Sunday , November 19 2017
Breaking News

टोपीवालाले पनि माफी मागौं, धोतीवालाले पनि माफी मागौं !

सरगम भट्टराई

सेतोपाटीमा अमित ढकालजीको लेख कश्मिरको बाटो भाग–१ र भाग–२ पढेँ । भाग–१ पढ्ने बेलासम्म लागेको थियो, हो । अमितजीले भनेका धेरै कुरा सत्य छन् र यस्तै अवस्था रहने हो भने मधेश आन्दोलनले भोलि कश्मिरको बाटो तय नगर्ला भन्न नसकिने निचोडमा म पनि पुगेँ । सायद धेरै पाठकले भाग–१ मन पराउनु भयो, जसमा देश र मधेशको एउटा सजीव चित्रको प्रतिबिम्ब थियो भन्ने धेरै आधारहरु थिए । तर, भाग–२ प्रति थोरै बिमतिहरु मेरा पनि रहे । म कुनै राजनैतिक विश्लेषक होइन, कुनै देखेका र लेखेका कुराहरुलाई राजनैतिक आँखाले हेर्ने पनि गरेको छैन । तरपनि धेरै कुराहरुमा सहमत हुँदाहुँदै पनि कश्मिरको बाटो भाग–२ सिद्धान्त र ब्यवहारमा भन्दा बढी प्रशान्तजीले किताबमा उल्लेख गरेका भावनाका शब्दमा एकतर्फी बहकिएको हो कि भन्ने मलाई लाग्यो । मलाई लाग्छ यो ठहरमा थोरै मात्र पाठकहरु बिमति हुनुहुन्छ होला ।

तराई मधेशकै जनताहरु सोधिरहन्छन्– उपेन्द्र राजेन्द्र र गच्छेदारहरु निरन्तर सत्ताको केन्द्रमा रहीरहँदा पनि देश र मधेशको लागि के गरे ? त्यसो त पहाडमा पनि त्यस्ता ब्यक्ति नभएका होइनन् । तर, पहाडमा चेतनाको स्तर अलि बढी भएकोले क्रमशः कम हुँदै गएको छ ।

मैले यसो लेखेकोमा म मधेस र मधेसी बिरोधी देखिउँला तर, सत्य के हो भने म पहाडमा जन्मेको मात्र हो, मेरो आँखामा त्यो कठिन भूगोल अझै पनि पूरै समथर छ । अर्थात मलाई मेरो जन्मस्थान पहाड़ ठ्याक्कै यस्तो भूगोलको छ भन्ने थाहा छैन । मेरा बा–आमाले दुई छाक पेट भरी खान र खुवाउन नसकेर मधेश झरेको ३७ बर्षसम्म म मेरो जन्म भएको पहाड़ पुगेको छैन । मलाई मेरो मधेशको जति माया म जन्मेको पहाडको लाग्दैन । हामी मधेश झर्यौं, मधेश झरेपछिका सास्ती र अवसरका बारेमा त मैले पहिलै लेखिसकेको छु । त्यसैले त्यतातिर जान चाहन्न । तरपनि मैले देखे भोगेको मधेस र पहाडमा लेखक प्रशान्त झाले आफ्नो पुस्तक ‘ब्याटल्स अफ द न्यू रिपब्लिकः अ कन्टेम्पोररी हिस्ट्री अफ नेपाल’ मा लेखेजस्तै हुवहु प्रतिबिम्बन छ भन्ने कुरा म मान्दिन । प्रशान्तजी त्यसै पनि मधेशमा प्रचलित जाति मध्ये कथित ‘उपल्लो’ जातकै हुनुहुन्छ । उहाँले आफ्नो पुस्तकमा मधेसमा तिनै उपल्ला जातिको तल्ला जातिप्रतिको दवदवा पनि उल्लेख गर्नु भएको छ होला जस्तो मलाई लागेन ।

यद्यपी, झाजीले उठान गर्नु भएका धेरै बिषय कुनै बेला सत्यताको धेरै नजिक थिए भन्ने बारेमा म सहमत हुनैपर्छ । केन्द्रीकृत सत्ताले मधेस र मधेसीप्रति भाषा, भेष र अधिकारमा कतिसम्म भेद गरेको रहेछ भन्ने तथ्यलाई पनि म नकार्न सक्दिन । अमितजी असाध्यै राम्रो लेख्नुहुन्छ । यसमा म शंसय गर्दिन । उहाँका सबै जसो लेखहरु मैले पढेर मन परेर फेसबुक तथा ट्विटरमा शेयर पनि गरिरहेको हुन्छु । तर, प्रशान्तजीले लेखेको पुस्तकलाई एउटा ’प्रमाणित सिद्धान्त’ जस्तै मानेर उहाँले मेहनत गरेर लेख्नु भएको बिचारलाई ‘भावनाको साहित्य’ को नजिक हो कि जस्तो लाग्यो ।

शायद उहाँ मधेसमा हुर्किनु भएको होइन होला । त्यसैले पनि प्रशान्तजीको पुस्तक पढेर उहाँ भावुक बन्नुभयो । किताबमा धेरै यस्ता घटनाहरु छन्, जुन पढ्दा कस्को मन नरोला र ? यद्यपि, म आफैले त्यो पुस्तक पढेको छैन । तरपनि पुस्तकको बारेमा उहाँले चर्चा गर्नु भएको मूख्य सारलेनै त्यो पुस्तकका अपूरा पक्षलाई अमितजी मार्फÞत प्रशान्तजीलाई घच्घचाउँ भन्ने प्रतित मलाई भयो । बेजोड़ लेखन क्षमतालाई बेतोडले दुरुपयोग गरेको भन्ने पाठकको टिप्पणीलाई सोह्रै आना नमाने पनि धेर–थोर म त्यस आरोपमा सहमत हुनै ठीक ठानेँ ।

मैले क, ख चिनेको पनि मधेस झरेरै हो । त्यसबेला मधेसकै पिछडिएको जिल्ला कपिलवस्तुको इमिलियामा रहेको प्राथमिक बिद्यालयमा त्यसबेला मधेसी मूलकै प्रधानाध्यापक जगन्नाथप्रसाद गुप्ता हुनुहुन्थ्यो । पहाडी मूलका बासिन्दाको बाहुल्य भएको त्यो बस्तीमा मैले उहाँप्रति कुनै दुराग्रह पाइन । उहाँलाई मधेसी भनेर कसैले हेप्ने त परै जाओेस, पछाडिबाट कुरा काट्ने मान्छेसम्म पाउन गाह्रो थियो । सबैको प्यारो भएर होला उहाँले रिटायर्डपछि पनि इमिलियामै घर बनाई बाँकी जीवन त्यहीँ बिताउनुभयो ।

प्रा.वि. तहको पढाई सकेपछि म जनकल्याण माध्यमिक विद्यालय बरकुलपुर कपिलवस्तुमा कक्षा ६ मा भर्ना भएँ । त्यसबेलाको प्रधानाध्यापक राममूर्ति त्रिपाठी हुनुहुन्थ्यो । उहाँपनि मधेसी नै हुनुहुन्थ्यो । त्यसबाहेक मुन्निलाल यादव, तुलसी यादव, नरेन्द्रप्रताप सिंह लगायतका शिक्षकहरु पनि मधेसी नै हुनुहुन्थ्यो । राममूर्ति त्रिपाठी पछि प्र.अ.को रुपमा तौलिहवादेखि दक्षिण बसन्तपुरका नन्दकिशोर गिरी आउनुभयो । उहाँ त अझ मधेसको सिमावर्ती क्षेत्रकै हुनुहुन्थ्यो ।

उल्लेख्य संख्यामा रहेका पहाडी मूलका शिक्षक र मधेसी मूलका शिक्षकमा मैले कहिलै शत्रुता देखिन । नन्दकिशोर गिरी सरको आगमन पछि त विद्यालयले अति राम्रो प्रगति गरेको थियो । त्यो बेलाको समयमा पनि सिनेमाको हिरो जस्तो चिटिक्क परेर हिड्ने नन्दकिशोर सर सबैका आदर्श र प्रशंसाका पात्र हुनुहुन्थ्यो । अहिले पनि उहाँलाई सम्झेर अभिभावकहरु नतमस्तक हुन्छन् ।

मैले एस.एल.सी पास गरेर मार्कसीट, प्रमाणपत्र लिन जाँदा उहाँले भनेको एउटा कुरा अझै पनि याद छः ‘भट्टराईजी ऐच्छिक गणित पढ्नु भएन ? अब कानून पढेर एउटा कुशल वकिल बन्नुपर्छ ।’ उहाँले त्यसो भन्दा मेरो शिर उहाँप्रति श्रद्धाले झुकेको थियो । (स्मरण रहोस् उहाँ सानो–ठूलो सबैलाई तपाई भनेर सम्बोधन गर्नुहुन्थ्यो) ।

तर, मैले उहाँले चाहेको कानून बिषय पनि पढ्न पाइन । त्यसै बर्षदेखि सरकारले प्रमाण पत्र तह देखि आई. एल. हटाईदियो । मैले अंग्रेजी बिषय लिएर आई.ए. पढेँ । आई.ए.मा अंग्रेजी पढाउने अजय कश्यप सर पनि मधेसीनै हुनुहुन्थ्यो । उहाँ असाध्यै राम्रो पढाउनुहुन्थ्यो । त्यसैले होला उहाँको कक्षामा पछि उभिएर पनि बिद्यार्थीहरु पढ्थे । मधेशी भएकै आधारमा उहाँलाई हिनताबोध हुने त कुरै छोडौं उहाँजस्तो प्राध्यापक पाएर हामीले गर्व गथ्र्यौं । बि.ए. मा अंग्रेजी पनि उहाँलेनै पढाउनुभयो ।

यस बाहेक तत्कालिन समयमा वन विभागका कर्मचारी, गा.वि.स. सचिव, अमिन र जे.टि.ए. आदि पनि मधेसी समूदायकै थिए । उनीहरु कसैलाई पनि पहाडी समूदायमा बिभेदको शिकार गरेको मैले पाइन । त्यति बेला दुर्गममा पढाउन र जागिर गर्न जाने कसैले पनि आफू हेपिएको कुरा सुनाएनन् ।

तर, बजारमा तरकारी बेच्ने, कवाडी सामान संकलन गर्ने, बरफ बेच्ने, कुल्ली मजदूरको काम गर्ने मधेसी दाजुभाई, जुत्ता सिलाउने दाईहरुप्रति भने पहाड़ी मूलका धेरै मान्छेहरुको धारणा धेरै पछि सम्म राम्रो थिएन । उनीहरुलाई धोती, भारतीय, भैया भन्ने गर्थे । आफू भन्दा ठूलो भए पनि तँ र तिमी भनेर सम्बोधन गर्ने आदि आदि थियो । जो अत्यन्त निन्दाजनक थियो । जसको कारणले गर्दा उनीहरुको मनमा लागेको पिर र अपमानको धब्बा मेटिन हामीले, हाम्रा पिता पुर्खा र साथी भाइले जानेर नजानेर गरेको गल्तीको जति शिर झुकाएर माफी मागे पनि बर्षौँ लाग्ने छ ।

अब अर्को पाटो तर्फ लागौँ । मैले स्नातक सिध्याएपछि २०५८ सालमा तत्कालिन स्थानीय ट्रष्ट कोषको प्रतिस्पर्धात्मक परीक्षा पास गरी जागिर खाएँ । नियुक्तिपछि सीमावर्ती सिसवा, लालपुर, महुवा, दोहनी र पकड़ी गाविसमा सामाजिक अनुसन्धानको क्रममा हाम्रो टोली पुग्यो । आर्थिक, सामाजिक, स्वास्थ्य, राजनैतिक र संस्थागत विकास तथा निर्णय प्रकृया सम्बन्धि धेरै सूचकहरुमा अध्ययन गर्दा त्यहाँका नागरिकको बिचमा एउटा ठूलो खाडल देखियो । दुःखको कुरा भन्नुपर्छ, मधेसी समूदायका धेरै मान्छेहरुले कुरा र छलफलको क्रममा मलाई ‘नेपाली’ भन्दा मैले तपाईहरु पनि त नेपाली हो किन आफैलाई नेपाली भन्नु हुन्न भन्दा लाजले जिभ्रो टोक्थे । बिस्तारै मधेसी भन्दा पहिले नेपाली हो भन्ने कुरा सिकाउन पाउँदा म आफैलाई खुशी लाग्थ्यो ।

विकास र चेतना दुबैमा पछि परेको मधेसमा हामीले अनुसन्धान गर्दै गर्दा त्यहाँका जमिन्दारहरुको प्रत्यक्ष र अप्रत्यक्ष दवदवा, विकासका योजनामा उनीहरुकै नियन्त्रण, बिकराल शैक्षिक अवस्था, निर्णय प्रकृयामा उनीहरुकै हैकम र विकास बजेटको चरम दुरुपयोगको कहाली लाग्दो तस्विर हाम्रो सामू आयो । आफ्ना छोरा छोरी भारततिर पढाएर गाउँका विद्यालयमा अघोषित रुपले पढाई हुन नदिने, कल्भर्ट, ग्राभेल र खानेपानी, शिक्षा आदिमा छुट्ट्याइएको बजेट दुरुपयोग गर्ने, मधेसकै ठूला ठालुमा नराम्ररी फैलिएको दाइजो प्रथा, असुरक्षित सुत्केरी, सरसफाईमा कमी, स्थानीय कर्मचारीहरुलाई हातमा लिने र जिल्लास्थित सरकारी कार्यालयमा डर, धाक र चाप्लुसी जे हुन्छ गरेर योजनाहरु पार्ने र त्यसबाट सकेको खाने प्रवृति थियो ।

२०६२÷६३ को जनआन्दोलनपछि पनि तिनै ठूला ठालुहरुकै दवदवा चल्यो । मधेसमा उनीहरुको प्रभुत्व कायमै थियो । मेरो काम समाज परिचालनद्वारा नागरिक सशक्तिकरण गर्नु थियो । यसकारणले साधारण जनताहरुको प्रिय थिएँ । त्यसबेला तराईका विभिन्न सशस्त्र समूहहरुले आफ्ना गतिविधि बढाईरहेपनि हाम्रो टीम गाउँमा आफ्ना कार्यक्रम चलाइरहेको थियो ।

हिजोको सबैको प्रिय म अब भने बिस्तारै मधेसीको भाग खाने पहाडीया शासक भनिन थालेको थिएँ । मलाई बिना इजाजत फिल्ड आएको भन्दै फेरी आएमा जे पनि हुने भन्दै धम्की आउन थाले । बेला बेलामा पहाडीया बनरा, टोपी, बभना आदि आदि उपनाम दिइन थाल्यो । मैले यसलाई अपमान भन्दा पनि अज्ञानताको कारण ठानेर हाँसेर उडाइदिएँ ।

२०६४ साल भदौ ३० गते कपिलवस्तुको चन्द्रौटा नजिक कुदरबेटवाका एक मुश्लिम जमिन्दार अब्दुल मोईद खाँको अज्ञात समूहद्वारा हत्या भएपछि त्यो क्षेत्रमा प्रतिकार स्वरुप बिशेषत पहाडीया समूदाय माथि ब्यापक धरपकड़ शुरु भयो ।

सरकारी तथ्यांक अनुसार १४ जनाको हत्या भनिएपनि त्यो साम्प्रदायिक दंगामा झण्डै दुई दर्जन बढि जनताको हत्या भयो । १६० भन्दा बढी सवारी साधन जलाईयो । घर पसल र उद्योग गरी ५० करोड बढीको धनमाल नष्ट भयो । दश हजार बढी मान्छेहरु बिस्थापित भए । कैयौँ चेलीहरु बलात्कृत भए, सुत्केरीहरु समेत मारिए, जुन घटना कपिलवस्तु बासीले कहिलैै भूल्ने छैनन् । धेरै जसो सुकुम्बासी र राजनैतिक पहुँच नभएकोले हुनुपर्छ, अहिलेसम्म पीडितले क्षतिपूर्तिसम्म पाएका छैनन् ।

२०६५ पुस महिनाको २५ गते तितिर्खी गाविसमा एउटा कार्यशाला गोष्ठी थियो । स्थानीय विकास कोषका तत्कालिन कार्यकारी सचिव र म जिविसको कार्यालयबाट अलि ढिलो गरी त्यस तर्फ लाग्यौँ । कार्यक्रमस्थल आउन एक किलोमिटर जति मात्र के थियो हामीलाई दुई जना बीस, पच्चिस बर्षका मधेशी मूलका ठिटाहरुले बाटो छेकेर मोटरसाईकल रोक्न भने ।

हामी एउटै मोटर साईकलमा सवार थियौं । मेरो सहकर्मी प्रमुखले मोटरसाइकल उनीहरुको अगाडि रोक्नुभयो । हामीले मोटरसाईकल के रोकेका थियौं । हामी दुबैको कन्चटमा पेस्तोल तेस्राइयो । आफू जनतान्त्रिक तराई मुक्ति मोर्चाको कार्यकर्ता भएको कुरा बताउँदै अवधि भाषामा आमा दिदी बहिनी छोएर असभ्य गाली गलौज गर्दै पहाडीया साला चोर, फटाहाहरु आदि भनेर एकोहोरो गाली गर्दै हामीहरु अपहरणमा परेको कुरा बताए ।

बन्दुकको अगाडि हामीले गर्न सक्ने केही थिएन । उनीहरु जे–जे भन्थे त्यहि मान्न हामी तयार थियौं । उनीहरु दुई जना, हामीहरु दुई जना एउटै मोटर साईकलमा अट्ने कुरो थिएन । हामीहरु मध्ये एक जनालाई पहिले लगेर जाने र अर्कोलाई एकछिनपछि लिन आउने कुरा गरेपछि तौलिहवाकै स्थानीय भएकोले सहकर्मी सर म पहिले जान्छु भन्नुभयो । मलाई त्यही पर्खन त भनेका थिए । तर उनीहरु छुट्ने बेलामा मलाई गोली हानेर ठहरै पार्छन कि जस्तो लागेकोले म डरले काँपी रहेको थिएँ । मैले सारा भगवानहरु पुकारेँ । पहिले म र मेरो सहकर्मी प्रमुखको जीवन रक्षाको लागि । अपहरणकारीले मलाई यता उता गएमा गोली हान्ने धम्की दिई मेरा सहकर्मी प्रमुखलाई बिचमा राखेर भारतीय भूमि तर्फ लगे ।

उनीहरु केही पर पुगेपछि म बिशाल फाँटको खेतै खेत ज्यानको बाजी थापेर तौलिहवा तर्फ भागेँ । तौलिहवा त्यहाँबाट करिब ६–७ किलोमिटर टाढा हुनुपर्छ । दुई किलोमिटर खेतै खेत हिडेपछि म एउटा गाउँ नजिक पुगेँ र कसैसंग लिफ्ट मागेर म तौलिहवा आउँदा साँझको ६ बजेको थियो । मेरो सहकर्मी मित्रको फोन अफ थियो । मैले तुरुन्तै पत्रकार सम्मेलन गरेँ । घटनाबारे सबै कुरा बताएँ । तुरन्तै सुरक्षाकर्मीहरु त्यस क्षेत्रमा परिचालन भए । जिल्लास्थित मानवाधिकारवादी संस्थाहरुले पहल गरे तर, उहाँबारे कुनै खबर आएन । ढिलो गरी उहाँको अपहरणको जिम्मा जनतांत्रिक तराई मुक्ति मोर्चाले लियो ।

भोलिपल्ट देखि फिरौतीको लागि फोनहरु परिवारमा आउन थाले भने जति रकम नबुझाए भौतिक कारवाही गरिदिने भन्दै घरपरिवारलाई तनाव दिन थाले । राजनीतिक कारण देखाएर गरिएको अपहरण आर्थिक मोलाहिजा बन्न पुग्यो । ज्यान भन्दा ठूलो कुरा हुने कुरा भएन । उहाँले फिरौती बुझाए नबुझाएको कुरा त थाहा भएन तर दश दिनको अनवरत प्रयास पछि उहाँ अपहरणमुक्त हुनुभयो । आफ्नै आँखा अगाडिबाट खोसिएका मेरा सहकर्मी दश–दश दिनसम्म हराउँदा मेरो त होस् ठेगानमा थिएन भने परिवारलाई कस्तो भयो होला ?

तर, मैले तब श्रद्दाले शिर निहुर्याएँ, जब मेरो सहकर्मीलाई अपहरण मुक्त गर्न मधेशी साथीहरु नै रातदिन लागिरहे । यस्तै प्रकृतिका कति घटनाहरु त युद्द र क्रान्तिको नाममा भए होलान् । तिनको गणना त कसले गरेर सकोस् र ? पहाडमा कथित उपल्लो जात र धनीमानी मान्छेहरु र मधेसमा पहाड़ी मूलका मान्छेहरु युद्दकै नाममा धेरै मारिएकै हुन् । हत्याका सम्पूर्ण बिवरण र बेपत्ता पारिएकाहरुका विवरण त दुरुस्त छैनन् यहाँ ।

अब मधेस आन्दोलन तिर फर्कौंः मधेस आन्दोलन पक्कै पनि आफ्नो ठाउँमा जायज छ । अधिकारको लागि केन्द्र सत्तासंग जनताले अधिकार माग्नु नाजायज हुनै सक्दैन । तर, संबिधानको कुनै पनि धाराले वास्तविक नेपाली नागरिकलाई अन्याय गरेको छैन । मधेसलाई पहाडले हेर्ने दृष्टिकोण पनि पहिलेको भन्दा राम्रो छ । एउटा गतिशील दस्तावेजको रुपमा यसै संविधानलाई टेकेर अघि बढ्नुको विकल्प नभएको अवस्थामा अधिकारको लागि आन्दोलनको हठ नत्याग्नु वास्तविक मधेशीको हक अधिकार खोस्नु शिवाय केही होइन ।

शान्तिपूर्ण आन्दोलन एमाले मात्र होइन पूर्व राजा ज्ञानेन्द्रको समेत अधिकारको कुरा हो । शान्तिपूर्ण सभा बिथोल्न मधेशी मोर्चाले गरेको अवरोधमा अनाहकमा पाँच–पाँच जना साधारण नागरिक मर्नुको जिम्मेवारी एमालेले भन्दा पहिले मधेशी मोर्चाले लिनुपर्छ । मधेशी मोर्चाको अरुलाई आफ्नो कुरा राख्न नदिने निषेधको राजनीति एमालेको दम्भको राजनीति भन्दा बढि खतरनाक छ ।

देशमा स्थानीय निकायहरुको नयाँ खाका आइसकेको छ । धेरै भन्दा धेरै अधिकारहरु केन्द्रबाट स्थानीय निकायमा आउनेवाला छन् । यस्तो अवस्थामा एउटा शक्तिशाली स्थानीय निकायले त्यहाँका जनसमूदायहरुका लागि धेरै काम गर्न सक्ने अवस्था छ । स्थानीय चुनावको घोषणा भइसकेको अवस्थामा यसलाई अवसरको रुपमा लिनुको सट्टा भाँड्ने कुरा गर्नु मधेशी मोर्चाको बुद्धिमानी हुन सक्दैन ।

एउटा सत्य जति लुकाए पनि लुक्दैन । मधेसमा मधेसी नागरिकहरुमा हुने बिभेदको पहिलो कारण मधेसकै अगुवाहरु रहेका छन् । अझै पनि ती बाबुहरु र जनताहरु बिच राजा र रैती जस्तो सम्बन्ध छ । केन्द्रीय राज्य सत्तालाई प्रभाव पारेर स्थानिय जनतालाई कुहिरोको काग बनाउने मधेशकै अगुवाहरु हुन् । यिनीहरुको बिगत हेर्ने हो भने एउटा कुरा प्रष्ट छ । पाएका अवसरमा आफै हाली मुहाली गर्ने तर त्यसको दोष चाहिँ केन्द्रीकृत सत्तालाई दिइरहने एउटा प्रवृत्ति अझै पनि कायमै छ ।

तराई मधेशकै जनताहरु सोधिरहन्छन्– उपेन्द्र राजेन्द्र र गच्छेदारहरु निरन्तर सत्ताको केन्द्रमा रहीरहँदा पनि देश र मधेशको लागि के गरे ? त्यसो त पहाडमा पनि त्यस्ता ब्यक्ति नभएका होइनन् । तर, पहाडमा चेतनाको स्तर अलि बढी भएकोले क्रमशः कम हुँदै गएको छ । लेखले बिट मार्नै लागेको बेलामा विवेकशील नेपाली दलका मिलन पाण्डेजीले ‘मधेशलाई काठमांडौको माफी पत्र’ सेतोपाटीमा लेख्नु भयो । जसले मेरो मनलाई साम्त्वना दियो । दुखेको मधेश, बोल्न नसकेको कर्णाली र हिमाल पारीका मनाङ मुस्तांगलाई समेत एकता र विकासका पथमा हिडाउनु परेको उहाँको कुरा मर्मस्पर्शी लाग्यो ।

अब ढिलो भइसकेको छ । मैले श्रद्दाले शिर निहुर्याउने नन्दकिशोर गिरी र सडकमा जुता पालिश गर्ने महेन्द्र नारायणलाई एउटै आँखाले हेर्ने समाज बनाउनु परेको छ । समस्या संविधान संशोधन हैन, हाम्रो धारणा संशोधनको हो । त्यसको लागि अमितजीले भनेजस्तै केन्द्रीकृत राज्य सत्तामा रजाईँ गरिरहेका ‘टोपीवाल’हरुले आम मधेशी जनतासंग औपचारिक रुपमा संसदमै ‘माफीपत्र’ पेश गरी माफी मागून । त्यसै गरी मधेसमा मधेसीको नाममा राजनीति गरेर आफ्नो थैलो भर्दै आएका ‘धोतीवाला’हरुले पनि त्यहाँका अबोला मधेसीसंग आजसम्म जानेर या नजानेर आफ्नै दूनो सोझ्याएकोमा सार्वजनिक रुपमा माफी मागून् ।

हामीले कल्पना गरेको सुन्दर नेपालका बाधकहरु मधेश या पहाडका जनता हैनन् । हिजो जनताले जानेर या नजानेर गरेका गल्तीको माफी लिनेदिने कुरा ठूलो हैन । कुरा त दुबैबीच हृदयदेखि नै सँधैलाई पुग्ने हार्दिकता कायम राखिरहनु हो । जनताका नाममा राजनीति गरेर जनताकै ढाड सेक्ने राजनीतिकर्मीहरुले सबैको हितका लागि देश बनाउन एकै ठाउँमा आउनुको बिकल्प छैन । बिगतमा जे भयो–भयो अब भने अहंकार त्यागेर सबै शक्तिहरु साझा हितका लागि लागि परून् । – दैनिक नेपाल 

Leave a Reply