देउबाद्वारा सरकार बिरुद्द कडा अभिव्यक्ति, ओली सरकार अधिनायकवाद र सर्वसत्तावाद तर्फ लागे (भिडियो)

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको सुरुवात हुनलागेको बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिले नयाँ वर्षका अवसरमा शनिबार यहाँ आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले सरकारले राजश्व विभाग, राष्ट्रिय अनुसन्धान विभागलगायतलाई प्रधानमन्त्री कार्यालयमा राखेर मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको सुरुवात गर्न खोजेको आरोप लगाएका हुन् ।
“अधिनायकवादी र सर्वसत्तावादी कम्युनिष्ट पार्टीको खिलापमा कांग्रेस एकजुट भएर लाग्नुपर्छ,” उनले भने । उनले प्रदेशसभा र प्रतिनिधि सभामा पार्टीले भोग्नुपरेको पराजयलाई अवसरका रुपमा बदलेर संगठन निर्माणमा लाग्नुपर्ने बताए । पार्टीभित्र देखिएको छाडातन्त्रबाट कांग्रेस चल्न नसक्ने उनको भनाइ थियो ।
सभापति देउवाले पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र विभागले चाँडो पूर्णता पाउने बताए । उनले पार्टीभित्रको अन्र्तघातका कारण २० भन्दा धेरै नेताले निर्वाचनमा पराजय भोगेको भन्दै अब पार्टीलाई विवादरहित तवरले एकढिक्का बनाएर अगाडि लैजाने स्पष्ट पारे । दुई ठूला कम्युनिष्ट पार्टी एक भएको र कांग्रेसभित्रको अन्र्तघातले पार्टी पराजय भएको उनको भनाइ थियो ।
पार्टीका महामन्त्री डा सशांक कोइरालाले पार्टीलाई एकढिक्का बनाएर लैजान सभापतिलाई आग्रह गरे । “इतिहास, विचार र कार्यकर्ता भएको पार्टीले यी तीनै कुरालाई जनतामाझ लैजान सकेमात्र कांग्रेसको भलो हुन्छ,” उनले भने ।
महामन्त्री डा कोइरालाले कांग्रेसले अहिलेसम्म गरेको राम्रो कामलाई कार्यक्रम बनाएर जनतामाझ लैजानुपर्ने बताए । पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहले प्रजातान्त्रिक पार्टी विधिसम्मत ढंगले चल्न नसक्दा निर्वाचनमा पराजय भोगेको बताए । दुई पार्टी मिलेर कांग्रेस हारेको भन्नु तर्कमात्र भएको उनको भनाइ थियो ।