Thursday , October 19 2017
Breaking News

नेपालको सार्वभौमिक स्वतन्त्रता खतरामा परेको भन्दै पुर्वराजाले दलहरुप्रति गरे गम्भीर प्रश्न

राजनीतिक दलले आफुसंग गरेको सहमति तोडेको पूर्वराजाले गरे यस्तो खुलासा

पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले प्रजातन्त्र र सार्वभौमिक स्वतन्त्रतामाथि खतरा देखिएको विश्लेषण गर्नु भएको छ। नयाँ वर्षको पूर्वसन्ध्यामा पूर्वराजा शाहले राजनीतिक क्षेत्र प्रतिको भरोसा न्यून हुन पुगेको र त्यसले देशको एकता र सवल राष्ट्रियतालाई नै दीर्घकालीन असर पुर्‍याउने त्रास थपेको बताउनु भएको छ।

नयाँ वर्ष २०७४ को उपलक्ष्यमा पूर्वराजाद्धारा जारी शुभकामना सन्देशमा जनताको चाहना वमोजिम शान्ति, स्थिरता र समृद्धिको मार्ग तय गर्ने दिशामा पटक पटक चुकेको अनुभूति जनताले गर्नु परिरहेको उल्लेख छ। पूर्वराजा शाहले ०६३ को जनआन्दोलनका वेला राजनीतिक दलकाबीचमा भएको सहमति तोडिएको स्मरण गराउँदै प्रजातान्त्रिक मूल्य, मान्यता र मर्म प्रतिकुल व्यवहार राजनीतिक तहबाट भएको बताउनु भएको छ।

‘२०६३ सालमा जन चाहनालाई विचार गरी राजनीतिक दलका नेताहरुसंग बनेको सहमति अनूसार संसद पुन:स्थापना गरिंदा राजनीतिक संकट अन्त्य भई मुलुकमा शान्ति, स्थायित्व र समृद्धिको द्वार खुल्ने अपेक्षा हामी सबैले राखेका थियौं । संसद पुन:स्थापनापछि पूर्वसहमति प्रतिकुल निर्णय हुँदै जाँदा पनि हामी सबैले देशको भविष्य र जनताको हितलाई केन्द्र विन्दूमा राखी मौनतापूर्वक साथ दिएका हौं,’ पूर्वराजा शाहको शुभकामना सन्देशमा भनिएको छ,‘यस अवधिमा कार्यपालिका,न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलन असन्तुलित भएको र विश्वमा प्रचलित प्रजातान्त्रिक मुल्य, मान्यता र मर्म प्रतिकुल व्यवहार राजनीतिक तहमा प्रकट भएको पाइन्छ।’

हिमाल, पहाड र तराई नै नेपालको विश्व परिचय भएको वास्तविकतालाई आत्मसात गरी तदअनुरुप व्यवहार गर्न नसक्दा नेपाली नेपालीबीच अविश्वास, अनेकता र आशंका उत्पन्न हुने स्थिति पैदा भएको स्मरण गराउँदै शुभकामना सन्देशमा सनातन धर्म र निष्ठामा आधारित जीवन मुल्यलाई क्षतविक्षत तुल्याउन भएका दृश्य अदृश्य चालवाजीका कारण सामाजिक जीवन आकुल व्याकुल बन्न पुगेको र यसबाट देशको प्रजातन्त्र र सार्वभौमिक स्वतन्त्रतामाथि समेत खतरा देखिन थालेको उल्लेख छ।

राष्ट्र समृद्ध बनाउनमा मुख्य योगदान पुर्‍याउन सक्ने जनशक्तिको पलायन अत्यास लाग्दो किसिमबाट बढिरहेको जानकारी गराउँदै पूर्व राजा शाहले महाभूकम्प र बाढी पहिरोका कारण घरवास विहीन हुन पुगेका जनतालाई अनूभुत हुने स्तरको सहारा दिने कार्य हुन नसकेको शुभकामना सन्देशमा उल्लेख छ।

‘राजनीतिक तहमा भएका अनगिन्ति संवाद र सहमति जनसमस्या समाधानमूखी नभएर राजनीति केन्दित हुन पुगेको देखिन्छ। राजनीतिक क्षेत्रप्रतिको भरोसा न्यून हुँदा त्यसले अन्तत देशको एकता र सबल राष्ट्रियतालाई नै दीर्घकालीन असर पुर्‍याउने त्रास थपेको छ,’ शुभकामना सन्देशमा भनिएको छ । शान्ति, समृद्ध, सुरक्षित,सवल एवं अखण्ड नेपाल, गरिवी एवं अभावमुक्त नेपाल, हरेक नेपालीले आफूलाई नेपाली हुँ भनी गर्व गर्न सक्ने नेपालको चाहना पूर्वराजा शाहबाट व्यक्त भएको छ।

सन्देशमा देश विदेशमा रहे बसेका समस्त नेपालीहरुमा सुख, शान्ति तथा समुन्नतीका लागि शुभकामना व्यक्त गरिएको छ। सन्देशमा केहि जिज्ञासासहित भनिएको छ,‘अतितका कतिपय आदर्शलाई जीवन्त राख्दै आगतलाई अझ चहक बनाउदै लैजानु समयको माग हो। विगत ११ वर्ष के कसरी विते? यो अवधिमा के के भए? यस अवधिमा तमाम नेपाली दिदी वहिनी दाजुभाइहरुको सामाजिक, आर्थिक तथा नागरिक हक हितमा के कति सुधार आयो? देशको अखण्डता, एकता एवं सार्वभौम स्वतन्त्रतामाथि आंच नपुगोस् त्यो यतिखेर सोचनीय विषय हो।’

अन्नपूर्णपोस्टबाट

३१ चैत्र २०७३

Leave a Reply