असलि लगानिकर्ताहरू एकै ठाउँमा ! निर्मल ढकालको कुर्चि धरापमा

काठमाडौं, १८ वैशाख । ‘संगीत उत्पादक समाज’लाई निर्मल ढकाल समूहले अवैधानिक रुपमा कब्जा जमाएपछि सुवास रेग्मी समूहले कानूनी र राजनीतिक रुपमा संस्थालाई जोगाउन सक्रियता देखाएको छ ।

रेग्मी समूहले कानूनी र राजनीतिक रुपमा समाजका पक्षमा आन्दोलन चर्काएपछि ढकाल र उनको अवैधानिक कार्यसमितिको कुर्सी हल्लिएको दाबी गर्न थालिएको छ । रेग्मी समूहबाट डराएको ढकाल समूहले समाजको कार्यालयमा प्रहरी लगेर पहरा दिने गरेको आरोप छ ।

रेग्मी समूहले मंगलबार काठमाडौंको घट्टेकुलोमा विशेष भेला राखेर ढकाल समूहविरुद्ध अविश्वास प्रस्ताव ल्याएर हटाउने चेतावनी दिएको छ । भेलामा ढकाल समूहविरुद्ध हस्ताक्षर अभियान समेत चलाइएको छ । रेग्मी समूहले समाजलाई बचान विशेष अभियान चलाएको जानकारी पाएपछि ढकाल समूहतिर रहेका बचेखुचेका सीमित सदस्यहरूले समेत साथ छाड्न थालेका छन् ।

गत चैत २३ गते काठमाडौंमा भएको अधिवेशनमा ढकाल समूहले फर्जी मतदाता बनाएर समाज कुम्ल्याएका थिए । त्यसबेला अध्यक्षमा ढकाल र रेग्मीले उम्मेदवारी दिएका थिए । फर्जी मतदाताको प्रमाण फेला पारेपछि रेग्मी समूहले निर्वाचन प्रक्रिया बहिष्कार गरेर बाहिरिएको थियो । त्यसपछि ढकाल समूहलाई समाज कब्जा गर्न सजिलो भएको थियो ।

ढकालको नेतृत्वमा रहेको समाजको अहिलेको नयाँ कार्यसमितिलाई रेग्मी समूहले मान्यता दिएको छैन । रेग्मी समूहको आन्दोलनपछि ढकाल समूह तनावमा परेको छ ।

स्थापनाकालमा ११९ सदस्य रहेको समाजमा चैत २२ गते तत्कालीन अध्यक्ष समेत रहेका ढकालले व्यक्तिगत प्यानकार्ड नम्बर लिएका झण्डै एक सय जनालाई सदस्य बनाएको रहस्य बाहिरिएको थियो । त्यसपछि रेग्मी समूह झस्किएको हो ।

अवैध रुपमा ढकाल समूहले समाजलाई कब्जा जमाएपछि रेग्मी समूहले त्यस बेला गरिएको निर्वाचन प्रक्रिया खारेजीको माग गर्दैै सप्रमाण प्रतिलिपि रजिस्टारको कार्यालयमा उजुरी दिएको कृष्ण फिल्मसका सञ्चालक बाबुराज केसीले जानकारी दिए ।

तर, कार्यालयले सो विषयमा सुनुवाइ गर्न नमानेपछि रेग्मी समूहले उच्च अदालत ललितपुरमा मुद्दा समेत दिएको छ । अदालतले रजिस्टारको कार्यालय र समाजसँग जवाफ माग गरेको छ ।

रेग्मी समूहसँग समाजका संस्थापक अध्यक्ष पदम बुढा, बाबुराजा केसी, बद्री पाण्डे, एकनारायण भण्डारी, कस्तुप पन्त, सन्तोष केसीसहितका बहुमत सदस्यहरूले साथ दिएका छन् । त्यति मात्रै होइन रेग्मी समूहले ढकाल समूहविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएर यो कार्यसमितिलाई हटाउने चुनौती पनि दिन थालेको छ ।

संगीत उत्पादकहरूको रोयल्टी संकलन गरेर समाजले वितरण गर्दै आएको छ । समाजलाई बलियो संस्था बनाएर जाने तयारी भए पनि ढकाल समूहले अवैध रुपमा कब्जा जमाएपछि धेरै संगीत उत्पादकहरू चिन्तित बनेका छन् ।