Tuesday , October 17 2017
Breaking News

आमा नै भगवान हुन्

बाटोमा आमासँगै हिँडिरहेको बालक देख्दा आफ्नो बालापनको याद आउँछ । आमा मलाई त्यो मोटर किनिदिनु, आईसक्रिम खाने, गुडिया चाहियो भन्दै बालक रोइरहेको छ । कति रमाइलो बालापन !
हरेक आवश्यकता आँशुले पूरा गरिदिने त्यतिले भएन भने भुइँमा लडिबुडी खेलिदिए हुने । मेरा पनि त्यस्तै दिन थिए । जता जाँदा पनि आमाको साडी समातेर अघिपछि गरिरहन्थेँ । समयमा खान नपाए रोइदिए हुन्थ्यो । मन लागेको लगाउन नपाए चिच्याइदिए पुग्थ्यो ।
जन्मेदेखि सन्तानका हरेक इच्छा पूर्ति गर्नका लागि पर्ने आमालाई सम्झेर यी शब्द कोर्दै छु । आफूले खान लागेको गाँससमेत दिन पछि नपर्ने आमाको वर्णन जति गरे पनि अपूरै हुन्छ । ९ महिना कोखमा राखेर जन्माउँदाको असैह्य पीडासँगै सन्तान हुर्काउँदा खेपेको दुखलाई खेपेर बाँच्ने सृष्टिकर्ता हुन् आमा ।
आफ्ना सन्तानले जति गल्ति गरे पनि ती गल्तिलाई सच्याउन हौसला दिने पे्ररणाकी खानी हुन् आमा । हरेक आमाले आफ्नो सन्तानको दुःखमा आँशु बगाउँछिन् र खुसीमा हौसला प्रदान गर्छिन् । सबैभन्दा नजिकको मित्र नै आमा हुन् । हौसलाकी खानी, प्रेरणाकी स्रोत, माया र ममताकी सर्गम हुन् आमा ।
छोरो पाउने होडबाजीमा बर्सौटे छोरी जन्मिएर तिनै बहिनीको स्याहारमा बितेको मेरी आमाको बाल्यकाल दुखद् नै थियो । सानै उमेरको बिहे र गाउँबेसीको उकालो–ओरालो कहाँ सहज थियो र ! जागिरको सिलसिलामा घरदेखि टाढा रहेका लोग्ने र दिनहुँ सासू–ससूराको कचकच । २ वर्षको अन्तरालमा जन्मिएका २ सन्तान । एकतर्फ रुँदै गरेकी छोरी र अर्को र्फ काखमा दुध चुस्तै गरेको छोरो ।
दिनभरीको मेलापात र बेलुकीको घरायसी काम । कहिलेकाहीँ गुनासो पोख्छिन् आमा, म सुन्छु ती पीर ब्यथा अनि भविष्यमा धेरै पढेर आमालाई सुख दिने अभिलाषा मनमा सजाउँछु, ‘म छोरी पराईको घर जाने जात’ । अनि सोच्छु, मेरो पनि यस्तै कहानी हुनेछन् भोलि, भरिने छ दुःखहरुले पुस्तक ।
मेरी आमालाई पनि थियो होला सधैँभरी आफ्नी आमाको हेरचाह गरेर बस्ने रहर । तर लोग्नेको घर समाल्न, छोराछोरी हुर्काउन र घरको कामकाज गर्न नै ब्यस्त बनिन् उनी । लोग्ने र छोराछोरीको भविष्य राम्रो होस् भनेर प्रार्थना गर्दैमा खुसी लाग्छ उनलाई । कतिपय आफ्नै इच्छा–आकांक्षा थिए होलान् ।
आफूले पढ्न नपाए पनि आफ्ना सन्तानलाई पढेर ठूलो मान्छे बनेको सपना देख्ने इच्छा छ आमाको । कहिलेकाहीँ अल्छी लागेर नपढ्दा गाली गर्ने आमा देखेर रिस पनि उठ्थ्यो त्यसबेला । बेलाबेला सम्झाउने उनको बानी, सही मार्गमा हिँड्न हौसला दिने आमाको भूमिका साँच्चिकै अवर्णनीय छ ।
आमा मेरो जीवनकी पुस्तक हुन् । म त्यसैको पाना–पाना पढ्न उनको न्यानो काख छोडेर सहर आएकी छु । सहरमा देखिने हरेक आमा भन्दा फरक लाग्छ मलाई । फरक छ शिलस्वभाव, बोल्ने शैली, अनि हिँडाइको चाल । सहरका आमाहरुलाई सन्तान काखमा राखेर खेलाउने फुर्सद छैन । छोराछोरीको गतिविधि नियाल्न समय छैन । दुधे बालक केयर सेन्टरमा हुलेर सहरीया आमाहरु अचेल जागिर खान जान्छन् । यस्तो भ्रममा छैनन् मेरी आमा । यसर्थ पनि म भाग्यमानी ठान्नुपर्छ ।
मेरी आमा घण्टौंसम्म मेरा बेदनाहरु सुन्न सक्छिन्, जो अरु कसैले सुन्न सक्दैन । मेरा लागि घण्टौं उकालो हिँड्न सक्छिन् जो अरु कसैले हिँड्न सक्दैन । हरेक दिन फोन गरेर सन्चो बिसन्चोको ख्याल गर्छिन् । म भोकै सुत्दा उनलाई छट्पटी हुन्छ । म बाटोमा ठेस् लागेर लड्दा उनलाई दुख्छ । सायद यही हो मेरी आमाको महानता ।
मेला जाँदा दिएको खाजा पनि पटुकीमा पोको पारेर लिएर आउँछिन् उनी । घर आएपछि बराबर बाँड्छिन् छोरा–छोरीलाई । म आमाकी जेठी छोरी । म भन्दा सानो भाइ । उनले २ सन्तानबिच कहिल्यै विभेद गरिनन् । म पनि भाइजस्तै बोर्डिङ स्कुल नै पढेँ । आजसम्म उनले सकेसम्म केही कुराको कमी गराइनन् ।
आमाले दुख झेलेरै मलाई सुखमै हुर्काउने हरदम प्रयास गरिन् । अहिलेसम्म सुखमै राख्ने प्रयास गरेकी छिन् । भोली आमालाई सुख दिन सक्छु की सक्दिन भनेर पीर लाग्छ । उनले मेरा लागि देखेका सपना पूरा गर्न सक्छु की सक्दिन भनेर बाटोमा हिँड्दा–हिँड्दै रोकिन्छु कहिलेकाहीँ र सोच्न बाध्य हुन्छु उनका बारेमा ।
उनकै प्रेरणा र जीवनले मलाई सृजना लेख्न सिकाउँछ । समाज बुझ्न सिकाउँछ । चुनौतीको बिचमा पनि बाँच्न सिकाउँछ र संघर्ष गर्न पनि ।
कति दिन अरब पुगेका सन्तान सम्झेर आँशुका ढिका बगाउने आमाहरु धेरै छन् यहाँ । बुढेसकालमा सन्तानको अपहेलना सहेर बाँच्न विवश आमाहरुको लामो लहर छ यहाँ । ९ महिना कोखमा राखेर, दुधका लाम्टा नसुकेसम्म चुसाउने आमालाई बिर्सेर आफ्नो निजी जीवनमा रमाउनेहरु समय समयमा समाचारका पात्र बनेर आउँछन् ।
कठै ! भन्न मन लाग्छ ति निर्दयी सन्तान देखेर । सानो छँदा मुखले चपाएर खुवाएको खाना बिर्सिए उनीहरुले ? पहिलो अक्षर चिन्न सिकाएको बिर्सिए उनीहरुले ? ताते हिँड्न सिकाएको याद आउँदैन् उनीहरुलाई ?
वर्षमा एक दिन मात्र होईन सँधैभरी आमालाई सम्झनु । आदार, सम्मान र मायाले सम्झाई राख्नु उनको मायालाई । भगवान छन् भन्नेमा विश्वास लाग्दैन् मलाई । यदी छन् भने ती आमा नै हुन् । सायद, भगवान्लाई पनि आमाले नै जन्माएको हो । त्यसैले भगवान्ले पनि आमालाई ढोग्नुपर्छ ।

– sabitasapkota.com.np

Leave a Reply