Tuesday , August 22 2017
Breaking News

नेपालकै चर्चित योगा थेरापिस्ट पन्त बेलायतमा, विभिन्न स्थानमा प्रशिक्षणको कार्यक्रम

लण्डन । अन्तर्राष्ट्रिय क्षेत्रमा समेत कुशल योगा प्रशिक्षकको छवि बनाएका योगा थेरापिस्ट तथा स्पोर्ट्स ट्रेनर पुस्कर राज पन्त बेलायत आएका छन् ।

एबरडिन विश्वविद्यालय र अर्गानाइजेसन अफ नेप्लिज कल्चर एण्ड वेलफेयरको निमन्त्रणामा योगा प्रशिक्षणका लागि पन्त अहिले स्कटल्याण्डमा छन् ।

यहि अप्रिल ७, ८ र ९ तारिखका दिन एबरडिन विश्वविद्यालयमा प्रशिक्षक पन्तले ‘बडि डिडक्टीफिकेसन’ (शरीर शुद्धिकरण) सम्बन्धी कार्यशाला सञ्चालन गर्नेछन् । जहाँ सयौंको संख्यामा स्थानीय नेपाली र विश्वविद्यालयका कर्मचारी, विद्यार्थी लगायतको सहभागिता रहनेछ ।

सन् २००५ देखि नै योगा प्रशिक्षण गराउँदै आएका पन्तले सन् २०१० मा भारतको हरिद्धारस्थित पतञ्जली योगापीठबाट अन्तर्राष्ट्रिय तहको एड्भान्स योगा प्रशिक्षकको तालिम पूरा गरेका थिए । सन् २००६ मा स्थापित स्पोर्टस् प्रमोसन अर्गानाइजेसन अफ नेपालमा अध्यक्ष रहेका पन्त योगा र खेलकुदको माध्यमबाट विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वस्थ राख्ने अभियानमा लागेका छन् ।

विभिन्न मुलुकमा पुगेर प्रशिक्षक पन्तले योगा तथा स्पोर्टससम्बन्धी कार्यशाला, प्रशिक्षण सञ्चालन गरिसकेका छन् । सन् २०१० मा स्कटल्याण्डको एबरडिन विश्वविद्यालयमा कार्यशाला सञ्चालन गरेका पन्तले सन् २०११ मा अमेरिकन कलेज अफ स्पोर्ट्स मेडिसिनले कोलोराडोमा आयोजना गरेको सम्मेलनमा खेलाडीको क्षमतामा योगाको प्रभावकारिताको विषयमा आफैले गरेको रिसर्चको रिपोर्ट प्रस्तुत गरेका थिए ।

पन्तले सन् २०१५ मा जर्मनीको बर्लिनमा कसरी खेलकुदका माध्यमबाट प्राकृतिक प्रकोपको प्रभावबाट मुक्त हुने भन्ने विषयमा कार्यशाला चलाएका थिए । सन् २०१६ मा अष्ट्रियाको भियानामा सम्पन्न नवौं युरोपियन पब्लिक हेल्थ कन्फरेन्समा समेत पन्तले प्रिजेन्टेसन गरेका थिए ।

यसअघि बक्सिंग, करांते र वेट लिफ्टििंगका कुशल खेलाडी हुन् पन्त । उनी वि सं २०४८ देखि ५१ सम्म वेटलिफ्टििंग तथा वि सं २०५२, ५३, ५५ र ५९ मा चारपटक बक्सिंगको राष्ट्रिय च्याम्पियन बनेका थिए । सन् २००२ मा विभिन्न २१ देशका खेलाडी सहभागी करांते प्रतियोगितामा पन्त दोस्रो भएका थिए ।

काठमाडौंस्थित बाग्मति स्कुल र भारतीय दूतावासभित्रको केन्द्रीय विद्यालयमा योगा तथा स्पोर्टस शिक्षकका रुपमा कार्यरत पन्तले अन्य विभिन्न स्कुल, कलेज तथा कार्यशालाहरुमा समेत प्रशिक्षण गराउँदै आएका छन् ।

एक महिना लामो बेलायत बसाइका क्रममा पन्तले यहांस्थित नेपाली खेलाडीहरुलाई पनि प्रशिक्षण गराउनेछन् । त्यसबाहेक लण्डनसहित बेलायतका विभिन्न स्थानस्थित नेपाली समुदायमा योगा र खेलकुदको माध्यमबाट कसरी स्वस्थ जिवन हासिल गर्ने भन्ने विषयमा प्रशिक्षण गराउँदैछन् ।

फाइल फोटोहरु :

स्रोत : नेपालीपत्र 

Leave a Reply