लाखौँको परिणामले दिनदिनै उड्छ्न् युवा खै कता !


शीर्षक पाठकको जिम्मा लाएँ

लाखौँको परिणामले दिनदिनै उड्छ्न् युवा खै कता
बाँझा खेत बुबा बुढो बखतमा खन्छन् दुखी भै यता ।
पत्नी योवन खेर फाल्न नसकी हिँड्छन् कुनै पोइल
यो मेरो घर रेमिटेन्स पिउनै तम्सिन्छ खोली दिल ।।

पुग्दा दूर दराजका घर युवा धुन्छन् जुठा बर्तन
छोडी पुत्र गयो भनी अनि मुमा रुन्छिन् दुखाई मन ।
साहूको ऋण तिर्नखातिर युवा पस्दै छ अष्ट्रेलिया
पैसा तिर्न पठाउँदा मुलुकका मोटाउँदै माफिया ।।

एक्लै बस्दछ दूरको शहरमा आशा कमाऊँ भनी
पूरा मास बिते लिई तलब ऊ बिर्सिन्छ माया गनी ।
पारी एक बिटो दिँदा घर मुमाबाबा र पत्नी पनि
मेरो देश बिचौलिया धन पुगे हुन्छन् मजाका धनी ।।

नेता धेर भए पुगेन भुँडीमा यो देश चुस्ने भए
मेरो भूमि मधेस आँगन कुनै बेचेर धुस्ने भए ।।
आमा रूप कुरूप भो दशगजा मिच्दा कसैले अति
लागी कोड हुने छ भन्छु म खुली छिट्टै त्यसैको खति ।।

मेरो गाउँ भयो उजाड किन खै पाखापखेरा छँदै
क्वैली,काग उडे अझै पनि यहाँ साना भँगेरा छँदै ।
लोभीले नभमा दिनादिन उडूँ भन्दै छ जैले यहाँ
आफ्नै आँगन खन्छु रोप्छु पसिना भन्दै छु मैले यहाँ ।।

© : धर्मानन्द भट्ट
रचना मिति : २०७५/०२/२७ गते ।