Tuesday , February 20 2018
Breaking News

‘हामी नबसेको भए भारतले जमिन कब्जा गरिसक्थ्यो’

महेन्द्रनगरः ७२ वर्षीय खेमलाल गौतम २०२७ सालमा बागलुङबाट कञ्चनपुर झरे । सुरुमा जंगल रहेको कञ्चनपुरको पुनर्वास क्षेत्रमा घाँस काट्ने काम गरेका उनी पछि त्यहीँ रहेको चार कट्ठा जग्गामा घर बनाएर बसे ।समाचार अन्नपूर्णपोस्ट बाट लिईएको।

भारतसँग सीमा जोडिएको ऐलानी चार कट्ठा जग्गामा उनको परिवारले कष्टकर जीवन बितायो । सीमा क्षेत्रमा रहेको नेपाली भूमिमा पटकपटक भारतीय पक्षले मिच्ने प्रयास गथ्र्यो तर सीमा क्षेत्रमा बस्ती बनाएर मानिसहरू बस्न थालेपछि भारतले सीमा मिच्न सकेन । बस्ती बसाउने बेला पनि भारतीय पक्षले निकै दुःख दिएको उनी सम्झन्छन् ।

ऐलानी जमिनमा बसेर सीमा रक्षा गर्दागर्दै फागुन २६ गते उनले माइलो छोरो गोविन्द गौतमलाई गुमाउनुपर्‍र्यो । ‘छोरो त बितेर गयो, अब फर्केएर आउँदैन’, उनले भने, ‘ऐलानी जमिनमै बसेर सीमा रक्षा गर्दै आएका नागरिकका विषयमा सरकारले ध्यान दिनुपर्छ’, उनले भने ।

खेमलाल गौतम मात्रै होइन थुप्रै मानिस बर्सौदेखि ऐलानी जमिनमा बसेर जीविकोपार्जन गर्दै आएका छन् । उनले ज्यानको आहुति दिएर भए पनि नेपाली भूमिमा भारतीयको हस्तक्षेप हुन नदिने बताए । पुनर्वासको बिसपट्टादेखि आनन्द बजारसम्म ऐलानी बस्ती छ । त्यहाँ अहिलेसम्म नापीसमेत गरिएको छैन ।

‘सीमामा बसेर हामीले आफ्नो भूमिको रक्षा गरिरहेका छौं’, पुनर्वास ८ कै रामबहादुर जिसीले भने, ‘सीमामा बस्ती नभएको हुँदो हो त भारतले यो भूभाग कब्जा गरी सक्थ्यो’ । उनले सीमा क्षेत्रको व्यवस्थित रूपले सर्भे गरेर ऐलानी बस्तीमा बसेका नागरिकलाई लालपुर्जा दिनुपर्ने बताए । त्यहाँ २०२८ सालदेखि बस्ती बस्न थालेको उनले बताए । अहिलेसम्म फिल्ड बुक कायम गर्नसमेत सरकारी निकाय नआएको स्थानीय बताउँछन् ।

छोरो त बितेर गयो, अब फर्केएर आउँदैन । ऐलानी जमिनमै बसेर सीमा रक्षा गर्दै आएका नागरिकका विषयमा सरकारले ध्यान दिनुपर्छ ।
खेमलाल गौतम, सहिद गोविन्द गौतमका पिता

‘सुरुमा केही घर परिवार मात्रै थियौं’, उनले बस्ती बस्दाको अनुभव सुनाउँदै भने, ‘जंगलमा रोग ब्याधीको पनि त्यस्तै डर थियो । थोरै परिवार बस्दा भारतीयले केही समय त निकै दुःख दिए ।’ उनले उक्त क्षेत्रका तीन सय घरपरिवारसँग जमिनको लालपुर्जा नभएको बताए । सुकुमबासी समस्या समाधान आयोग गठन हुँदा लगत राख्ने काम भए पनि अहिलेसम्म कुनै टुंगो नलागेको त्यस क्षेत्रका स्थानीय बताउँछन् ।

‘पहिलेदेखि नै पटकपटक भारतले भूमि मिच्न खोज्थ्यो’, स्थानीय खड्गबहादुर थापाले भने, ‘दुवैतिरका प्रशासन बसेर मेलमिलाप हुन्थ्यो तर फागुन २६ गते भने नसोचेको घटना भयो’ । गत साता आनन्द बजारनजिकै नेपाली पक्षले कल्भर्ट राख्ने विषयमा विवाद बढ्दै गएपछि भारतीय पक्षले चलाएको गोली लागेर गोविन्द गौतमको ज्यान गएको थियो ।

जमिन ऐलानी भएकै कारणले स्थानीयले खरिद बिक्री तथा अन्य कुनै पनि काम गर्न पाएका छैनन् । ‘सरकारले ऐलानी जमिनका विषयमा ध्यान दिएर काम गर्नुपथ्र्यो’, थापाले भने, ‘हामी बसेर सीमा जोगिएको छ, नत्र भारतले अतिक्रमण गरेर लगिसक्थ्यो ।’ उनले ऐलानी जमिनको समस्या समाधान गरेर उक्त क्षेत्रको सीमा व्यवस्थित बनाइनुपर्ने बताए ।

सहिद गोविन्द गौतमका परिवारलाई राहत दिन पुगेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग उनीहरूले ऐलानी भूभागको लालपुर्जा उपलब्ध गराउने विषयमा पहल गरिदिन आग्रह गरे । बिसपट्टादेखि आनन्द बजारबाहेक अन्य सीमावर्ती नेपाली बस्तीका मानिसले भने लालपुर्जा पाएका छन् । पुनर्वास नगरपालिकाका सबइन्जिनियर लालमन तामाङले सीमावर्ती बस्ती ऐलानी रहेको बताए । उनले सरकारी निकायबाट ऐलानी जमिनमा बसोबास गर्ने नागरिकलाई लालपुर्जा दिनुपर्ने बताए ।  >> प्रकाशित मिति :चैत २० आइतबार-२०७३ 

Leave a Reply