पोखरामा बम भेटियो, नेपाली सेनाले जोखिम मोल्दै निश्कृय बनायो (भिडियो)

नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहले आव्हान गरेको बन्दको क्रममा पोखरा लेखनाथ महानगरपालिकाको नयाँबजारमा बम फेला परेको छ । पोखराको सस्तोबजार नजिकै अपरान्ह फेला परेको बमको कारण स्थानीय जनजीवन केहिबेर त्रसित बन्न पुगेको थियो । सडक छेउको बिद्युतको पोलको आडमा रातो जेव्रा झोलामा राखिएको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले साँझ निस्कृय पारेको थियो ।
गृहमन्त्री रामबहादुर थापा बादलको उपस्थितिमा पोखरामा प्रदेश नं ४ को सुरक्षा गोष्ठि आयोजना गरिएकै दिन आईतबार पोखराको दुई स्थानमा बम भेटिएको छ ।पोखराको बिजयपुर र पोखरा विमानस्थलको गेट नजिकै बम भेटिएको हो । गृहमन्त्री थापा बिमानस्थलबाट बाहिरिएर कार्यक्रमस्थलमा पुगेपछि बम फेला परेको थियो । बिजयपुर र विमानस्थलको १ नम्वर गेट नजिक भेटिएको पेट्रोल बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ ।
नेकपा विप्लव समुहले नेपाल बन्द आव्हान गरेपनि घटनामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । बम राख्नेको खोजि भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक खड्गवहादुर खत्रीले जानकारी दिए । बन्दले भाडाका सवारी साधन र शैक्षिक संस्था ठप्प रहे । पोखरा लेखनाथ महानगरपालिकाको मुख्य मुख्य बजार क्षेत्रमा आंशिक असर परेपनि अधिकांश क्षेत्रमा जनजीवन सामान्य भएको प्रहरीले जनाएको छ ।