छाड्दैनन् भन्ने के छ र ? अहिले स्थानीय निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ल्याएको मत देखेर लागिरहेको छ, मेरो बुवाआमा र मेरो बुवाआमाजस्तै आस्था राख्ने तमाम आमाबुवा र महानुभावहरूले नेताको रूपमा कमल थापालाई होइन, राजसंस्थालाई पो सम्मान गरेका रहेछन् ।

पारम्पारिक मूल्य–मान्यतामा रहन चाहने काठमाडौंवासीका तर्फबाट संविधानसभामा राप्रपा नेपालले ठूलो सङ्ख्यामा मत पाएको थियो । त्यो मत राजसंस्थाप्रतिको आस्थाको मत थियो भनेर भन्नका लागि अब हिच्किचाउनुपर्ने कारण रहेन । विगतमा कमल थापा र उहाँको टिमलाई हामीले राजा र राजसंस्थाका लागि केही गरिरहेका छौँ भन्ने लागेको हुँदो हो । नेता थापाले राजाले आफ्नो पार्टी फुटाउन खोजे भनेर सार्वजनिक अभिव्यक्ति दिएर आफ्नो पार्टी राजसंस्थाको पक्षमा नरहेको सन्देश दिएपछि भएको स्थानीय चुनाव र चुनावपछिको परिस्थिति हेर्दा त उहाँहरूले राजसंस्था होइन राजसंस्थाले पो उहाँहरूलाई बनाइरहेको रहेछ भन्ने देखियो । राप्रपा नेपालका रूपमा कमल थापा अध्यक्ष रहेको दलले ल्याएको मतको मर्म बुझ्न नसक्दा एकता भएपछिको अवस्था झनै खस्कियो । राजेन्द्र लिङ्देनहरूले अब भत्किएको यो खाडललाई कसरी पुर्ने हुन् यसै भन्न सक्ने अवस्था छैन ।

नेपालको राजनीतिमा इतिहास र एजेण्डा दुईवटा कुराले महत्वपूर्ण भूमिका खेल्दै आएको देखिन्छ । हुनत, पश्चिमा मुलुकको ट्रेन्ड पनि उस्तै हो । कहिले एजेण्डाले काम गर्छ कहिले इतिहासले, कहिले व्यक्ति र व्यक्तित्वले पनि फरक पारिदिन्छ । अमेरिकामा ग्रिन पार्टीले राम्रा–राम्रा एजेन्डा अघि सार्छ, तर खासै मत ल्याउँदैन । एकपल्ट जथाभावी बाटो काट्नेविरुद्ध आवाज उठाएर स्वीट्जरल्यान्डमा अटोमोबाइल पार्टी (फ्रिडम पार्टी अफ स्वीट्जरल्यान्ड) ले राम्रो मत ल्याएको थियो । भारतमा आम आदमी पार्टी पनि एजेन्डाबाट आएको हो । भ्रष्टाचारविरुद्धको आवाजले अरविन्द केजरीवाललाई सत्तामा पु¥यायो । नेपालमा पृष्ठभूमि, इतिहास र सङ्घर्ष तथा तत्काल उत्पन्न राजनीतिक स्थितिको प्रतिक्रियाका रूपमा आएका एजेण्डाले फरक पार्ने गरेको छ । पृष्ठभूमि र इतिहासका कारण नेपाली काङ्ग्रेसले अहिले पनि मत पाइनै रहेको छ । आफ्नो ठाउँ, क्षेत्रमा को उठेको छ नामै थाहै नभए पनि इतिहासका कारण रूखमा भोट हाल्नेहरूको सङ्ख्या काङ्ग्रेसमा ठूलो छ । एमालेले बिस्तारै आफ्नो इतिहास बनाउँदै छ । हिजो बाबुआमाले सूर्यलाई भोट हाले म के अन्त जानु है भन्नेहरू अब एमालेमा पनि भेटिन थालेका छन् । कम्युनिस्ट हुन नसक्नेहरूको मत हिजोका दिनमा पूरै काङ्ग्रेसमा जान्थ्यो, अब बिस्तारै बाँडिन थालेको देखिन्छ । यसपटक साझा र विवेकशीलले पाएको मतमा एजेण्डाभन्दा पनि कम्युनिस्ट हुन नसक्नेहरूको मतको पल्ला भारी छ । कम्युनिस्टलाई भोट हाल्न मन छैन, काङ्ग्रेसभन्दा यिनीहरूले केही गर्छन् कि भनेर पाएको मतलाई एजेण्डाका कारण ल्याएको मत भनेर हेरियो भने विश्लेषण सही हुँदैन । यी दुवै दलका मन छुने एजेण्डा खासै थिएनन् ।

माओवादी र मधेसवादी यी दुई दल नेपालमा एजेन्डावाला राजनीतिका कारण माथि आएका हुन् । माओवादीका एजेन्डा हेर्दा कुनै बेला यो मुलुकमा यस्तो होला र ? जस्तो लाग्थ्यो, अन्ततः भयो । संविधानसभादेखि गणतन्त्रसम्म माओवादीका एजेडा थिए । यता मधेसवादी दल तात्कालीन आन्दोलनको जगमा उभिएर आए । मधेसलाई मुख्य केन्द्र बनाए र मधेस नै मधेसी दलको एजेण्डा बन्यो । माओवादी र मधेसवादी दुवै दलहरू निश्चित एजेण्डा लिएर आँधी–बेहरीझैँ आए । एजेण्डा रित्तिँदै छ, क्रमशः सेलाउने क्रममा छन् । इतिहास लामो नभए पनि नेतृत्व राम्रो भयो भने एजेण्डा सकिए पनि राजनीतिक दलको गतिमा रुकावट आउँदैन । तर, यी दुवै दलहरूमा नेतृत्वको राजनीतिक चरित्र र व्यवहार जनताले चाहेजस्तो या नेतामा हुनुपर्नेजस्तो देखिएन । जसका कारण यी दुवै थरी एजेन्डा बोक्ने दल एकार्कामा फुट्दै जाँदा दलहरूमा परिणत भए । मधेसवादी दलका केही एजेन्डा बाँकी छन्, ती सकिनेबित्तिकै यी दलहरूको अवस्था अहिलेको माओवादीको जस्तै हुने हो । माओवादी राष्ट्रिय दल थियो र पनि निकै खुम्चियो । मधेसवादी त पहिला नै क्षेत्रीय छन्, अवस्था के होला अनुमान गर्न सकिन्छ । राप्रपा नेपालसँग हिजो एजेण्डा थियो, फरक धारका बाबजुद माथि आयो । टुक्रिएको राप्रपा मिलेर एक भयो, तर एजेण्डा छोडेपछि मेलमिलापको कुनै अर्थ रहेन । इतिहास र एजेन्डा दुवै नभएपछि राजनीतिक दललाई राजनीतिको मैदानमा टिकिरहन त्यति सहज हुँदैन । – (ghatanarabichar) घटना र विचार बाट साभार

Leave a Reply