Saturday , October 21 2017
Breaking News

पशुपति शर्मा भन्छन् कहिले त २०–२२ दिन विदेश बसेर १५–२० लाख बोकेर अाइन्छ

पशुपति शर्मा नेपाली लोकदोहोरी क्षेत्रमा छुट्टै धार समाएका गायक हुन् । उनी गीतको लय तथा शब्द संकलनमा पनि अब्बल मानिन्छन् । 
सामाजिक संस्कार र जीवनशैलीका मौलिक बोलीचालीको भाषालाई गीतमा उतार्नु उनको प्रमुख विशेषता हो । उनका गीत मनोरञ्जनात्मकसँगै सन्देशमूलक पनि हुन्छन् । पछिल्लो समय देशविदेशमा हुने सांगीतिक कार्यक्रममा व्यस्त रहेका गायक शर्मासँग गरिएको कुराकानीः
मेला–महोत्सवमा प्रस्तुतिका लागि पुग्न त अचेल भ्याइनभ्याई होला नि ?
हो नि । अहिले त मारामार छ । महिनामा २५ वटासम्म कार्यक्रम भ्याउँछु । गत महिना मात्र २७ वटा कार्यक्रममा पुगेँ । ज्यानका लागि पनि त्योभन्दा बढी कुद्दिनँ । अहिले दगुर्ने भोलि बिरामी भइयो भने त राम्रो हुँदैन नि ।
सांगीतिक यात्राकै क्रममा कतिवटा देश पुग्नुभयो ?
युरोपका ३७ वटाजति देशमा पुगिसकेँ । कतार मात्रै नवौँपटक पुगेँ । दुबई ५–७ पटक, अस्ट्रेलिया पाँचपटक पुगेँ ।
 
मुलुकबाहेक कुन देशमा नेपाली सांगीतिक कार्यक्रम बढी भएको पाउनुभयो ?
हङकङ, दुबई, कतारतिर बढी हुन्छ । पछिल्लो समय जापान, अस्ट्रेलियातिर पनि हुने गरेको छ । कहिलेकाहीँ त एउटै देशमा २०/२५ जना कलाकार जमघट हुन्छौँ ।
तपाईं कत्तिको महँगो कलाकार हो ?
खासै होइन । म चलेकै सरल भएर हो । म यो पनि बुझ्छु कि सधैँ पशुपति शर्मा रहिरहँदिनँ । भोलि नयाँ पुस्ता आउनुपर्छ । उनीहरूलाई पनि प्रोत्साहन गर्नुपर्छ । जहाँ पनि म नै जाने, म नै हिँड्ने, मैले मात्रै कमाइरहनुपर्छ भन्ने मेरो भावना छैन । म चलेको वेलामा सरलै हुनुपर्छ, सहज हुनुपर्छ भन्ने लाग्छ । सम्बन्ध नै सबैभन्दा ठूलो कुरा हो । पैसाकै पछि दगुरेर मात्र कहाँ हुन्छ र ?
भनेपछि तपाईं सर्वसुलभ गायक ? 
(हाँस्दै) त्यति फितलो पनि होइन । जे होस् मिल्ने कुरासम्म मिलाउँछु । कसैले ४५ हजार दिन्छु भन्छ भने ५० हजारै चाहिन्छ भन्ने प्रकारको बार्गेनिङ गरिरहन मन लाग्दैन । सरल, सहज भएरै होला म बढी व्यस्त भएको ।
एउटा कार्यक्रमबापत कति पारिश्रमिक लिनुहुन्छ ?
नेपालमा एउटा कार्यक्रमबाट ३५ हजारदेखि ८० हजारसम्म लिन्छु । बाहिरको कुरा गर्दा देशअनुसार हुन्छ । दुबई, कतारतिर एक सोको दुई लाख लिन्छु । युरोप, अस्ट्रेलियातिर या युके अमेरिकातिर एक महिनामा धेरै सो भइरहन्छन्, केही घटाएर लिन्छौँ । कतिपय कार्यक्रममा आत्मीयताको पनि कुरा हुन्छ । कलाकारिता र कलाकार बुझ्ने मानिसले त यसलाई यति दिँदा हुन्छ भन्ने बुझेर दिन्छन् ।
तपाईंको मासिक आम्दानी सरदर कतिदेखि कतिसम्म हुन्छ ?
कहिलेकाहीँ नेपालमै ७–८ लाख हुन्छ । कहिले २–३ लाख पनि हुन्छ । विदेशतिर पनि एउटा देशमा २०–२२ दिन बसेर १५–२० लाख बोकेर आइराखेका हुन्छौँ । नेपालमा यही मंसिर महिनामा मैले आठ लाख रुपैयाँ कमाएँ । यस्तै हो, कार्यक्रम भइरहन्छन् ।
 
गीत चल्न शब्द, संगीत र स्वर कुन बढी राम्रो हुनुपर्छ ?
सबैभन्दा महत्वपूर्ण त विषयवस्तु हो । म चलेको नै विषयवस्तुले हो । मेरो स्वर एकदमै राम्रो भन्दिनँ, ढाट्नुहुँदैन । स्वर, लय र संगीतसँगै शब्दको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
कार्यक्रममा दर्शक/श्रोताले वान्स मोर भन्ने तपाईंका गीत कुन–कुन हुन् ?
धेरैवटा गीत सुन्न चाहनुहुन्छ दर्शक/श्रोताले । ‘मलाई अमेरिका यहीँ’देखि ‘क्याम्पस पढ्न आउने’मा अलि बढी वान्स मोर आउने गर्छ ।
गायक नभएको भए के बन्नुहुन्थ्यो ?
मेरो बुबाममीको चाहना त मलाई इन्जिनियर बनाउने थियो । मलाई त सानैदेखि गायक बन्ने रहर थियो । नभन्दै लोकसंगीत क्षेत्रमै आकर्षित भएँ, त्यस्तै मानिसहरूको संगत भयो । गायक नभएको भए म डाक्टर, इन्जिनियर वा निजामती सेवातिर हुन्थेँ होला ।
 
लोकदोहोरीको अवस्था पहिले र अहिले कस्तो पाउनुहुन्छ ?
पहिलेभन्दा अहिले राम्रो भा’छ । नारायण रायमाझी दाइ, प्रेमराजा महत दाइसँग भेट हुन्छ । उहाँहरूले पनि पहिलेभन्दा राम्रो भा’छ भन्नुहुन्छ । गीतसंगीत केही नराम्रा पनि आए होलान्, सेन्सर बोर्ड छैन । तर, कलाकारको स्थिति पहिलेभन्दा राम्रो देख्छु । मलाई लाग्छ, लोकदोहोरीमा सेन्सर बोर्ड आवश्यक छ ।
२०७३ चैत्र १० मा प्रकाशित ।
– imandarmedia.com

Leave a Reply