Monday , October 23 2017
Breaking News

मलेसियामा लुटिएको कुमारत्व

जीवन देवान गाउँले

यतिबेला प्लेन मलेसियाको जमीनमा उभिएको छ, अर्थात केएलआइए एयरपोर्टमा छ अनि काठमाण्डौका लागि उडान भर्ने अन्तिम तयारी गर्दैछ । र, मचाहिँ बोडिङ्ग पासमा तोकिएको सिट च्यापेर ढुक्कले बसेको छु । प्लेनको नाम बताइदिउँ ? त्यो आफै थाहा पाउनुहुनेछ ।‘सिटबेल्ट बाँध्नुस ।’ -को निर्देशनसँगै प्लेनले भुई छाड्दै आकाशिँदैछ भने भर्खरै छाडेको जमीन सानो, अलि सानो, अनि सानो हुदै दृश्य-ओझेल हुदैछ । प्लेनले भुई छाडेको केही बेरमै म देखिरहेको छु,- आफ्नै टाउको सीधा माथि पिलिक्क बलिरहेको (सिटबेल्ट बाँधीराख्नु नपर्ने) सांकेतिक बत्ति र त्यो संकेतसँगै चुरीफुरी गरिरहेका एयर होष्टेजहरु । मलाई बोध हुन्छ,- ‘अव भने प्लेनले लिनुपर्ने उचाई लिएर आकाशको गती पक्डियो ।’

खोल्दा हुने भएपछि कम्बरमा कसिएको सिटबेल्ट खोल्छु । ओठमा मुस्कुराहट पोतेर वाम टावल टक्राउन ट्रे तेस्र्याउदै हाजिर हुन्छे परिचारिका । ती परिचारिकाको मुस्कुराहटलाई म यहाँ उसको सार्वजानिक र औपचारीक सिष्टचार भन्न उपयुक्त ठान्दछु । आफ्नो अगिल्तिर तेर्साएको ट्रे बाट एक पिस वाम टावल लिन्छु र अनुहारमा रगेड्न थाल्छु । त्यो वाम टावलले अनुहार पुछेर फ्रेस हुन पाउँदा नपाउँदै सुन्छु,- ‘वियर पाउँदैन दिदी ?’

‘पाउँछ, पहिला फ्रेस त हुनुहोस्’ भनिराखेर परिचारिका वाम टावल सर्भ गर्न ब्यस्त देखिन्छे । लगत्तै वियर सोध्नेको अर्को उत्कण्ठ अभिलाषा चोटिलो गरी कानमा पर्छ- ‘आज झ्याप हुने गरी टन्न दिने हो ।’‘हो त ! त्यतिको पैसा तिरेको छ ।’ प्लेनभित्र वियर पिउने अर्को उकण्ठ आवाज पनि सुनिन्छ । त्यो सही थप्ने पनि उसकै सिट पाट्नर हुन्छ ।

ती यात्रुहरुको संवादबाट प्रष्ट हुन्छ कि राष्ट्रभक्तिले ओतप्रोत भएर उनीहरु राष्ट्रिय ध्वजाबाहक जहाजमा यात्रा गरिरहेका छैनन् । छन् भने एउटै कारण छ, त्यो हो सुलभ फेयरमा पेय पदार्थको सुविधा । उसो त मार्केटिङ्ग एजेन्टहरु नै राष्ट्रिय कम्पनी र राष्ट्रको नागरिक विचमा हुनु पर्ने सम्बन्धको महत्वबोध गराउनु भन्दा बढी यस्तै बिलासिताका सुबिधालाई प्राथमिकतामा राखेर टिकट बिक्री गरिरहेका हुन्छन् ।

संवादहरुले तत्क्षणलाई मेरो ध्यान खिचे पनि अव म आफ्नै छेवको सिटमा धुम्म अनुहार लाएर गजधम्म बसेको अधवैसे तिर केन्द्रित भएको छु । ऊ झ्यालपट्टीको सिटमा छ र घरिघरि झ्याल बाहिरको दृश्य चिहाएजस्तो गर्छ ।

प्लेनले भुई छोड्नु केही समय अगाडिदेखि नै कुम जोडिएको हामी प्लेनले आकासको गति पक्डिसक्दा पनि कुम मात्रै जोडिएको अवस्थामा छौं । हामीवीच औपचारिक या अनौपचारिक त्यस्तो कुनै किसिमको बातचित भएको छैन । बस् ! हलचल हुँदा कुम ठोक्किन्छ र आँखा जुध्छ । अधअधबैंसेमसँग बोल्दैन/बोल्न चाहदैन । त्यसो त मैले पनि बोलाएको छैन/बोल्न चाहेको छैन ।

‘म नै अघि सरेर किन बोल्ने ? -आधाबैसेलाई लागेको हुनुपर्छ ।’ -भित्री मनले उसलाई घमण्डी बनाइदिन्छु ।

प्लेन बाहिरको वातावरणमा भुकभुके उज्यालो हुँदै गएको देखिँदो छ । अधबैंसेघरि झ्यालबाहिर दृष्टि लगाउँछ र एकोहोरिन्छ । घरि टाउभन्दा सीधा माथिको बत्ति हेर्छ र एकोहोरिन्छ । घरि सीधा अगाडि हेर्छ र एकोहोरिन्छ । झ्यालबाहिर दृष्टि लगाएर एकोहोरिएको बेला म पनि उसको कुमभन्दा माथिल्लो भागबाट बाहिर दृष्टि हुत्याउछु । देख्छु – समुन्द्रको लहरमा रगतपिच्छे कलिलो सूर्य कोक्रो हल्लाईमा सुतिरहेको । त्यो दृश्यले म रोमाञ्चित हुन्छु । कुत्कुतिन्छु । उताउलीन्छु । समुन्द्री सतहमा देखिएको उदाउदो सूर्यको छायाँ-दृश्यले म भित्र पारेको प्रभाव अधबैंसेले त्यतिबेला चाल पाउँछ जब दुबैहात कसेर जोर तिख्रामा चेप्दै आवाज निकाल्छु,- ‘आहा…!’

अधबैंसेकुनै तन्द्राबाट ध्यान भंग भए जस्तो गरी आँखा जुधाउछ । ‘ओभर एक्साईटेट भएछु !’ चिच्याइसकेपछि मलाई ख्याल हुन्छ र बोल्न बाध्य हुन्छ- ‘सरी ।’

‘ईच ओके’ अधबैंसे यसो भन्दैन । क्रोधित पनि हुदैन । बरु मुस्किलले एलाष्टिक मुस्कान दिन्छ र पुनः झ्याल बाहिर चिहाउन मुन्टो घुमाउछ ।

‘ड्रिङ्स के लिनु हुन्छ ?’ परिचारिका देखा पर्छे । तिनी पहिला वाम टावल सर्भ गर्ने हैन अर्कै हुन्छे । उ पहिलाकीले जसरी नै मुखभरीको जागीरे मुस्कान पोख्दै सोध्छे,- ‘चिया, कफि, जुस…?’

‘कफि ।’ म रोज्छु र अधबैंसेलाई कोट्याउँदै ड्रिङ्स सर्भ गर्न आएको संकेत दिन्छु । उ अर्डर गर्नै पर्ने जस्तो गरी बोल्छ,- ‘चिया ।’

हाम्रो अर्डर मुताबिक सर्भ गरेर परिचारिका ट्रली अघि बढाउँछे । म आफ्नो कफीको कप उठाउँदै ‘शुरु गरौ’-को संकेत दिन्छु । अधबैंसेमेरो आँखामा एकचोटी पुलुक्क हेर्छ र चियाको सुर्को लगाउन सुरु गर्छ । उसको एकोहोरिनेक्रम चिया पिउँदा पनि जारी रहन्छ । अर्थात, म जे जति ख्याल गर्छु, उसको सबै ब्यवहारमा एकोहोरोपन मात्रै भेट्छु ।

मान्छेहरु अनौठो हुन्छन् -स्वभावले । त्यस्तो स्वभावको मान्छेसँग अघि सरेर बोल्नु समस्या निम्त्याउनु जतिकै हो । तर अधबैंसे स्वभावले अनौठो लागिरहेको थिएन मलाई । अनौठो लागेको भनेको उसको ब्यावहार हो । मेरो अनुभवमा त्यस्तो ब्यवहार मान्छेले तव गर्छ जव उसलाई ठुलै संकट आईलाग्छ । हो ! यही विन्दुमा आईपुगेर अधबैंसेलाई बित्थामा घमण्डी बनाएँछु भनेर पछुतो मान्छु । ‘अव मैले उ सँग बोल्नु पर्छ । कुरा गर्नु पर्छ । र, यदी उसलाई संकट नै परेको भए पनि कारण जान्नु पर्छ ।’ -मनैबाट निर्णय लिन्छु ।

‘पिउन्जेल मात्तै त यो चियाको स्वाद पनि स्वादिलो हुदो रहेछ नि !’ -कुरो कहाबाट शुरु गरैां ? कसरी शुरु गरौ ? भनेर बहाना खोजिरहेकै बेला अधबैंसेको फतफत मेरो कानमा पर्छ, ।

अधबैंसेको आवाजसँगै म आफूलाई सतर्क बनाउछु । उसको बोलीसँगै आफ्नो ध्यान पनि उ पट्टी खिच्छु र उत्सुकताको कान थाप्छु । उ रित्तो कप हातमा खेलाउदै बोली रहेको हुन्छ,- ‘रितिए पछि त स्वाद कि मिठो कि तितो सम्झना बनेर रहने रहेछ, ठ्याक्कै जिन्दगीको एउटा पाटो जस्तो ।’

‘सही विश्लेषण ।’ निसास्सिएको बस्तुले निकास भेट्टाएजस्तो गरी मेरो कुराहरु आधाबैसेको सामुन्य फुत्तफुत्त निस्किन थाल्छ,- ‘साथी केही क्षण अघिसम्म हामी मलेसियामा थियैां । अव केही समयमै हामी नेपालमा हुनेछौ र मलेसियामा विताएका हरेक पलहरु एउटा सम्झना मात्र हुँदै जानेछ ।’

चिया, कफी सँगै हामी औपचारिक चिनपर्ची पनि सक्छौ ।

‘साथी ! के म पागल जस्तो देखिन्छु ?’ मैले साथी भन्देपछि उ पनि सोही सम्बोधन गर्दै सोच्दै नसोचेको सवाल गर्छ र मलाई नै संकटमा पार्छ । उसको ब्यवहार त मलाई अनौठो लागेकै हो । उसले गर्ने हरेक कृयाकलापमा पागलपनको लक्षण देखेको हुँ तर उ पागल नै हुनसक्छ भन्ने ठम्याई थिईन । म अक्क न बक्क हुन्छु ।

‘यसको खुस्कियो, बौलायो, -भन्नेहरुले ठिकै भनेका रहेछन् । प्लेन भित्र पसे देखि नै तिमीले पनि मलाई धेरै विचार गर्‍यौ । तिमीलाई पनि त्यस्तै नै लागेको रहेछ ।’ भनेर अधबैंसेआफ्नै अनुहारमा अलकत्र छेप्न खोज्छ । र, निधौरो स्वरमा बोल्छ,- ‘तर पागल हुईन भन्नेमा म दृढ छु ।’

‘म अधबैंसेप्रति केन्द्रित भएर उसको गतिविधी नियाली रहेछु, जसको आभाष उसलाई छैन ।’- मलाई लागेको थियो तर म भ्रममा रहेछु । आधाबैसे ममाथि आफूले गरेको निगरानी छताछुल्ल परिदिन्छ । ‘मैले अरु कसैमाथि नजर राख्दा, अरु कसैले म माथि पनि नजर राखी राखेको हुन्छ’ भन्ने शुद्धि नभएकोमा मलाई लज्जाबोध हुन्छ र लाजले मुख रातो पार्दै बोल्छु,- ‘साथी ! मैले त्यस्तो अशुभ सोचेको छुइँन, खाली तिम्रो ब्यवहार अनौठो लागेको मात्रै हो । सायद म गलत छुइँन भने तिमी कुनै संकटमा चाहिँ पक्कै छौ ।’

‘मटन, चिकेन के लिनु हुन्छ ?’ अधबैंसेको आवाजलाई पछार्ने गरी नारी स्वर फेरि कानमा पर्छ । उस्तै मुस्कानका साथ उसैगरी परिचारिका खाना सर्भ गर्न सामुन्यमा उभिएकी हुन्छे ।

‘मटन-राईस ।’ – अधाबैंसे र म एकै स्वर निकाल्छैां ।

हामीले खानाको डब्बा एकैसाथ खोल्छौं र सादा खाना, करीको लेदोमा डुबेको मटनको टुक्रा, सलाद, मेवाको सानो कुड्को माथि प्लाष्टिकको काँटा चम्चा कुदाउन थाल्छांै । आधाबैसेको भन्दा पनि मेरो हात छिटो छिटो चल्न थाल्छ ।

‘साथी ! मेरो विगतको कहानी पनि यही मेवाबाट शुरु हुन्छ ।’ -अधाबैसेको आवाजले चल्दाचल्दैको मेरो हात स्थिर हुन्छ । खाना चवाउँदै गरेको दाँत टक्क अडिन्छ । म उतिर फर्किन्छु । देख्छु – प्लाष्टिको काँटामा उनिएको मेवाको कुड्को उसको हातले उचालीरहेको । अधबैंसे बिस्तृतमा बग्न थाल्छ । म एक-श्रोता भएर सुन्दै जान्छु ।

‘म जुन अफिसमा काम गर्थे, त्यही अफिसको पछाडि सानो कोठामा बस्थे । भनैां न मेरो होष्टल भन्नु त्यही सानो कोठा थियो । अफिसको दाँयापट्टी अलिसान बंगला थियो । मैले काम गर्ने अफिस घर र त्यो बंगला अलग गराउनलाई एकफिट चौडा पर्खाल साँध बनेर डेढमान्छे उचाइमा उभिएको थियो । हो, त्यही अलिसान बंगलाको बगैंचामा उमि्रएर साँधको पर्खालमा ढेपिदै उभिएको मेवाको बोटले सधै मेरो मन खिच्थ्यो । म आँखा लाउथे । विहान काममा जाँदा पाक्न लागेको मेवा एकपटक गन्ती गर्थें र थुक निल्दै डिउटीमा जान्थें । पाकुँला-पाकुँला अवस्थामा विहान देखी छाडेको मेवा बाह्र घण्टे डिउटी सकेर फर्किँदा बोटबाटै हराइसकेको हुन्थ्यो र अमिलो मुख बनाउँदै कोठा पस्थेँ । यो क्रम करिव दुई बर्ष चलिसकेको थियो । ती दुई बर्षमा लोभी नजरले अनगिन्ती पटक मैले मेवाको बोटलाई हेरेको थिएँ । कहिले त लाग्थ्यो, हात लामो गरौं, दुईचारवटा टिपुँ र धितमरुन्जेल खाऊँ । तत्कालै ‘पाक्न लागेको मेवाको निगरानी ती बंगलाका मान्छेहरुले पनि त गरी राखेका होलान नि !’ ठान्थें र लम्किसकेको हात बाँधेर टोलाउथेँ । मेवा फुल्थ्यो, फल्थ्यो, पाक्थ्यो र हराउथ्यो ।’

‘एकदिन अचम्मै भयो । विहान डिउटी जाने क्रममा सोच्दै नसोचेको दृश्य देखा पर्‍यो । मेरो मनलाई लोभ्याउँदै पाक्ने मेवाको बोट भाँचिएर अफिसघरको छानोमा कुच्च्रुक्क परेको थियो भने एकफिटे चौडाइको पर्खालले चाँही दह्रो गरी उभिएर काँध दिइरहेको थियो । अफिस खुलेपछि रिपोर्ट गरें । अफिसले कम्ल्पेन गर्‍यो । केही समय पछि एकजना नाङ्गो खुकुरी टल्काउँदै आयो । उसको पछि पछि बाल्टी बोकेर मेवा बटुल्न अर्की केटी आई । केटी देखेपछि मेरो आँखा चम्चमाउन थाल्यो । केटीको रुप भन्दा बैंसको सुन्दरतामा लठ्ठीदै थिएँ म । मेरो मनोदशा बुझेकी केटी पनि घरिघरि आँखा सन्काउँदै मेवा बटुलबाटुल गर्न थाली । खुकुरी बोकेर आउने मान्छेले मेवाको बोट कुड्का कुड्का पार्दै फालीसकेपछि उनीहरु हाम्रो अफिसको कम्पाउन्डबाट बाहिरिए । बाहिरिने क्रममा मेवाले भरिएको बाल्टी सकी नसकी बोकेकी केटीको हातमा सबैको आँखा छलेर कागजको चिट्करा थमाइदिएँ र भने,- ‘कल मी, ओके !’

‘त्यसपछि के भयो ?’ -स्रोता म जिज्ञासु नजरले अधबैंसेलाई हेर्छु । अधबैसे पनि अतीतलाई वर्तमानमा उतारेर रोमान्चित हुदै गएको देख्छु । उत्तिकै उत्साहले उ प्रवाहित हुन्छ- ‘त्यसपछि ! केही मिनेटको अन्तरालपछि नै मेरो मोवाईल बज्यो । हेरें नयाँ नंम्बर डिस्प्ले भइरहेको थियो । रिसिभ वटम दबाउन नपाउँदै रिङ बन्द भयो । उसैले गरी भन्नेमा म विश्वास्त थिएँ र तुरुन्तै कल ब्याक गरें ।’

‘सरी ! नो क्रेडिट लाह् ।’ उताबाट मलायु टङमा लाडिएको स्वर आयो । मैले पनि भाषा मलायुमा नै जवाफ फर्काएँ । भने,- ‘केही छैन । बरु तिम्रो नाम भनन !’

‘नाडिया ।’ उसले यो पनि भनी,- ‘कल मी डीया ।’ र, अंग्रेजी भाषाको पनि दख्खल भएको संकेत गर्न खोजी,- ‘आई एम इन्डोन ।’

‘नाईस नेम ।’ मैले पनि अंग्रेजी जान्दछु को संज्ञा दिएँ । र, भने- ‘तर, म तिमीलाई दीया भनेर बोलाउछु, हुन्छ ?’

‘दीया…?’ मैले दिएको नामलाई ठ्याक्कै उच्चारण गर्न सकिन । उसले आनाकानीको अ.अ.अ.निकाली ।

‘डीया र दीया लगभग उच्चारणमा उस्ताउस्तै सुनिने शब्द(नाम) हो । तर, दीया उच्चारण गर्दा म खाट्टी नेपालीपन पाउँछु ।’ भनेर भन्दिए पछि उसले मुस्किलले बोली,- ‘बोलेह ।’

उसको सहमतिले आफूलाई चरम खुशी महसुस गराएको ढोँगी लवजमा मैले भने,- ‘दीया ! मलाई तिमी राम्री लाग्यौ ।’

‘तीपु ।’ मेरो बोली भुईमा खस्न नपाउदै जवाफ फर्काई ।’

‘मेरो आँखाले जस्तो देख्यो, त्यस्तै भनेको ।’ मैले ठुङ्न छाडिँन,- ‘कति बर्ष कि भयौ ?’

‘नाङ्गो आँखाले देखेर के गर्नु ? मनको आँखाले देखे पो पत्याउनु पनि !’ -फुसफुसाए पनि सुनोस् भनेर चाही कटाक्ष कसी,- ‘छोरी मान्छेको उमेर र लोग्ने मान्छेको जागिर नसोध्नु भन्ने उक्ति तिम्रो देशमा छैन कि क्या हो ?’

हामीले जस्तो उक्तिको प्रयोग ईन्डोनहरु पनि गर्दा रहेछन् -चाल पाएर म खित्का छाड्न के लागेको थिएँ, चोटिलो आवाजमा दियाले सोधी,- ‘यु फष्ट ?’

‘रबी । नेपाली हुँ ।’ पनि भन्दिएँ ।

‘भाषा(मलायु) राम्रो बोल्दा रहेछौ ।’ ऊ पनि उकास्न माहिर रहिछे । सोधी,- ‘मलायु गर्लफ्रेण्ड छ हो ?’

‘भए तिमीलाई किन लाईन मार्थे ?’ मैले आफूलाई सफेद देखाई दिएँ ।

‘पान्डाई यु ।’- उसले फोन काटी । एकछिन पछि म्यासेज पठाई, -‘सरी अहिले म धेरै बिजी छु । पछि मिस कल गर्छु अनि कल गर्नु ।’

‘ओके, म तिम्रो मिस कलको प्रतिक्षामा हुन्छु ।’- मैले रिप्लाई गरे ।

मैले खानाको डब्बा रित्याइसकेको थिएँ । अधबैंसेको चाही जुँठो लाको अवस्था मै थियो । खाना खाँदै कुरो गर्न आग्रह गरे,- ‘साथी ! पहिलो फोन वार्तालाप निकै रोमान्टिक भएछ नि ! उसो त विदेशी केटीहरु खुलेर कुरा गर्न सक्ने हुन्छन है ?’

‘हो, दीया त झन फर्साईली पनि थिई ।’ अधबैंसेले आफ्नो कथा जोड्न थाल्यो,- ‘पहिलो पटक फोन कुरा भए पछि उसको आवाजको झन्कार कानैभरि गुन्जायमान भै रह्यो र मन ! सिमल-भुवा बनेर पुग्थ्यो अनि उसैको शरीरको खास अंगमा अल्झिएर पिङ खेल्थ्यो ।’

उसको मिसकलको प्रतिक्षाले राति दश बजेसम्म ब्यग्र बनायो । त्यसविचमा मैले केही म्यासेज पठाईसकेको थिएँ । बल्लबल्ल उसको मिसकल आयो । मैले हतपत कल गर्दै चिप्लो घसे,- ‘दीया ! आज मलाई बल्ल थाहा भयो म पोखरीको माछा थिएछु जुन माछालाई तिमीले पोखरीबाट निकाल्यौ र बालुवामा मिल्काएर गयौ । तिमीलाई मेरो छटपटिको के वास्ता र ?’

‘मेवासँग माछा पनि अल्झिएर आउछ भन्ने मलाई के थाहा त ? तिमी जस्तो चिप्लो माछा पनि छ भन्ने जानकारी भएको भए म बाल्टीको सट्टा ढडिया लिएर आउथे, मेवाको सट्टा माछा कोच्थे र यो घरभित्र हुल्थे अनि प्यारभरी पानीको पोखरीमा छाडिदिन्थेँ । अव यसमा मेरो के कसुर ?’ मैले घसेको चिल्लोमा दीयाले मलाई नै चिप्ल्याई दिई । म पनि के कम ! भन्दिएँ,- ‘दीया ! खुशीको कुरा मैले थुक निल्दै हेर्ने गरेको मेवाको बोट धन्न ढल्यो र एउटा रहस्य पर्दाफास भयो । यदि मेवाको बोट नढलेको भए एउटी परी मेरै आसपासमा भएको रहस्य थाहै हुने थिएन ।’

‘त्यही भएर फेरी र्‍याल चुहाउदै छौ ।’ दीयाले गील्ला गरी,- ‘मेवा हेरेको जस्तै हेरेको हेरेकै हुनुपर्ला ।’

‘तिमी कुरो गर्न खप्पिस रहेछौ ।’ मैले सक्दो भावुकताको राग अलाप्ने प्रयास गरे,- ‘दीया ! सिरीयस्ली म तिमीलाई मन पराउछु ।’

‘तिमीले मनपराउनुको कारण बुझे । मेरो छुट्टी छैन । गुड नाईट ।’ भनी राखेर दीयाले फोन काटी ।

मैले बुझे, मन पराउनुलाई दीयाले शारिरिक भोग भन्ने अथ्र्याई । त्यसपछि मैले तीनचार पटक लगतार कल गरे तर उसले रिसिभ गरीन । मैले मनपराउनुको कारणहरु प्रष्ट्याउदै म्यासेज लेखे र लेखे ‘गुड नाईट’ अनि सेन्ड गरे । विहान ब्युझदा मोवाईलको म्यासेजबक्समा एउटा म्यासेज देखा पर्‍यो । म्यासेज सेन्डर दीया थिई । उकुस मुकुस उत्साह बोकेर ओपन गरे र पढे,- ‘रबी ! सरी म भुसुक्कै निदाएछु । तिमी मलाई साच्चि नै मन पराउछौ भने मैले भन्नै पर्छ म मुस्लीम हुँ । हाम्रो धर्म नै मिल्दैन त्यसमाथि तिमी कुन देशको म कुन देशको ।’

‘म जान्दछु, तिमी मुस्लिम मात्रै हैन मानव पनि हौ । म बुझ्छु, हाम्रो धर्म मिल्दैन तर मन मिल्छ । साँचो त के हो भने धर्म, भुगोल जस्ता कुराहरु हेरेर प्रेम गरिदैन । प्रेमलाई यो र त्यो भनेर सीमान्तकृत पनि गरिँदैन । प्रेमको धर्म भन्नु विश्वास र भरोसा हो । प्रेमको भूगोल भन्नु हृदयको क्षेत्रफल हो ।’ -जस्ता शब्दहरुको चारो खिलेर बल्सी फाँले मैले पनि । मैले फालेको बल्सीमा दीया उनिई । मैले बल्छी बिस्तारै आफुतिर खिच्दै लगे । मोवाईलमा म्यासेजको थाक लाग्दै गयो । फोन कुराकानी बढ्दै गयो । हामी दिन दोगुना रात चौगुणा प्रेमको सागरमा डुब्दै तैरदै गयौ । छुट्टी छैन भन्ने दीया कुनै न कुनै बहाना बनाएर महिनाको एकदिन बाहिर निस्केर मसँग डेटिङ्ग गर्न थाली । दीया डेटिङ्गमा निस्कन थाले पछि हामी शरीरभोगी बेसी भयौं । मेरो स्वार्थले सार्थकता पाउन थाल्यो र त्यही प्रेमलाई धितो राखेर मैले उसको शरिरसँग खेली छाडेँ ।’

‘ईन्डोन केटीहरु सेक्सका हिलो हुन् र त्यो हिलोमा धेरै नेपालीहरु डुबेका छन् ।’ -भन्ने हल्ला त्यतिकै नेपालसम्म पुगेको हैन रै’छ । रवीले आफ्नो भोगाई सुनाई रहदा त्यस कुराको थप पुष्टि हुदै थियो ।

‘धेरै नेपाली डुबेको हिलोमा म मात्र एक्लो कमल भएर फुल्न सकिँन । हो, म त्यो हिलोमा भासिदै गएँ । जुन स्वार्थले मैले दीया सँग सम्बन्ध स्थापित गरेको थिएँ, त्यो स्वार्थ प्राप्त गर्न म सफल भएँ । तर मेरो स्वार्थले मलाई त्यो गहिराइमा पुर्‍याइसकेको थियो, जहाबाट फर्किनु लगभग असम्भव थियो । तब पो मलाई महसुस भयो कि स्त्री भावनासँग खेल्नु बराबर समुन्द्रमा डुबुल्की हाल्नु हो । जसरी किनारमा खेल्ने अज्ञानीहरुलाई समुन्द्रले गहिराइतिर खिच्दै लान्छ ।’ बोल्लाबोल्दै अधबैंसेको बोली पानीबिनाको गहिरो ईनारको पीँधबाट आएको आवाज जस्तो सुनियो,- ‘साथी ! पहिलोपल्ट गरिएको शारीरिक सहवासले जीवनमा अकल्पनीय प्रभाव पार्दोरहेछ रहेछ । मैले कुमारत्व सँगसँगै आफ्नो प्रेम पनि लुटाएँछु ।’

सुदुर भविश्यको खोजीमा लाखैा नेपालीहरु मलेसियाको माटोमा भाग्य अर्जापी रहेका छन् । यस क्रममा जीवन गुमाउनेहरुको दर्दनाक कहानीदेखि दुःख पाउनेको पीडासम्मका कथाहरु सुनेको हुँ । क्षणिक यौनको मस्तीमा डुबेर खाली हात नेपाल फर्किनेको कहानीदेखि घरजम गर्ने नाममा जीवन लुटाउनेहरुको कथा सुनेको हुँ । तर, कुमारत्व गुमाउनेको कथा म पहिलोपल्ट सुनिरहेको छु । म सोच्न बाध्य हुन्छु,- यसरी कुमारत्व लुटाउँदै कति नेपाली कुमारहरु घरवार बिर्षेर मलेसियामा अल्मलिदै होलान् ?

‘बहलाउने बस्तु भेटेपछि मन बहकिँदो रहेछ । दीयासँगको प्रेम र सम्पर्कले म यति बहकिँए कि हम्मेसी मन फर्किएर घर-परिवारसम्म पुग्दैनथ्यो । त्यतिबेलै थाहा भो मायाजालले मान्छेलाई यथार्थ धरातलबाट बहकाएर भावनात्मक उडान गराउँदो रहेछ । मलेसिया हाम्रा लागि निश्चित अवधिको हो, समय पुगेपछि दीयाले उसको देश जानुपर्छ र मैले मेरो देश फिर्नु पर्छ भन्ने यथार्थ भुलेर म उड्दै गएँ । लाग्थ्यो,- यसै गरि उड्दै जानुमा त छ जिन्दगी । तर…!’ बोल्दाबोल्दै अधबैंसेको बोली अड्कियो ।

‘एक रात म निदाउनै लागेको थिएँ । दीयाले कल गरी ।’ केही समयपछि ढल्पलाउँदै गरेको आँशुलाई आँखाको डिलमै किचिमिची पारेर अधवैसेले रहस्योद्घाटन गर्न खोज्यो,- ‘भनी, अहिले नै तिमीलाई भेट्नुछ । जसरी हुन्छ, कम्पाउण्डको पछिल्लो भागतिरको पर्खालमा त्यतापटिबाट भर्‍याङ लगाऊ । म तिमीलाई भेट्न आउँछु ।’

‘रात-बिरात, अझ भनैा ज्यानकै जोखिम मोलेर त्यसरी अपहत्ये गरी भेट्नुपर्ने जरुरी के पर्‍यो ?’ मैले सोध्नै पाइँन । दीयाले नै भनी,- ‘रबी ! तिम्रो जागिर दाउमा राखी रा’छु, भन्ने थाहा छ । तर, मसँग अर्को विकल्प छैन । यदि तिमीले त्यो हिम्मत गर्न सकेनौ भने सम्भवत हाम्रो भेट हुने छैन ।’

‘कस्तो अपहत्ये !-लाग्दालाग्दै पनि दीयाप्रतिको माया उर्लिएर आपतका डरहरु हुत्याई लग्यो । उसले भनेको ठाउँमा भर्‍याङ लगाइदिएर मैले सहासी प्रेमीको प्रमाण पेश गरेँ । दीया मेरो कोठामा आई र मेरो काखमा घोप्टिएर घुक्घुकाउन थाली ।

‘किन त्यसरी आतिएकी ? त्यस्तो के अनिष्ट आइलाग्यो हाम्रो प्रेममा ?’ जलमग्न आँखामा आँखा जुधाएर मैले सोधें ।

दीयाले मेरो जिज्ञासु आँखामा आँखा जुधाइराख्न सकिन । र, च्याप्पा अंगालो हाली । आँखामा चुम्बन गरी । गालामा चुम्बन गरी । ओठमा चुम्बन गरी । अनि ओठ कपाउँदै थरथराउँदो आवाज निकाली,- ‘रवी ! तिम्रो हरेक अंगअंगमा म समाविष्ट हुन चाहन्छु ।’

मैले मौन स्वीकृति स्वरुप आँखा चिम्लिएँ । दीयाले फेरि उही उपक्रम दोहोर्‍याई । मैले साथ दिदै गएँ । अर्थात, दीयाको जलमग्न नयनलाई चुम्दै चुम्बनको बर्षा बर्षाउन थालेँ । जव मेरो ओठले दीयाको ओठलाई चुम्यो, त्यही मौकामा उसले मादकता पिलाई दिई र जोड-जोडले अंगालोमा कस्दै मलाई मदहोस बनाई ।

मुटु बेतोडले उफ्रिरहेको थियो । जनेन्द्रीयहरु जर्‍याक जुरुक जुर्मुराउन थालिसकेका थिए । इन्द्रीय नियन्त्रण बाहिर जाँदै थिए । सायद ! मलाई मभित्रको भालेपनले गाँज्न थालिसकेको थियो । म भाले सवार हुँदै गएँ । हुन सक्छ दीयामा पनि पोथीपनले गाँज्यो र त कुनै नाईनास्ती गरिन । केही क्षणका लागि हाम्रा शरीरका यन्त्रहरु मस्तिष्कको काबु बाहिर पुगे ।

यसरी हुने बेहोसीपनले कतिन्जेल पो गाँजिराख्न सक्छ र ? होसमा आइयो, ग्लानी अनुभुत भो । मज्जा लुटेपछि नमज्जा मान्नुले कुनै अर्थ राख्दैनथ्यो । तर, मैले नमज्जा व्यक्त गरे । त्यसरी फाइदा उठाएकोमा पछुतो पनि माने । धन्न दीयाले सहज रुपमा लिई र सम्हालिँदै भनी,- ‘रवी ! साया बालेक काम्पुङ, एसोक ।’

‘आपा !’ विद्युत प्रवाह भैरहेको बिजुलीको नाङ्गो तार समाते जस्तो झंन्कार शरिरभरि फैलियो । शिथिल शरीर झन शिथिल भयो ।

‘हो, बोसले अहिले भर्खर टिकट देखाउँदै भोलिको फ्लाईट भनेको छ ।’ दीया कुन हिम्मतले बोल्न सकी कुन्नी ! बोल्दै थिई,- ‘रवी ! वास्तवमा हाम्रो प्रेमको अन्त्य यसरी नै हुनुथियो । हाम्रो सम्बन्धलाई यहाँ भन्दा अगाडि बढाउन सक्दैन थियैा । एक छिनको सहयात्रालाई हामीले जीवनभरको ठान्नु नै भ्रम थियो ।’

‘के कारण पर्‍यो त्यसरी अपर्झट फर्किनु पर्ने ? भ्रम मात्रै थियो भने त्यस्तो भ्रममा तिमी आफै किन पर्‍यौ ? के मलेसिया बसुन्जेलको समयका लागि तिम्रो देह भोगचलन गर्ने खेताला मात्र थिएँ म ?’ -मनमा लागेर पनि सोधिँन । बोली निस्के पो सोध्नु !

चुपचाप नबोलेरै दीयालाई भर्‍याङ लगाएको पर्खालसम्म छाड्न गएँ । दीयाले चाल मारेर पर्खाल नाघी र ओझेल भई । भोलिपल्ट बिहान डिउटीमा बसिरहेको समयमा दीयाले कल गरी र भनी,- ‘रवी ! म हिँड्न लागेको । विदा गर्दैनौ ?’

‘ओके ।’ भनेर म रोडमा निस्किएँ । एकछिन पछि दीयाले काम गर्ने बंगलोको गेटबाट टोयोटा गाडी फुत्त निस्कियो र मलाई क्रस गरेर गयो । दीयाको अनुहार मैले झुलुक्क देखेँ।

त्यहीबेला,

‘उ हिमाल !’ चोर औंला ताकेर कोही नेपालको आकासमाथि प्लेन प्रवेश गरेको संकेत गर्छ । र, त्यो आवाजमा मिसिएर अन्य खल्याङ-बल्याङ सुरु हुन्छ । एकप्रकारले प्लेनभित्रको वातावरण उल्लासमय नै हुन्छ ।

म झ्यालबाट बाहिर आँखा लाउँछु । देख्छु – परपर सेता-सेता बादलका पेटीकोट बेरेका हिमाल । लाग्छ, हाम्रा स्वागतका लागि हिमाल मुस्कुराउदैछ । अनि, लाग्छ सकुशल देश फर्किएर आउनेहरुलाई देख्दा हिमाल खुशी छ ।

‘साथी हाम्रो हिमालले हामीलाई स्वागत गरिरहेको छ, उ हेर त !’ म हिमाल देखाएर अधबैंसेलाई नेपाल प्रवेश गराउन खोज्छु । तर, उसमा त्यस्तो कुनै उत्साहित कौतुहलता प्रकट हुँदैन । मलाई विश्वास भयो – ‘तनमात्रै लिएर आउनेलाई आफ्नो माटोको सौन्दर्यले नखिच्दो रहेछ ।’

साच्ची नै रवीको अनुहारमा खुशीका धर्साहरु देखिएनन् । बरु मलेसिया छाड्नुपर्ने बाध्यता बारे मलाई प्रष्ट पार्न भन्दै गयो,- ‘मलाई मलेसियामा छाडीराखेर उ त गई, तर मेरो सिंगै मन आफूसितै लगी । मणी हराएको सर्प कस्तो हुन्छ ? हो, हृदय हरण भएपछि म त्यस्तै भएँ । दीयासँग बिताएका समय-भूतले मलाई रातोदिन लखेटिरहन्थ्यो । र मैले मलेसिया छाड्ने निर्णय गरेँ ।’

मलाई भने अधवैसेको कुराले भन्दा आफ्नै माटोको सुगन्धले खिच्दै थियो । मनले त त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मेरो आगमन कुरिरहेका आफन्तलाई भेटिसकेको थियो । हवाई जहाज भन्दा पनि द्रुत गतिमा उड्दो रहेछ मन,पत्याउदै थिएँ । यति हुँदाहुँदै पनि अधवैसेको कुरा सुन्न कानलाई चाही फुर्सद थियो ।

म सुनिरहेको थिएँ,- आफ्नो देश फर्किएको एक महिनापछि दीयाले कल गरी । सन्चो बिसन्चो सोधी । अन्तमा भनी, मेरो महिनावारी रोकियो । भर्खर चेकअप गराएर घर फर्केको । गर्भ बसेको पक्का भयो । म तिम्रो बच्चाको आमा बन्ने भएँ ।’

‘मेरो बच्चा !’ खुशी र विष्मत मिसिएको सुस्केरा मबाट फुस्कियो । चट्याङले श्रवणशक्ति क्षीण बनाएजस्तो कानभित्र टि…को आवाजमा मधुरो गरी दीयालाई सुने -धत् तेरिका !

– सुचनाकेन्द्र

Leave a Reply