पाँचथर समाज यूकेको बार्षिक भेटघाट कार्यक्रमले देश गाउँको इतिहास र संस्कृति सम्झना।।।

पाँचथर समाज यूकेको बार्षिक भेटघाट कार्यक्रमले देश, गाउँको इतिहास र संस्कृति सम्झना।

पाँचथर समाज सेवा यूकेले आफ्नो एघारौं बार्षिक भेटघाट कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । गत शनीबार जुन १६ का दिन फार्नबोरोका सामुअल कोडी स्कूल हलमा आयोजित कार्यक्रममा तीन सयभन्दा बढी उपस्थिति रहेको समाजका कोषाध्यक्ष कैलाश काम्बाङले जनाए ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदी आफ्नी धर्मपत्नी श्रीमती पूनम राज्यलक्ष्मी सुबेदीका साथ प्रमुख अतिथिको रुपमा सरिक थिए । त्यस्तै गैर–आवासीय नेपाली संघ बेलायतका अध्यक्ष योग कुमार फगामी र उपाध्यक्ष सुशिला राई, नेपाल आदिवासी जनजाति महासंघ बेलायतका उपाध्यक्ष लिला सेलिङ माबो, तेह्रथुम समाज यूकेका अध्यक्ष सूर्य खापुङ, धनकुटा समाज यूकेको अध्यक्ष पूर्ण फालेचुवा, धरान समाज यूकेको उपाध्यक्ष किरण लिम्बु, संखुवासभा समाज यूकेका महासचिब टेक बहादुर कुलुङ, भोजपूर समाज यूकेका सचिब रुम मुकारुङ र इलाम समाज यूकेको प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित थिए ।

अन्य आमन्त्रित अतिथिहरुमा एशियन महिला एशोसियसन यूकेको अध्यक्ष अमिता बेल्बासे, नेपाल पत्रकार महासंघ यूकेका उपाध्यक्ष बिमला सेने, याक्थुङ मांगेना चुम्लुङ यूकेका अध्यक्ष कमला लिम्बु, किराँत याक्थुङ चुम्लुङ यूकेका सल्लाहकार तथा समाजसेवी नर कुमारी लिम्बु र कियाचू यूके रशमूर शाखाका अध्यक्ष जीत मेन्याङबोको उपस्थिति रह्यो । कार्यक्रममा समाजका पूर्व अध्यक्षहरु सुवास जबेगु, नरवीर आङबो र सल्लाहकार तथा सेवारत गोर्खा मेजर चक्र बहादुर खत्री लगायत अन्य सल्लाहकारहरुका बाक्लो उपस्थिति थियो ।

एघारौं बार्षिक भेलालाई औपचारिक र साँस्कृतिक गरी दुई चरणमा बिभक्त गरी सम्पन्न गरियो । पहिलो चरणको कार्यक्रम महासचिब खुशी लिम्बु र दोश्रो चरणको कार्यक्रम उपाध्यक्ष शान्ति लिम्बुले सञ्चालन गरे । कार्यक्रमको शुरुमा उपाध्यक्ष यदुचन्द्र लावतीले स्वास्थ्य तथा सुरक्षा सम्बन्धि जानकारी र बरिस्ठ उपाध्यक्ष नगेन्द्र नेम्बाङले स्वागत मन्तब्य दिए ।

औपचारिक कार्यक्रमको दौरानमा गएको बर्ष शिक्षा, समाजसेवा, खेलकुद, साहित्य र अन्य बिभिन्न क्षेत्रमा सफलता हासिल गरेका सदस्यहरुलाई समाजले बिशेष सम्मान गर्यो । उनीहरुले अध्यक्ष चन्द्र सुन्दास र प्रमुख अतिथि राजदुत डा. दुर्गा बहादुर सुबेदीको हातबाट प्रमाणपत्र ग्रहण गरे । सम्मान पाउनेहरुमा जीसीएसई परीक्षमा उत्कृष्ट नतिजा ल्याउनेहरु निशाम काम्बाङ, जोआना सुहाङ, नेहा तावा लिम्बु, ब्याचलर्स डिग्री हासिल गर्नेहरु लिला सेलिङ माबो र हिमाङ चेम्जोङ अनि मास्टर्स डिग्री हासिल गर्ने उशा काम्बाङ र सुरज सुहाङ रहे । कला क्षेत्रमा सफलता हासिल गरेका सुवर्ण नेम्बाङ पनि सम्मानका हकदार भए । त्यस्तै पाँचथर कप सफलता पूर्वक संयोेजन गर्न बर्षौदेखि उल्लेख्य भूमिका निभाउँदै आएका समाजका पाँचथर कप संयोजक टेक माबो, नर माखिम, पूर्व सचिब खगेन्द्र लावती, भगिरथ जवेगु र अरुण जबेगु पनि कार्यक्रममा सम्मानित भए ।

समाजका सचिब प्रेम सुहाङले सञ्चालन गरेको उक्त सम्मान कार्यक्रममा पूर्वअध्यक्ष नरवीर आङबो र उनको कार्यसमिति (२०१४–१७० लाई पनि धन्यवाद ज्ञापन सहित विदाई गर्यो । उक्त अवसरमा अध्यक्ष श्री चन्द्र सुन्दास र समाजको महिला बिभागकी संयोजक श्रीमती नन्द कुमारी सुन्दासले संयुक्त रुपमा समाजको तर्फबाट श्रीमती पूनम सुबेदीलाई फूलको गुच्छा अर्पण गरी सम्मान प्रदान गरे ।

उक्त अवसरमा पाँचथर समाज सेवा यूकेले बिगतमा खलंगाटार माबि याङनामको खेलकुद र शैक्षिक बिकासका लागि १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेकोमा पाँचथरको साविकको याङनाम गाबिसको तर्फबाट समाजका पूर्वअध्यक्ष समेत रहेका सुवास जबेगुले पाँचथर समाज सेवा यूकेलाई एक बिशेष धन्यवाद पत्र प्रदान गरे ।

कार्यक्रमको बिशेष अतिथिको रुपमा बोल्दै एनआरएनए यूके अध्यक्ष योग कुमार फगामीले पाँचथर समाजले आयोजना गर्दैआएको पाँचथर कप होस् वा बार्षिक कार्यक्रममा गर्ने सम्मानले होस् शिक्षा, खेलकुद, कला र साहित्यको क्षेत्रमा उन्नति गर्दैआएका र गर्न चाहनेहरुलाई धेरै ठूलो प्रोत्साहन मिलेको बताए । त्यस्तै प्रमुख अतिथि डा. दुर्गा बहादुर सुबेदीले पाँचथर समाजको कार्यक्रमले हामीलाई गाउँको इतिहास र संस्कृति सम्झायो भन्दै बेलायतमा रहेका अन्य नेपाली संस्थाहरुले पनि यस्तै उदाहणीय कार्यहरु गरेको देख्न चाहेको सदिच्छा प्रकट गरे ।

उपाध्यक्ष शान्ति लिम्बुले सञ्चालन गरेको दोश्रो सत्रको साँस्कृतिक कार्यक्रममा दर्शकहरुले आकृति राई र रोशनी माबोको नृत्य अनि गोर्खालीहरुको खुकुरी नृत्यको रसस्वादन गरे । नेपालदेखि आएको नेपाल तारा दीपक लिम्बु र नेपाल तारा उपबिजेता तारा लक्समले पनि आफ्ना लोकप्रिय गीतहरु गाएर दर्शकहरुलाई नचाए । त्यस्तै एभरेस्ट आइडल सोनाहाङ राईले पनि बिभिन्न गीतहरु गाएर दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरे । आफ्नो कलाको प्रस्तुतिद्वारा कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै कलाकाहरुलाई समाजले प्रमाणपत्रले धन्यवाद र सम्मान प्रकट गर्यो ।

कार्यक्रमको दाश्रो चरमा सचिब टेक सुहाङले राफल ड्र कार्यक्रम सञ्चालन गरे । समाजका अध्यक्ष चन्द्र सुन्दासले कार्यक्रमको समापन गर्ने क्रममा बोल्दै एघारौं बार्षिक भेटघाट कार्यक्रम सफल बनाउन सहयोग गर्ने समाजका सबै सदस्यहरु, अतिथि गणहरु साथै सहकोषाध्यक्षहरु मित्र राई र बिष्णु सेरेङ लगायत कार्यसमितिका सबैलाई धन्यवाद ज्ञापन गरे । उनले भबिष्यमा पनि सोही स्तरको सहयोग र उपस्थितको अपेक्षा प्रकट गरे ।
धन्यवाद।