Monday , August 21 2017
Breaking News

‘सुगर’ बारे एक विशिष्ट चिकित्सकको पढ्नै पर्ने राय


पुट्ट पेट नै ‘सुगर’रोगको घर
तपाईको पुट्ट पेट नै तपाईको रागेको कारण हो,’आइतबार कान्तिपथको ग्रान्डी सिटी क्लिनिकमा डा. मिमी गिरी बिरामीलाई सम्झाउँदै थिइन्।
१५ वर्षदेखि मधुमेह (सुगर)का बिरामी उनी धेरै डाक्टरकहाँ धाइरहेका छन्। थरीथरी डाक्टरको पालो पुर्‍याइसकेका उनी पछिल्लोपटक गिरीकहाँ आइपुगेका थिए। तर यहाँ आइपुगेर सुगर रोगबारे उनले अहिलेसम्म सुनेका र बुझेकाभन्दा फरक उपचार पाए।
विभिन्न किसिमको चेकजाँच र परीक्षणभन्दा डा. गिरीले उनलाई रोग र त्यसका रोकथामबारे बेलिविस्तार लगाइन्।
उनका अनुसार पुट्ट पेटलाई धेरै नेपाली खानदानी पहिचान सम्झन्छन्। कतिपय त पेटलाई नै ‘व्यक्तित्व’को मापक ठान्छन्। तर धेरैलाई थाहा नहुन सक्छ- त्यो पुट्ट पेट व्यक्तित्वको मापक होइन, बरु रोगको घर हो। त्यसले निम्त्याउने रोगहरूमध्ये एक सुगर हो।
बेलायतको युनिभर्सिभटी अफ लन्डन र बेल्जियमको युनिभर्सिटी अफ गेन्ट पढेकी र युनिभर्सिटी अफ गेन्टमा २५ वर्ष काम गरेकी गिरी दुई वर्षअघि स्वदेश फर्किइन्। लामो समय विदेशमा बसेर काम गरे पनि स्वदेशमै फर्किएर उनी सुगर रोगबारे उपचार मात्र नभई सचेतना अभिवृद्धिमा लागिरहेकी छिन्। नेपालमा उपलब्ध सीमित सुगर रोग विशेषज्ञमध्ये उनी एक हुन्। सुगरका बिरामीहरूलाई उनी औषधीको थोरै र सुझावको पोको धेरै बोकाउँछिन्।
बेल्जियममा सुगर भएर अस्पताल आउनेमध्ये धेरैजसो ६०-७० वर्षका हुन्थे। नेपालमा भने ३०-३५ वर्षमा नै मानिस सुगरको शिकार भएको पाइन्छ। ‘हामीकहाँ विदेशमा जस्तो छैन,’ सेतोपाटीसँग उनले भनिन्, ‘हेर्दा भर्खरका जस्ता लाग्नेहरू सुगर भएको ५-६ वर्ष भयो भन्दै आउँछन्’ उनले भनिन्। त्यसमा पनि सहर बजारमा बस्ने धेरै हुन्छन्।
मानव शरीर चलाउने चिनीले नै हो। हामीले खाएका सबै खाना चिनीमा बदलिन्छन्। इन्जिनमा इन्धनजस्तै मानव शरीर चल्न यसले काम गर्छ। तर, चिनीको मात्रा सधैँ सन्तुलित हुनुपर्छ। धेरै वा कम दुवैले स्वास्थ्यलाई हानी पुर्‍याउँछन्। शरीरमा चिनीको मात्रा बढी हुनुलाई सुगर, डाइबेटिज वा मधुमेह भनिन्छ।
उनका अनुसार ५० वर्षअघि अत्तोपत्तो नै नभएको यो रोगले अहिले सहरिया मध्यम वर्गीय मानिसलाई सताइरहेको छ। ‘यो मानिसलाई चालै नदिई मार्ने रोग हो,’ गिरीले भनिन्। कतिलाई यो वंशाणुगत कारणले लाग्छ भने धेरैजसोले आफैँ यसलाई निम्त्याउँछन्। खानपान र जीवनशैलीमा लापरवाही सुगरका मुख्य कारण हुन्।
मानव शरीरको भित्रि बनौट र स्वरूप अहिले पनि हजारौं वर्ष पहिलेको जस्तै छ। शरीरले अहिलेपनि हजार बर्ष पहिले जस्तै काम गर्छ। जीवनशैली भने निक्कै फेरिएको छ।
खानाको कुनै ठेगान नभएको अनि पाएको खाना अरुले खाइदेला भन्ने पीरले एकैचोटि धेरै खाने शिकारी शैली हामी अहिले पनि अपनाइरहेका छौं। तर शिकारीकालको जस्तो ब्ययाम भने अहिले हाम्रो छैन, समस्याको चुरो त्यहि हो।
हामी धेरै खाना खान्छौं। बिहान र साँझ झन् धेरै। त्यो पनि अरुले खोसी देलाजस्तो गरी हतार-हतार। सामान्यत: नेपालीले ५ देखि १० मिनेटसम्म खाना खाई सक्छन्। तर खाना खान कम्तीमा पनि २० मिनेट लगाउनु पर्ने गिरी बताउँछिन्।
इन्सुलिन र बोसो
डा. गिरीका अनुसार शिकारी युगजस्तै अहिले पनि हाम्रो शरीरभित्रका इन्सुलिन र इन्सुलिन बनाउने प्यांक्रिजले उसरी नै काम गरिरहेका छन्। तर हाम्रो जीवनशैली धेरै फेरिएको छ। फेरिएको जीवनशैलीले इन्सुलिन र बोसोको सन्तुलनमा उतारचढाव ल्याइरहेको छ।
सुगर रोगसँग इन्सुलिन र बोसो जोडिएर आउँछन्। इन्सुलिन सुगर बिरामीको साथी हो भने बोसो, सत्रु। तिनै बोसो र इन्सुलिनबारे पनि नेपाली समाजमा गलत धारणा छन्।
प्याक्रिंज ग्रन्थीले इन्सुलिन उत्पादन गर्छ। इन्सुलिनले पाचनमा निस्केको चिनीलाई सन्तुलन मिलाएर बाँड्छ। तर जब धेरै चिनी बन्छ, प्यांक्रिजले इन्सुलिन पनि धेरै बनाउँछ। धेरै बनाउदा बनाउँदै रबरजस्तै तन्केर यो चुडिन्छ। डाक्टरले त्यही प्याक्रिंजलाई जोडछन्। तर यसले पहिलेजस्तो इन्सुलिन बनाउन सक्दैन। त्यसैले बिरामीलाई बाहिरबाट इन्सुलिन दिनुपर्छ। अरु औषधीजस्तो इन्सुलिनको ट्याब्लेट अहिलेसम्म बनिसेकेको छैन।
सुगरका बिरामी के सोच्छन् भने इन्सुलिनले सुगर नियन्त्रण हुन्छ। इन्सुलिन दियो भने जे खाए पनि हुन्छ। यो सरासर गलत हो। बाहिरबाट दिइएको इन्सुलिनले चिनी नियन्त्रण गर्न सक्दैन। यसले जसोतसो काममात्र चलाउने हो।
मोटो मानिसमा मात्र बोसो हुन्छ भन्ने अर्को गलत बुझाइ छ। त्यसैले धेरैजना सोच्छन्- मोटो मानिसलाई मात्र सुगर हुन्छ। तर सत्य के हो भने दुब्ला पातला मानिसमा पनि बोसो हुन्छ। मोटो अमेरिकी व्यक्ति र दुब्लो भारतीय व्यक्तिको बोसो नाप्दा अधिकांशत: भारतीयमा बोसो बढी भेटिन्छ। त्यसको कारण खानपान र जीवनशैली नै हो। ‘पश्चिमाहरू धेरै त खान्छन् तर मिलाएर खान्छन्। यताका मान्छे एकैपटक धेरै खान्छन्,’ गिरीले भनिन्।
व्रत छिन्ने अनि मात्र हिँड्ने
धेरै नेपाली टन्न खाएर सुत्छन् अनि बिहान उठेर भोको पेटमा मर्निङ वाकमा निस्कछन्। यसरी खालिपेट हिँड्नु कसरत होइन, बरु रोगलाई निम्तो हो। डा. गिरीका अनुसार सुत्ने बेला एकदमै कम खाएर सुत्नु पर्छ। रातभर लामो समय केही नपरेको पेटमा बिहान केही खाएर मात्रै मर्निङवाक गर्दा वा काम गर्दा राम्रो हुन्छ।
बिहान उठेको एक घन्टाभित्र केही न केही खाइसक्नु पर्छ।
एकेचोटि धेरै खानुको साटो थोरैथोरै पटक-पटक खाइरहनु पर्छ। यसो गर्दा शरीरले पछिका लागि भनेर खाना साँचेर राख्दैन। बोसो बढ्दैन। दैनिक खाना सन्तुलित हिसाबले खानु पर्छ। एक प्लेटलाई तीन भागमा बाँडेर एक भागमा हल्का पाकेको तरकारी र बाँकी आधामा भात, अरु खानेकुरा हुनु पर्छ। हामी तरकारीभन्दा भात धेरै खान्छौं। तर तरकारी र भात बराबर खानुपर्छ। सके भातभन्दा तरकारी बढी खाएको राम्रो। गिरीले सुनाइन् – ब्रेकफास्ट राजाले जस्तो खानु पर्छ, लन्च सामान्य मानिसले जस्तो, अनि डिनर ‘माग्ने’को जस्तो (अत्यन्त थोरै खानपर्छ)।
बार्ने होइन, मिलाएर खाने
सुगर हुन नदिन र भइसके नियन्त्रण गर्न धेरै केही गर्नै पर्दैन। खानेबानी र जीवन शैलीले नै धेरै फरक पार्छ।
फतक्क पाकेकोभन्दा हल्का पाकेको तरकारी खानुपर्छ। थोरै पाकेको तरकारीमा सुगर थोरै प्रसोधित हुन्छ, यो शरीरका लागि राम्रो हो। विस्तारै अनि खाना चपाएर खानु पर्छ। दुई-दुई घन्टाको फरकमा खाइरहनु पर्छ।
छिटो-छिटो खायौं भने शरीरले खाना छैन रहेछ, त्यहि भएर हामीले छिटो-छिटो खाइरहेका छौं भन्ने बुज्छ र खानालाई बोसोमा पगालेर राख्न थाल्छ, अनिकालमा खानका लागि। त्यस्तै समयमा खाना नखाने र लामो अन्तरालमा खाने गर्दा पनि शरीरले के बुझ्छ भने — यो मानिसको खानको टुंगो छैन, त्यहि भएर पेटमा खाना आएको बेला बचाएर राख्नु पर्छ।
बिस्तारै खाने र ठिक समयमा खाने बित्तिकै, शरीरले खाना ‘स्टोर’ गर्न र बोसो बनाउन छोड्छ, स्वस्थ जीवन त्यहि बाट सुरू हुन्छ।
अनि आफूले खाए अनुसारको श्रम गर्न छोड्न हुन्न।
सुगर भइसकेका बिरामीले बार्नुपर्ने त्यस्तो केही छैन। मात्रा मिलाएर खानुपर्छ। टर्रो, अमिलो, अलिकति पाकेको फलफूल खाने, आँप, अंगुर खाँदा केही फरक पर्दैन। दूधको तर निकालेर खाँदा हुन्छ। सुत्ने बेलामा दुधमा काँचो बेसार मिसाएर खानु धेरै राम्रो।
सुगरको महामारीबाट बच्न नेपालीले खानेबानीमा ठूलो परिवर्तन गर्नुपर्ने डा. गिरीको सुझाव छ।
तर समस्या के छ भने, धेरै नेपाली रोग लागिसकेपछि समेत सचेत हुँदैनन्। थला परेपछि मात्र डाक्टर भेट्न जाने धेरै छन्। उनका अनुसार दक्षिण एसिया र नेपालमा सुगरका बिरामीको दिनदिनै बढ्दै छन्। ‘यही रफ्तारमा बिरामी बढे, १० वर्षमा संसारभरीका सुगर बिरामीमध्ये भारत वरिपरिमात्रै ९० प्रतिशत पुग्नेछ,’ उनले भनिन्।
विश्व स्वास्थ्य संगठनका अनुसार संसारमा अहिले ३८ करोडभन्दा बढी मानिसलाई सुगर भएको छ। यही रोगले हरेक ६ सेकेन्डमा एक जनाको ज्यान लिन्छ। सन् २०१३ मा मात्र विश्वमा सुगरका कारण ५१ लाख मानिसले ज्यान गुमाए। सन् २०३५ सम्म ५९ करोड मानिसलाई सुगरले सताउने उसको चेतावनी छ। कुनै एक क्षेत्रविशेष मात्र नभई सुगरका बिरामी संसारभरि नै बढिरहेका छन्। दक्षिण एसियामा यसको रफ्तार झन् बढी छ। तीमध्ये नेपाल पनि एक हो।
त्यसैले डा. गिरी आफूकहाँ आउने सबै बिरामीलाई लामै समय लगाएर सम्झाउँछिन्। ‘तपाईको रोग नियन्त्रण हुने-नहुने तपाईकै हातमा छ,’ बिरामीलाई गिरीको अन्तिम सुझाव थियो।
बिरामीले बुझेको संकेतमा टाउको हल्लाए। हामी उनको कोठाभित्र छिरेको डेढघन्टा बितिसकेको थियो। घडी हेर्दै गिरीले भनिन् – एकजना बिरामीलाई एक घन्टा त लागिहाल्छ।
डाक्टरले पनि राम्ररी नबुझाउने र बिरामीले पनि राम्ररी नसुन्ने हाम्रो ठुलो समस्या रहेको उनको अनुभव छ। –

Leave a Reply