नेपाली सिने जगतमा के अब पालो ‘भैरे’को ह त ?

– निर्माता लेखबहादुर पुन

बाजे रणबहादुर पुन ,बाबा वीरबहादुर पुन र आमा मोती कुमारी पुनको कोखबाट बुटवलमा जन्मेर काठमाण्डौंलाई कर्मथलो बनाएका लेखबहादुर पुन ‘डेनिम’ चलचित्र ‘भैरे’ को निर्माताको रूपमा नेपाली सिने जगतमा प्रवेश गरेका छन् । पेशाले रेडिमेड कपडा व्यापारी रहेका श्री पुन निर्देशक एभरेष्ट सूर्य बोहराको ईमान्दारिता ,मेहनत,लगनशिलताबाट प्रभावित भएर नेपाली चलचित्र जगतमा उत्साहजनक प्रवेश गरेका व्यक्ति हुन् ।

चलचित्र ‘भैरे’ लाई यस वर्षको सर्वाधिक लोकप्रिय चलचित्र बनाउन कुनै कसर बाँकी नराख्ने उनको दाबी छ । जसको प्रचार प्रसारको लागि उनी दिनरात खटेर लाग्दै छन् । व्यावसायिक रूपमा चलचित्र ‘भैरे’ले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा निकै ठुलो बजार लिनेमा उनी ढुक्क छन् ।

नेपाली परिवेशको अत्यन्त मनछुने कथा,पटकथा,संगीत एवं बहुआयामिक शैलीमा करोडौं दर्शकको मन जित्ने उद्धेश्यले निर्माण गरिएको चलचित्र ‘भैरे’ मा सर्वाधिक हिट कलाकारहरू जस्तै दयाहाङ राई ,बुद्धि तामाङ, सुरक्षा पन्त,वर्षा सिवाकोटी, चर्चित नायक बिक्रान्त बस्नेत, आदि रहेका छन् । समग्रमा भन्नुपर्दा चलचित्र ‘भैरे’आर्थिक,सामाजिक एवं मनोरन्जनको हिसाबले पनि निकै अगाडी बढ्ने दावी गरिएको छ । स्मरण रहोस् चलचित्र ‘भैरे’को ‘सनम माया लाको’ र ‘सान्नानीलाई भेट्न आउँदा’ बोलका दुईवटा चर्चित गीतहरू सर्वाधिक हिट लिस्टको सूचीमा परिसकेका छन् ।

नेपालय सिनेमा ईन्टरनेशनल प्रा.लि.को ब्यानरमा निर्माण गरिएको निर्देशक एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको बहुप्रतिक्षित चलचित्र ‘भैरे’ मार्फत सर्वाधिक चर्चामा आएका लेख बहादुर पुन ‘डेनिम’ले आगामी दिनहरुमा एक्लै चलचित्र बनाउने सोचमा छन् । निर्देशक एभरेष्ट सूर्य बोहराको निर्देशनमा बन्न लागेको उनको दोस्रो चलचित्र ‘ल ल छ छ’ रहेको छ । जसमा उनी निर्माताको रुपमा आउने छन् । चलचित्र ‘भैरे’ का निर्माता लेखबहादुर पुन ‘डेनिम’सँग हाम्रा प्रतिनिधिले लिएको अन्तवार्ताको सम्पादित अंश ।

१.सर्बप्रथम त दस्तावेज डट कममा तपाईंलाई हार्दिक स्वागत छ

-धन्यवाद ।

२.आजकल के मा व्यस्त हुनुहुन्छ ?

–चलचित्र ‘भैरे’को सम्पूर्ण कार्य पुरा भएको छ । श्रावण ४ गते यसको बिधिवत रुपले रिलिजको तयारिमा लागेका छौं ।

३.तपाईँ धेरै बर्षपछि निर्माताको रुपमा चलचित्र ‘भैरे’ मार्फत नेपाली सिने क्षेत्रमा प्रवेश गर्नुभएको छ यसको खास कारण ?

– व्यवसायिक सिनेमा निर्माताको रुपमा आज म प्रवेश गर्नुको कारण बालकालदेखिको कला र संस्कृतिप्रतिको शौख एवं अहिलेको नेपाली सिनेमा क्षेत्रको बढ्दो बजार जस्ता बिभिन्न कुराहरुको साथै नेपाली सिने जगतमा व्यवसायिक रुपले लाग्नुभएका असल साथीभाईको उत्साह र प्रेरणाले नै हो ।

४. ‘भैरे’ आफैंमा अनौठो नाम छ, भैरे चलचित्रको शुटिङ अवधिदेखि पत्रपत्रिका,सामाजिक सञ्जाल,र छापाहरुमा सर्बाधिक चर्चाको

शिखरमा पुगेको छ । वास्तवमा चलचित्र ‘भैरे’ कस्तो चलचित्र हो ? बताईदिनुस् न ?

– हेर्नुस्…………. चलचित्र ‘भैरे’नेपाली युवाहरुको यथार्थ चरित्र बोकेको एक पात्र हो । जसले सिंगो युवाहरुको बाध्यता र विवशताको कथा बोल्छ । चलचित्र ‘भैरे’मा चर्चित नायक दयाहाङ राईले ‘भैरे’को भूमिका निर्वाह गरेका छन् भने सुरक्षा पन्तले उनको जोडिको रुपमा अभिनय गरेकी छिन् । यस लगायत चर्चित नायक बिक्रान्त बस्नेत र बर्षा शिवाकोटीको पनि बिशेष भूमिका रहेको छ ।

५.नेपाली चलचित्र क्षेत्रको भविष्य कस्तो छ ? चलचित्र ‘भैरे‘ ले के साँच्चिकै दर्शकहरुको मन जित्ला ?

– नेपाली चलचित्रको भविष्य उज्जवल छ । निर्देशक एभरेष्ट सूर्य बोहराका अधिकांश चलचित्रहरु सर्वाधिक हिट लिस्टको सुचीमा रहिसकेका छन् । तसर्थ चलचित्र ‘भैरे’ सुपरहिट हुनुमा कुनै शंका छैन । छायांकन अवधिदेखि दर्शकहरुको ब्यग्र प्रतिक्षा र चासोको बिषय बनेको बहुप्रतिक्षित चलचित्र भैरेको रिलिज मिति श्रावण ४ गते तोकिएको सहर्ष जानकारी गराउन चाहन्छु । यस अवधिमा अन्य चलचित्र प्रदर्शन गरेर चलचित्र ‘भैरे’सँग नजुधाईदिनुहुन बिनम्र अनुरोध गर्दछु ।

६.थोरै प्रसंग बदलौं तपाईंको आगामी योजना कस्तो छ ?

-आगामी दिनहरुमा चलचित्र क्षेत्रमा नै समर्पित भएर लाग्नेछु । मेरो दोस्रो चलचित्रको शुरुआत ‘ल ल छ छ’बाट हुनेछ । निर्देशक एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बन्न लागेको उक्त चलचित्रमा म निर्माताको रुपमा अगाडि आएको छु । असोज २ गतेदेखि फ्लोरमा जान लागको चलचित्र ‘ल ल छ छ’ मा नेपालका सुप्रसिद्ध हास्य कलाकारहरुले अभिनय गर्नेछन् । माघ/फागुनसम्म प्रदर्शनमा आउन लागेको उक्त चलचित्रमा एभरेष्ट सूर्य बोहराको शब्द,बसन्त सापकोटाको संगीत,राजेश पायल राई,मेलिना राई लगायतका गायक गायिकाबाट गीत रेकर्डिङको काम समेत सकिईसकेको छ ।

७. अन्तमा दस्तावेज डट कम मार्फत संसारभर छरिएर रहेका नेपाली सिनेमाप्रेमी दर्शकहरुलाई केहि भन्न चाहनुहुन्छ ?

– चलचित्र ‘भैरे’ मार्फत नेपाली सिने जगतमा मेरो पहिलो पाईला हो । त्यसैले यस फिल्मलाई संसारभर छरिएर रहेका नेपाली सिने प्रेमीहरुले मायाँ गरिदिनुहुनेछ भन्ने आशा लिएको छु । यसका साथै दस्तावेज डट कमले मेरो भनाईहरु सार्बजनिक गर्ने मौका दिएकोमा दस्तावेज डट कम परिवारप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।