मालीका छोरा रोनाल्डो यसरी उदाए विश्व फुटबल जगतमा (भिडियोसहित)

फुटबल ११ जना खेलाडीहरु मिलेर संयुक्त रुपमा खेलिने भएपनि कहिलेकाँही क्रिष्टियानो रोनाल्डो एक्लैले विपक्षीका सबै खेलाडीहरुलाई छक्काईरहेका हुन्छन् । ब्यवशायिक फुटबलको क्षेत्रमा वान म्यान आर्मीको रुपमा खेल्ने भएकै कारण रोनाल्डो विश्वकै सर्वाधिक लोकप्रिय र धनाढ्य खेलाडीको रुपमा पनि रहेका छन् ।
ब्यवशायिक फुटबलको क्षेत्रमा धेरै सफलता हात पारेका रोनाल्डोको राष्ट्रिय टिममा रहेर गरिने प्रदर्शन भने प्राय: फितलो हुने गरेको छ । रोनाल्डोले आफ्नो पोर्चुगिज टिमलाई विश्वकपको फाइनल चरणमा पुर्‍याउनु भन्दा बढी कुनै किसिमको योगदान दिन सकेको देखिदैन । यसोत सन् २००६ मा जर्मनीले आयोजना गरेको विश्वकपमा पोर्चुगिज् टिमले चौथो स्थानमा चित्त बुझाएर घर फर्किएको थियो । यो सफलता पोर्चुगिज् टिमले सन् १९६६ मा ईंग्ल्याण्डले आयोजना गरेको विश्वकपमा पाएको तेस्रो स्थान भन्दा कम रहेकै थियो ।
क्रिष्टियानो रोनाल्डोको अगाडी अहिले रसिया विश्वकपमा आफ्नो खेल कलालाई विश्वसामु देखाउने अन्तिम अवसर आएको छ । सम्भवत: यो वल्र्डकप रोनाल्डोको अन्तिम वल्र्डकप भएको कारणले पनि उनले आफुलाई वल्र्डकपकै महान खेलाडीको रुपमा आफुलाई प्रस्तुत गर्ने अन्तिम अवसर हो । यो अवसर उनको फुटबल करिअरको लागि दवावको रुपमा पनि हुने देखिन्छ । हालै रियल म्याड्रियलाई च्याम्पियनशिप दिलाउने टिमका मेम्बर रोनाल्डोलाई अहिले नेसनल टिममा पनि सोही अनुसारको प्रदर्शन गर्नुपर्ने दवाब देखिएको छ ।