Monday , December 11 2017
Breaking News

आफ्नै मान्छेबाट डराउनुपर्ने कस्तो असुरक्षित समय हो यो ?

आफ्नै मान्छेबाट डराउनुपर्ने कस्तो असुरक्षित समय हो यो ? श्रीमान्ले श्रीमतीको, प्रेमीले प्रेमिकाको, छोराले बाउको, साथीले साथीको ज्यान लिने घटना बढिरहेका छन् । सामान्य भनाभन, मसिना विवाद, शंका, अविश्वास आदिका कारण आफ्नैले आफ्नैलाई सिध्याइरहेका छन् । नागरिक न्युजका गोपाल दाहाल र अनिल यादवले अपराधको क्रूर दृश्य प्रस्तुत गरेका छन् ।

भावनाले मान्छेलाई नजिक बनाउँछ । भावनाकै कारण कोसौँ टाढाको मान्छेसँग मित्रता हुन्छ, प्रेम हुन्छ, घरजम हुन्छ । आफ्ना प्रिय मान्छेका लागि मान्छेहरू ज्यानै दिन्छन् । तर, अहिले आफ्नैबाट डराउनुपर्ने अवस्था आएको छ । श्रीमान्ले श्रीमती, छोराले बाबु, साथीले साथी, प्रेमीले प्रेमिका अर्थात् आफ्नैले आफ्नैलाई मारिरहेका छन् । महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौँका कर्तव्य ज्यानसम्बन्धी पिलरका प्रमुख डीएसपी दीपक रेग्मी भन्छन्, ‘ठूलो विषय चाँहिदैन । सामान्य भनाभन, शंका–उपशंका, लेनदेन लगायतका विषयलाई लिएर मान्छेहरू आफ्नै निकटका मान्छेहरूको हत्या गरिरहेका छन् ।’

श्रीमानबाट श्रीमतीको हत्या
गत सोमवार देशैभरि होलीको रमझम थियो । धरान, किरातचोककी ३२ वर्षीया पविला राई पनि साथीहरूसँग होली खेल्न गइन् । होली खेलेर फर्किंदा रात प¥यो । १२ दिनअघि मात्र विदेशबाट फर्किएका उनका श्रीमान् रेखराज पनि होली खेलेर आएका थिए । दुवै जनाले मदिरा पिएका थिए । उनीहरूबीच भनाभन भयो । रेखराजले आवेगमा आएर ढोकामा लगाउने आग्लो पविलाको टाउकोमा बजारे । उनकोे मृत्यु भयो ।
छिमेकीहरूका अनुसार विदेशबाट फर्किएका रेखराजले पविलालाई बाहिर हिँड्दा शंकाको नजरले हेर्थे । पहिलादेखि नै उनले पविलालाई परपुरुषसँग सम्बन्ध राखेको भन्दै झगडा गर्थे । त्यही शंकाले गर्दा उनिहरूबीचको सम्बन्ध बेलाबेला चिसिन्थ्यो ।
२०७२ असोज १ गते धनकुटा नगरपालिका ८ चाम्जिबुङका ३६ वर्षीय रश्तबहादुर राईले १५ दिनकी सुत्केरी श्रीमती शान्ति लिम्बू राईको निर्मम तरिकाले हत्या गरे । रश्तबहादुर छोरा चाहन्थे ।श्रीमतीले तीन छोरी जन्माइन् । १५ दिनको शिशुसँगै ओछ्यानमा सुतिरहेकी शान्तिलाई ओछ्यानबाट घिसार्दै दलानमा झारे । त्यसपछि दाउराले टाउकोमा प्रहार गरे । शान्ति उठेर चिच्याउँदै भागिन् । रश्तले दाउराले हानेर शान्तिको आँखा फुटाइदिए । त्यसपछि उनका लुगा च्यातेर निर्वस्त्र पारे । अनि, घाँटी थिचेर हत्या गरे ।  तीन छोरी सहाराविहीन भएपछि अहिले उनीहरूलाई आफन्तले पालेका छन् ।

गत जेठ ३ गतेको घटना हो । झापाको बिर्तामोड निवासी ३३ वर्षीय दीपक अग्रवालले २५ वर्षीया श्रीमती ज्योतिको घाँटी थिचेर हत्या गरे । प्रहरीका अनुसार उनीहरूबीच बेलाबेला घरायसी विवाद भइरहन्थ्यो ।
केही समयअघि सुनसरीको मधेसामा आमाछोरीको हत्या भयो । २४ वर्षीया आमा टीका पौडेल र तीन वर्षीया छोरी आशिका नउठेपछि छिमेकीले खोजी गर्दा उनीहरू मृत फेला परे । आमालाई घरमा नै झुन्ड्याएर मारेको अवस्थामा र छोरीको टाउको हिलोमा गाडेको अवस्थामा शव भेटियो । उनीहरूको हत्याको आरोपमा प्रहरीले टीकाका श्रीमान् र कान्छी श्रीमतीलाई पक्राउ ग¥यो ।

समाजशास्त्रका प्राध्यापक विशाल श्रेष्ठ क्षणिक आक्रोशका कारण अपराधिक घटना बढिरहेको टिप्पणी गर्छन् । भन्छन्, ‘यसमा परिवर्तनशील समाज, हरेक कुरामा छिटो प्रभावित हुने घरपरिवार बढी जिम्मेवार छन् ।  सामान्य विवादले आक्रोश र आक्रोशले हिंसाको रूप लिइरहेको छ ।’

शंकाकै आधारमा हत्या
धरान– १७, सुनौलो मार्गका चक्रबहादुर लिम्बूले श्रीमती विमला लिम्बूलाई परपुरुषसँग सम्बन्ध रहेको शंकाकै आधारमा हत्या गरे । झापा, कन्काईका उमानाथ गहतराजले चाहिँ आफूले चाहेको बेला यौन सम्बन्ध राख्न नदिएको झोकमा श्रीमती मञ्जुलाई मारे ।
यसरी हत्या हुनेमा सबैभन्दा धेरै श्रीमान्ले श्रीमती मारेका घटना देखिन्छन् । ‘विशेष गरी, वैदेशिक रोजगारीबाट फर्केका श्रीमान्ले आफ्नी श्रीमती अरूसँग लागेको आरोपमा हत्या गर्ने गरेका छन्,’ क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक सन्तोष निरौला भन्छन्, ‘सामाजिक सञ्जालबाट बढेको सम्बन्ध पनि हत्याको कारणका रूपमा देखिएको छ ।’

बाबुलाई छुरा रोप्ने छोरा  
धरान– १५, पतञ्जलिमार्गका अटलराज कार्कीको घरबाट इन्भर्टर हरायो । घरमा बत्ती बाल्दै आएको इन्भर्टर हराएपछि कार्कीले छोरा साइमनलाई सोधखोज गरे ।गत माघ १६ गते त्यही निउँमा बाबुछोराबीच भनाभन चल्दै थियो । २२ वर्षीय साइमन आक्रोशित भए । उनले आफ्ना ४५ वर्षीय बाबुको पेट र छातीमा छुरा प्रहार गरे । जथाभावी छुरा हानेर साइमन भागे । रक्ताम्य भएका अटलराजलाई आफन्त र छिमेकीले हतारहतार अस्पताल पु¥याए तर उनी बाँचेनन् । बाबुको हत्या गरेर भागेका साइमनलाई भोलिपल्ट प्रहरीले पक्राउ ग¥यो । सामान्य विवादमा आवेगमा आएर आफ्नै बुबाको हत्या गरेका साइमन अहिले जेलजीवन बिताइरहेका छन् ।

प्रेमीबाटै हत्या

गत कात्तिक १३ गते महानगरीय प्रहरी अपराध महाशाखामा सिन्धुपाल्चोककी एलिसा नेपाली (सन्तोषी) हराएको निवेदन प¥यो । काठमाडौँ, बुढानीलकण्ठमा बस्दै आएकी उनको खोजीमा प्रहरी जुट्यो । त्यत्तिकैमा कार्तिक २० गते भक्तपुर मध्यमपुर ठिमीको मनोहरा खोला नजिककैको सडक किनारामा एउटा शव फेला प¥यो– बोरामा प्याक गरेको अवस्थामा । त्यो शव एलिसाको थियो । अनुसन्धान गर्दै जाँदा उनकै प्रेमी मुक्तिनाथ लामिछानेले उनको हत्या गरेको रहस्य खुल्यो । ‘एलिसाले मुक्तिनाथबाट ४० हजार रुपैयाँ लिएकी रहेछिन्,’ अपराध महाशाखाका डीएसपी दीपक रेग्मीले घटना विवरण सुनाए, ‘जेठबाट उनीहरू अफेयरमा रहेछन् । पूर्वप्रेमीसँग पनि एलिसा सम्पर्कमा रहेको कुरा मुक्तिनाथले थाहा पाएछन् । त्यसपछि उनीहरूबीच विवाद उत्पन्न भएछ । र, उनले एलिसालाई आग्लोले हिर्काएर मारेछन् र बोरामा पोको पारेर बाटोदेखि डेढ–दुई सय मिटर टाढा झाडीमा लगेर राखेछन् ।’ हाल मुक्तिनाथ कारागारमा सजाय भोगिरहेका छन् ।

प्रेमीका हातबाट ज्यान गुमाएका प्रेमिकाहरू थुप्रै छन् । ४८ वर्षीया राधिका थापा पनि यस्तै एक पात्र हुन् । दोलखा, बाबरेकी राधिकाको दोलखाकै राजन दाहालसँग चिनजान भएको तीन महिना पुगेको थियो । ३५ वर्षीय राजन ट्याक्सी चलाउँथे । राजन र राधिका एकदमै निकट थिए । राजनले नै राधिकालाई काठमाडौँ बोलाएर गणबहालको लुम्बिनी गेस्टहाउसमा राखेका थिए । गेस्टहाउसमा बसेको तीन दिन भएको थियो । असोज ११ गते बिहान ५ बजेतिर राधिकाको शव फेला प¥यो । प्रहरीका अनुसार राजनको दुइटी श्रीमती रहेको कुरा राधिकाले थाहा पाएपछि त्यही विषयबाट उनीहरूबीच विवाद उत्पन्न भएको थियो ।

लागुऔषधको नशामा हत्या
गत असोज २८ गते मोरङ, जामुनगाछीका १९ वर्षीय अंकित दाहाल भारतीय सीमा बजार जोगवनी गएर लागुऔषध सेवन गरे । नशामा लट्ठिएर आएका अंकितको भेट उनकै दैनिक भेट हुने साथीहरू विराटनगरकी फूलकुमारी उराव (टाइली ), युवराज परियार (डाइलर) , सुकदेव यादव (टिम्मा), सुरज यादव र सार्जन खरेल (हन्टर)सँग भयो । उनीहरू पनि नशामा मस्त थिए । लागुऔषध बिक्री गर्ने फूलकुमारीलाई अंकितले पहिले नै लागुऔषधका लागि पैसा दिएका थिए तर उनले भनेको समयमा लागुऔषध ल्याइनन् । त्यही विषयमा अंकित र फूलकुमारीबीच विवाद भयो । विवाद बढ्दै जाँदा फूलकुमारी र उनीसँगै रहेका अन्य साथीले उनलाई गाँजा तान्न भनेर धानखेतमा लगे । त्यसपछि उनकै हाफपाइन्टको तुनाले हातखुट्टा बाँधेर खुकुरी र छुरा प्रहार गरे ।

लागुऔषधको सुरमा फूलकुमारीले पहिला अंकितको घाँटी रेटिन्, त्यसपछि अरूले खुकुरी प्रहार गरेर उनको हत्या गरे । त्यसपछि उनको मोबाइलको सिम टुक्रा पारेर फ्याँके । कात्तिक १ गते धानखेतमा कुहिन थालेको अवस्थामा अंकितको शव फेला प¥यो । लागुऔषध र चोरी केसमा पटक–पटक पक्राउ परेका फूलकुमारी र उनका साथीहरू अहिले जेलमा छन् ।
साथीबाट साथीको हत्या
पाँचथरको रविबजारका युवा व्यवसायी दिनेश रेग्मी अघिल्लो वर्षको चैत १ गते घरबाट सप्तमी बजार जान तयार भए । उनकै साथी झापा लखनपुरका भीम घिमिरे घतानी भनिने मीनबहादुर विक रेग्मीलाई पु¥याउन गएका थिए ।
रेग्मी बेपत्ता भए । पछि उनको शव इलामको फएतम्पा–५ स्थित जंगलमा भेटियो । अनुसन्धानबाट थाहा भयो, उनको हत्या उनकै साथी विकको योजनामा भएको रहेछ । विक र रेग्मीबीच ४० लाख रुपैयाँ बराबरको सुनको कारोबार थियो । रेग्मीलाई रकम तिर्न नसक्ने स्थिति आएपछि विकले हत्याको योजना बनाएका थिए । विकले रेग्मीलाई जंगलसम्म मोटरसाइकलमा पु¥याए । विकले भाडामा प्रयोग गरेका मान्छेले रेग्मीलाई पछाडिबाट ह्यामरले हानेर लडाए । त्यसपछि खुकुरीले हत्या गरिएको पछि पक्राउ परेका विकले प्रहरीसमक्ष बयान दिए ।
ताप्लेजुङ साब्राखु सल्लेरीका ४५ वर्षीय पदम पन्धाक तेह्रथुम थोक्लुङस्थित सानीमाको घरमा बस्थे । त्यही गाउँमा उनका साथी थिए, ३३ वर्षीय रमेश कन्दङ्वा । पदम र रमेशको कुराकानी मिल्थ्यो । सँगै घाँसदाउरा गर्थे । एक दिन उनीहरू खानेपानीको पाइप मर्मत गर्न सँगै गएका थिए । सामान्य विषयमा उनीहरूबीच झगडा भयो । पदमले आफूले भिरेको खुकुरी निकालेर साथी रमेशको टाउकोमा प्रहार गरे । गम्भीर घाइते भएका रमेशको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भयो ।

गत साउन १५ गते बिहान ३ बजे धरान–१५, निराजनबस्तीका दीपक राई (चुचु) र उनकी श्रीमती अस्मिता राई (परियार) मस्त निद्रामा थिए । केही मान्छेहरू ढोकाको चुकुल खोलेर भित्र पसेको आवाजले उनीहरू ब्युँझिए । मोबाइलको टर्चलाइट बालेर भित्र पसेका उनीहरूले ओछ्यानमै रहेका दीपकलाई खुकुरी प्रहार गरेर हिँडे । दीपकलाई अस्पताल पु¥याइयो तर चिकित्सकले उनलाई मृत घोषणा गरिदिए । अस्मिताले दीपककै साथीहरूविरुद्ध किटानी जाहेरी दिइन् । प्रहरीले उनका साथी अपांग भनिने शक्ति बेघा लिम्बूलाई तत्कालै पक्राउ ग¥यो । उनको हत्या गर्नेहरूमा उनकै साथीहरू किशन कार्की, बिर्खे विक र दोर्जे तामाङ पनि थिए । उनीहरूबीच अघिल्लो साँझ मोटरसाइकल पार्किङको विषयमा सामान्य विवाद भएको थियो ।

आफ्नै छोरी हत्यारा
आफूले जन्माएकी छोरीले आफ्नै हत्याको योजना बुन्लिन् भन्ने माइला महर्जनले सायदै सोचेका थिए । तर, विडम्बना, उनकी छोरी संगीताले अंशबण्डाका लागि आफ्नो श्रीमान्सँग मिलेर आफ्नै बाबुको हत्या गराइन् । काठमाडौँ, टोखाकी संगीता (२०) ले नुवाकोटका सन्तोष पाण्डेसँग अन्तरजातीय विवाह गरेपछि परिवारसँग उनको खासै राम्रो सम्बन्ध थिएन । त्यही भएर संगीताले माइतीपट्टिबाट आफ्नो भागमा पर्ने अंश (करिब छ आना जमिन) लिन खोजेपछि बुबा र दाइसँग उनको विवाद सुरु भयो । त्यसपछि संगीताले अंश आफ्नो मुठीमा पार्नकै लागि बुबा र दाइलाई मार्ने योजना बुनिन् ।काठमाडौँ, बानियाँटार बस्दै आएका धादिङका विक्रम तामाङसँग २० लाख रुपैयाँमा उनले ‘मर्डरको डिल’ पक्का गरिन् । मार्ने योजना पनि बुनियो । घर नजिककै मन्दिरमा मार्ने योजना थियो । बुबालाई कुरिरहेका हत्याराहरूले अर्कै मान्छे देखेपछि त्यो दिन त्यत्तिकै बित्यो । दोस्रो दिन पुनः संगीताले मिस्त्री काम गर्दै आएका आफ्ना बुबालाई ‘ठेक्कापट्टाको काम आएको छ’ भन्दै घरनजिकैको खोलाको चौरमा बोलाइन् । त्यसपछि विक्रमको नेतृत्वमा रहेको पाँचजना युवाको समूहले ४३ वर्षीय माइलाको हत्या ग¥यो । ‘संगीताको योजना बुबा र दाइ दुवैलाई मार्ने रहेछ,’ डीएसपी दीपक रेग्मीले भने, ‘तर, माइलालाई मार्नेबित्तिकै समूहका दुई जना अत्तालिएर फरार भएछन् । त्यसपछि दाइलाई मार्ने संगीताको योजना विफल भयो । हत्यामा संलग्न सबैजना हाल कारागारमा सजाय काटिरहेका छन् ।

पूर्वाञ्चलमा अभियान
प्रहरीको तथ्यांकअनुसार गत साउनदेखि फागुनसम्म पूर्वाञ्चलमा मात्र  ज्यान मार्ने उद्योगमा १ सय २२ घटना दर्ता भए । तीमध्ये धेरैजसो घटनामा आफन्त, चिनेजानेका र नजिककै मान्छे संलग्न थिए । आफ्नैबाट हत्या हुने त्यसमा पनि विशेष गरी श्रीमान्ले श्रीमती मार्ने घटना बढ्न थालेपछि प्रहरीले घरेलु हिंसा न्यूनीकरणका लागि पूर्वका १६ जिल्लामा अभियान सञ्चालन गरेको छ । प्रत्येक शहरमा पोस्टर÷ पम्प्लेट टाँसेर आफू असुरक्षित भएको महसुस गरे तुरुन्त प्रहरीलाई खबर गर्न भन्दै प्रहरीका नम्बरहरू सार्वजनिक गरिएको छ । त्यसबाहेक घरेलु हिंसा न्यूनीकरण गर्न सडक नाटक प्रदर्शन गर्ने गरिएको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक सन्तोष निरौला भन्छन्, ‘हत्याजस्तो जघन्य अपराध यसरी बढ्नुलाई सामान्य रूपमा लिनु हँुदैन । समाजले यस्ता घटनालाई सामान्य रूपमा लिन थाल्यो भने यो सबैभन्दा खतरनाक हुन्छ । बेलैमा समाज सचेत बन्नुपर्छ ।’

नागरिकन्युजबाट

Leave a Reply

%d bloggers like this: