Friday , December 15 2017
Breaking News

राजतन्त्रको सम्भावना – जय देश जय नरेश

जनताले शिर झुकाएर बाँच्नुपर्‍यो भने स्वाभिमानको के अर्थ ?

युवराज गौतम
‘ब्रेकिङ इन्डिया’ भन्दा बेग्लै पारामा लेखिएको ‘ब्रेकिङ नेपाल’ पढे भने गोरापन्थी (सौरभको शब्दमा पादरीवादी) भइसकेका र हुन खोजेका धेरैको मुटु चसक्क दुख्न सक्छ । ब्रायन हज्सन, डानियल राइट, पर्सिभल ल्यान्डन, एलएफ स्टिलर, थोमस बेल, हेनरी ए. ओल्डफिल्ड, लिओ ई. रोज, डेभिड एन. गेल्नर, फ्रान्सिस बुचानन ह्यामिल्टन, डेभिङ म्याक्डोनाल्ड र कर्कप्याट्रिकलगायतका धेरैलाई निर्वस्त्र बनाएका छन्-सुजित मैनाली र सौरभले । त्यो ‘फ्री-किक’ नै हो ।

‘नेवार, लिम्बू, किराँती र भोटेहरू सबै बौद्ध धर्मावलम्बी हुन्’ भनेर डानियल राइटले ‘द हिस्ट्री अफ नेपाल’ पुस्तकमा (पृष्ठ ३२) लेखे । झुटो पुलिन्दालाई पुस्तक बनाएर नेपालमा मात्र होइन, संसारमै भ्रम फैलाउने पश्चिमाहरूले ‘लिम्बूहरू छोरी बेच्छन्’ भनेर लेखेका छन् । यसमा शिक्षित लिम्बूहरू पनि बोलेनन् । विभिन्न जातिलाई लान्छना लगाएर नचाहिँदा र असत्य कुराको प्रचार गरेर विद्वता देखाउने त्यस्ता पात्रहरूले पृथ्वीनारायण शाहमाथि हजारौं शब्द खर्च गर्दै गाली गरेका छन् । गोराले लेखेपछि शिलालेख ठान्ने प्रवृत्ति र चरित्रले आजका कथित विद्वान र ठेउके लेखकहरूलाई त्यसबाट बल पुगेको छ।
त्यसैले नेपालको पहिचान (प्राचीन धर्म संस्कृति, परम्परा, इतिहास र मूल्यमान्यता) मास्न त्यसको संरक्षक, सूत्रधार तथा समन्वयकर्ता शक्तिका रूपमा रहेको राजतन्त्र एवं हिन्दु अधिराज्यको मुुटुमा छुरा धसिलो । युवापुस्ताले विस्तारै यो यथार्थ बुझ्न थालेको पाइन्छ ।
रोमानोभ वंशका राजा (जार) सन् १९१७ सम्म रसियाका राष्ट्राध्यक्ष भए । मिखाइल फ्योदोरोभिक् रोमानोभ (सन् १५९६-१६४५) संसद्बाट निर्वाचित प्रथम जार थिए । कम्युनिस्टहरूले निकोलसलाई मारेर बोल्सेभिक क्रान्तिका नाममा ठूलो रक्तपात मच्चाए । सयौं वर्षसम्म राजतन्त्रले सुरक्षित राखेको राष्ट्रिय एकता क्षतविक्षत हुँदै गयो । कम्युनिस्टको शासन सुरु भएको ७२ वर्षपछि सोभियत संघ पन्ध्र राज्यमा छिन्नभिन्न हुनपुग्यो । ‘ब्ल्याक बुक अफ कम्युनिज्म’ पुस्तकमा रसियामा कम्युनिस्ट शासकहरूले लाखौंको हत्या गरे भनिएको छ ।
शासक नै निर्धो भएपछि राष्ट्र सुरक्षित रहँदैन । पूर्वी पाकिस्तानका नेताहरूले भारु खान थालेपछि पाकिस्तान टुक्रेर बंगलादेश बन्यो सन् १९७२ मा । सन् १८४६ देखि दुई वर्षसम्म चलेको युद्धमा मेक्सिकोले टेक्सास गुमायो । सन् १८४७ मा मेक्सिको सिटी र क्यालिफोर्नियाको आधा भूभाग गुमायो ।
एक करोड पचास लाख डलर क्षतिपूर्ति पायो मेक्सिकोले । लुरे नेता, पिलन्धरे सेना र लोभी कर्मचारीतन्त्रले डुबायो मेक्सिकोलाई ।
दोस्रो विश्वयुद्धका बेला अमेरिकी सेनाका प्रखर कमान्डर थिए म्याकार्थर । उनले भनेका छन् -‘सेना भनेको राष्ट्रिय स्वाभिमानको रक्षक हो ।’ हुन पनि हो, करोडौं जनताले शिर झुकाएर बाँच्नुपर्‍यो भने स्वाभिमानको के अर्थ हुन्छ ? स्वतन्त्रताको के मूल्य रहन्छ ? स्वाधीनता कहाँ जीवित हुन्छ ? र सेना हुनु न नहुनुको के माने रहन्छ ? त्यसैले प्रधानसेनापति राजेन्द्र क्षत्रीले सेनाले राष्ट्र बचाउँछ भनेर पटकपटक आश्वस्त तुल्याइरहेका छन् ।
कम्बोडियाको बौद्ध-राजतन्त्र अमेरिकालाई मन परेको थिएन । त्यसैले सीआईएले सन् १९७० देखि १९७५ सम्म जनरल लोन नोललाई उकासेर राजाविरुद्ध जनमत बनाउन थाल्यो । राजाले हुर्काएका प्रियपात्रहरू द्रव्यमोहमा राजाविरोधी भए । खमेररुज नामको कम्युनिस्ट विद्रोह बढ्दै जाँदा सन् १९७५ मा राजसंस्था नै धराशायी हुन पुग्यो । सन् १९७६ मा पोलपोटले कम्युनिस्ट शासन सुरु गरे ।

आजको राजनीति जति विकृत, विसंगत, कुरूप, विदीर्ण र विभाजित बनेको छ, त्यसको मुहान खोज्दा बाह्रुबुँदेमै पुगिन्छ । त्यसैले बाह्रबुँदेबाट शान्तिको मार्गमा आएको भनिएका माओवादीबाट राष्ट्र र जनताको हितमा किन केही पनि सत्कर्म भएन भनेर चित्त दुखाउनु बेकार छ ।

राजतन्त्र, धर्म, संस्कृति र प्राचीन हिन्दु-बौद्ध संस्कृतिका ज्ञाता, उपासक र विद्वानविदुषीलगायत लाखौं जनताको हत्या गरियो । सन् १९८५ मा पोलपोटको सट्टा खिउ साम्पान सत्तामा पुगे । गृहयुद्धले राष्ट्र ध्वस्त भएपछि जनताले राजतन्त्र नै चाहिन्छ भन्न थाले । अन्त्यमा सोह्र वर्षपछि त्यहाँ सन् १९९१ मा राजतन्त्र पुनस्र्थापना भयो । लोन नोलले दिएको धोकाबारे राजा नरोदम सिंहानुकलले ‘माई वार विथ द सीआईए’ पुस्तक (सन् १९७२) मा वर्णन गरेका छन् ।
सन् १८५० देखि अंग्रेज शासकले भारतमा सिपाहीको पोसाक खाकी रंगकै हुनपर्ने व्यवस्था गरेका थिए । दक्षिण अफ्रिकाको युद्ध (सन् १८९९-१९०२) मा ‘केमोफ्लेज’ प्रचलनमा ल्याइयो । पछि गएर संसारमै त्यो फैलियो । गोराको हुकुम सेनाको पोसाकमा पनि चल्यो । पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल एकीकरण अभियान चलाइँदा न पोसाकमा केमोफ्लेज थियो, न कसैको दिमागमा पादरीवाद । संसारलाई जित्ने अंग्रेज सेनाका पन्ध्रसोह्र सय सैनिकलाई सिन्धुलीको लडाईंमा एकै चिहान बनाइदिने काम गोर्खाली सेनाले गरेको थियो । ती सैनिक आमाकै दूध खाएर हुर्केका थिए भन्ने उनीहरूको साहस, त्याग र सौर्यले प्रमाणित गर्दछ ।
दुष्यन्त र शकुन्तलाको अमर प्रेमको कथामा आधारित शकुन्तला (संस्कृत नाटक) लेखे, कालिदासले । नेपालका कतिपय स्वाभिमानी, निष्पक्ष र निर्भीक लेखकहरू दिल्लीमा ‘बाह्रबुँदे’ नाटक रचना गर्ने प्रमुख र सहायक पात्रहरूबारे आज पनि लेखिरहेका छन् । आजको राजनीति जति विकृत, विसंगत, कुरूप, विदीर्ण र विभाजित बनेको छ, त्यसको मुहान खोज्दा बाह्रुबुँदेमै पुगिन्छ । बागमतीको मुहान बाग्द्वारमा, गंगायमुनाको मुहान गंगोत्री र यमुनोत्रीमा र नेपालका माओवादीको पवित्रधाम दिल्लीको लोधीरोडस्थित भारतीय गुप्तचर संस्था रअको प्रधान कार्यालय हो भन्ने सबैले स्पष्ट बुझेका छन् । त्यसैले माओवादीबाट राष्ट्र र जनताको हितमा किन केही पनि सत्कर्म भएन भनेर चित्त दुखाउनु बेकार छ ।
ग्रीक मिथकमा जेअस र लेडाकी छोरी हेलेनको कथा आउँछ । स्पार्टाका राजा मेनेलससँग सुन्दरी हेलेनको विवाह हुन्छ । एकदिन उनलाई ट्रोयका राजकुमारले अपहरण गर्छन् । ट्रोजन युद्धमा राजकुमारलाई परास्त गरेर मेनेलसले हेलेनलाई दरबारमा फर्काउँछन् । रामले पनि सीतालाई त्यसरी नै फर्काएका थिए । रामको फौजमा हनुमान, सुग्रीवलगायतका योग्य, सक्षम र इमानदार बाँदरहरू थिए ।
अयोग्य बाँदरहरू पालेर युद्ध जित्न सकिँदैन भन्ने सन्देश रामकथाले दिन्छ भने हुनमानलाई तिम्रो शक्ति अपार छ भनेर जाम्बुवानले सम्झाएपछि मात्र उनी जागृत र उत्प्रेरित भएको कथा रोचक छ । सदाशय, इच्छा र प्रयत्नले आर्जन गरेको उपलब्धि र शक्ति मात्र दिगो हुन्छ । विदेशीले ‘रिचार्ज’ गरिदिएका गणतन्त्रवादीहरू आज पनि विदेशीकै आड भरोसामा छन् । विवाहको जाँचोपाजो अभिभावकले गरिदिन्छन् तर गर्भाधान त दम्पतिबाटै हुन्छ । विदेशीले गणतन्त्र, धर्म निरपेक्षता र संघीयताका लागि करोडौं युरो, भारु र डलर दान दिएपनि त्यसले जनविश्वास किन्न सकिँदैन । जनमत जित्न सकिँदैन । यही कारणले जनताले राजतन्त्रलाई राष्ट्रवादी र गणतन्त्रका अधिकांश सारथिलाई राष्ट्रघातीको कित्तामा राखेको देखिन्छ।
यस्तो अवस्थामा २०६२÷६३ सालपछिका यावत् घटनाक्रमको वस्तुपरक मूल्यांकन गर्ने काम बुद्धिजीवीहरूको हो । प्राध्यापक, शिक्षक, पत्रकार, वकिल, कर्मचारी, उद्योगपति, व्यापारी आदि मात्र होइन, किसान मजदुरले समेत राष्ट्र गम्भीर संकटमा छ भन्ने बुझेका छन् । राष्ट्र नै रसातलमा पुग्ने अवस्था देखिएको छ । नेपाललाई उठाउन होइन, नेपाली-नेपालीलाई फुटाउन विदेशीहरू सक्रिय छन् । यही अवस्था रहेमा नेपाल महासंकटको चक्रब्युहमा पर्ने निश्चित छ । त्यस्तो अवस्थाबाट पुनः शान्तिको युगमा फर्किन गाह्रो हुन्छ ।
२०६२÷६३ भन्दा पहिलेको समय अन्धकारमय थियो र त्यसपछि मात्र सूर्योदय भयो भन्ने आसयका दुष्प्रचार गर्दै केही नेता, पत्रकार र लेखकले भ्रम फैलाउने काम मात्र गरेका छन् । एकीकरणभन्दा पहिले बाईसे-चौबीसे राज्यले कायम राखेको मर्यादा जति पनि आज बाँकी रहेन । राजनीतिक स्थायित्व मृगमरीचिका बन्यो । श्री ३ पद्म शमशेरद्वारा जारी गरिएको ‘नेपाल सरकार वैधानिक कानुन २००४÷२००५ देखि जारी) को कार्यकारिणी सभासम्बन्धी व्यवस्थामा ‘ श्री ३ महाराजबाट नियुक्त भएपछि मन्त्रिमण्डल सदस्यहरूले तोकिएको धर्म भाकी चार वर्षसम्म काम चलाउनेछन्’ भनिएको छ ।
त्यस्तै, ‘उनीहरूले कुनै किसिमको बेकाइदा गरेको स्वीकार गरे वा सो गरेको मन्त्रिमण्डलको गोप्य भोटले ठहर्‍यायो भने मात्र आफ्नो कामबाट झिकिनेछन्’ भनिएको छ । कालरात्रि भनिएका राणाकाल र पञ्चायतकालमा पनि राजनीतिक स्थायित्व थियो । गाउँ र नगरपञ्चायतको चुनाव निश्चित अवधिभन्दा आठ दश दिनपहिले नै हुन्थ्यो । २१ वर्ष उमेर पुगेका र कानुनले योग्य ठहर्‍याएका सबैले वडादेखि संसद् (राष्ट्रिय पञ्चायत) सम्म जनप्रतिनिधि छान्थे । आज १९ वर्षसम्म स्थानीय चुनाव गर्न÷गराउन नसक्ने नेताहरू आफूलाई लोकतन्त्रवादी भनिरहेका छन् । ६÷७ महिना नपुग्दै सरकार ढाल्ने खेल सुरु हुन्छ ।
भूतपूर्व भएका प्रधानमन्त्री र मन्त्रीहरू ‘काला कुर्तैले छ महिना जागिर खायाँ …’ भन्दै नाच्ने गर्छन् । केही महिनामै करोडौंको सम्पत्ति कमाउन सक्नेहरू पुनः राजनीतिमा फर्किन्छन् । हरितन्नमहरू हरिहरि भन्दै घरमै थन्किन्छन् । इमानदार, सक्षम र राष्ट्रवादीको हातबाट नेपाली राजनीति जनवादी र डनवादी दैत्यहरूका हातमा पुगेको छ ।
पर्यटन, विकास, प्रजातन्त्र एवं नेपालको भूगोलबारे गहिरो अध्ययन गरेका स्वीस विद्वान टोनी हागन (१९१७-२००३) लेख्छन् -‘एक दिनमा एक सय डलर खर्च गर्ने दसजना सस्ता पर्यटकभन्दा एकैदिनमा एक हजार डलर खर्च गर्ने महंगा पर्यटकबाट हुने आम्दानी उस्तै हो ।’ यही कुरा राजनीतिक र प्रशासनिक खर्चमा पनि लागू हुन्छ । २०६३ सालको सेरोफेरोमा राजतन्त्र महंगो पद्धति हो भन्ने प्रचार गरियो । राजदरबारमा प्रत्येक साल पचास करोड रुपैयाँ खर्च हुन्छ भनियो । राजपरिवारका सदस्यको भत्ता र झन्डै सात सयजना कर्मचारी, मर्मतसम्भार, विदेश भ्रमण आदिमा हुने दरबारको खर्चभन्दा सयौं गुणा बढी खर्च हुने गणतन्त्रमा ६ सय सांसद, पचासौं मन्त्री, उनीहरूका कर्मचारी र अन्य अदृश्य खर्चबारे ‘खोज पत्रकारिता’ गर्नेहरूले पनि चासो राखेनन् ।
भारतीयलाई द्रुतमार्ग नदिएर सरकारले नेपाली सेनालाई जिम्मा लगाएकोमा चित्त दुखाउँदै बरु उनीहरू विदेशीको चाकडी गर्न रुचाउँछन् । उनीहरू त प्रायोजित रूपमा केही व्यक्तिका जुम्रा हेर्ने काममा मात्र लागेका छन् । सबै सत्य बाहिर ल्याउँदा गणतन्त्र नै बद्नाम होला भन्ने चिन्ताले प्रायः सबै सञ्चारमाध्यम मौन बसेका छन् । विदेशी शक्तिको चलखेल, एनजीओ र आईएनजीओमार्फत बाँडिएको अर्बौं रुपैयाँ, नेपालमा डेरा जमाएर चीन-भारत दुवैलाई खरानी बनाउन खोज्ने ‘पादरीवाद’, नेपालका सम्पूर्ण प्राचीन धर्मसंस्कृति (हिन्दु, बौद्ध, बोन आदि) समाप्त पार्ने खेल निर्विघ्न रूपमा सञ्चालन गर्नका लागि राजतन्त्र फ्याँकेर गणतन्त्र ल्याएको स्पष्ट भइसकेको छ । परिवर्तनका लागि गणतन्त्र ल्याइएको भए हिजोभन्दा आज राष्ट्र बलियो, समृद्ध र सक्षम हुनुपथ्र्यो तर भएन ।
एउटा उच्छृंखल र अनैतिक पुरुषले घरमा पत्नी छँदाछँदै दोस्रो विवाह गरेछ । छोराछोरी सानै थिए । त्यसैले उनीहरूलाई तिमीहरूकी आमा चरित्रहीन, अल्छी र काम नलाग्ने भएकाले कान्छी ल्याएको हुँ भन्दै चकलेट दिएर अल्मल्याएछ । कान्छी आमाले जब भाँडाकुँडा समेत बेचेर रक्सी खाँदै बारी पनि बेच्न थालिन्, त्यसबेला केटाकेटीहरू पनि कुरा बुझ्ने उमेरका भइसकेका थिए । उनीहरूले घर भाँड्न आएकी बाबुकी कान्छी श्रीमतीलाई घरबाट निकालेर आफ्नी आमालाई मावलबाट घर ल्याए ।
नेपाली जनताले पनि राजा र गणतन्त्रवादी नेताहरूको चरित्र, राष्ट्रप्रेम र इमानदारी तुलना गरिसकेका छन् । त्यसैले अब राजाले नै राष्ट्र सम्हाल्नुपर्छ भन्न थालेका छन् । २०६३ सालपछि राजतन्त्ररूपी सूर्यलाई ग्रहणले छोपेको थियो । ग्रहण होइन, सूर्य स्थायी, शाश्वत र सर्वव्यापी हुन्छ । राजतन्त्रले दल, जात, भाषा र क्षेत्रको भेदभाव गर्दैन । त्यसैले त्यो सबैको हुन्छ । पार्टीभित्र गुट, उपगुट, विदेशीका एजेन्ट जे पनि हुन सक्छन् । राजा विदेशीको एजेन्ट हुँदैन । राजतन्त्र पुनः स्थापना हुँदा सेनाले पनि बलियो अभिभावक पाउँछ । राजा र सेना मिले भने विदेशीले पनि हप्काउन सक्दैनन् । ‘तिम्रो मूल्य कति हो ? ‘ भन्दै खसीबोका झैं किन्न सक्दैनन् । जलस्रोतलगायतका विभिन्न विषयमा घुस खुवाएर सन्धि-सम्झौता गर्न सक्दैनन् । सत्तासँग सार्वभौमसत्ता धरौटी राख्ने साहस कसैले गर्दैन ।
जापान, ब्रिटेन, नर्वे, स्वीडेन, डेनमार्कलगायतका कैयन् राजतन्त्रात्मक राष्ट्रमा राष्ट्रियता, प्रजातन्त्र, स्थायित्व र समृद्धि सबैथोक सुरक्षित छ । पहिले राजतन्त्रअन्तर्गत रहेर नीति र थिति बसालेका फ्रान्स वा अमेरिका गणतन्त्रात्मक भएपनि त्यहाँका प्रायः सबै चलन राजतन्त्रकालकै छन् । मर्यादा, अनुशासन र संस्कार पनि उनीहरूले राजतन्त्रबाटै सिके । जंगलबाट मंगल मनाउन सहर पसेका असभ्य, अशिष्ट, अभद्र अमानुषहरूलाई सलाम गर्नुपर्दा नेपालमा जंगी, निजामती र प्रहरी सबैलाई पीडा, आत्मग्लानी र हीनताबोध भएको उनीहरूको मुखाकृतिबाटै बुझ्न सकिन्छ ।
विदेशीले उच्च आसनमा पुर्‍याइदिए पनि नेताको बोली-व्यवहारमा छुद्रपन स्पष्ट देखिन्छ । त्यसैले हिजो सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई ‘दुस्मन’ भन्नेहरूलाई सलाम ठोक्नुपर्दा सुरक्षाकर्मीहरूको छातिमा कति गहिरो चोट लागेको होला, सजिलै अनुमान गर्न सकिन्छ । यस्ता कारणले पनि हजार स्याललाई सलाम ठोक्नुभन्दा एउटै सिंहलाई सम्मान गर्न उनीहरू तत्पर देखिन्छन् ।
राजनीतिको खेलमा जुनसुकै बेला जे पनि हुनसक्छ ।
आआफ्ना कमजोरी आत्मसात गर्दै संसदीय प्रणालीमा विश्वास गर्ने दलहरूले तीता कुरा बिर्सेर बाह्रबुँदे सम्झौताभन्दा पहिलेकै अवस्थामा ‘किङ इन पार्लियामेन्ट’ (संसद्मा राजा) प्रणालीमा फर्किने साहस र विवेक देखाए भने माओवादी नामको पोलपोट, लेन्डुप र क्विजलिङ प्रवृत्ति स्वतः धुलोमा मिल्नेछ । राजतन्त्र पुनस्र्थापना हुँदा माओवादीलगायतका विदेशीका कठपुतलीहरू मुर्छित होलान् तर अरूका लागि त्यो राष्ट्रिय मेलमिलापको नवीन संस्करण ठहरिनेछ । जनआवाज नसुनेर विदेशीकै एजेन्डामा हिँड्ने हठ गरिरहे भने त्यस्ता व्यक्तिहरू विस्तारै किनारा लाग्नेछन् र राष्ट्रवादको प्रखर सूर्यका सामु उनीहरू निभ्न लागेको मैनबत्ती बन्नेछन् ।

अन्नपूर्ण बाट साभार 

Leave a Reply

%d bloggers like this: