चेली हरुको शाहस : बुद्धको झण्डा र मुर्ति सगरमाथामा पुर्याउदै ! (भिडियो सहित)

धर्मचन्द्र योञ्जन तामाङ
काभ्रे । रोशी गाउँपालिका वडा नं – ११, भिमखोरीकी शर्मिला स्याङतान तामाङ र दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं – २ की छोकी शेर्पा विश्वको सर्वोच्च शिखर आरोहणको तयारीमा छिन् ।

भगवान बुद्धको जन्म नेपालमा भएको ध्रुवसत्यलाई कुल्चेर भारतीय सञ्चार माध्यमहरूले बुद्धको जन्मस्थलको सम्बन्धमा विभिन्न भ्रमहरू फैल्याइ बुद्धलाई नै विवादास्पद तुल्याउने कार्य भइरहेको अवस्थामा “बुद्ध नेपालमा जन्मेका हुन् ।” भन्ने सन्देश लेखिएको व्यानरसहित सगरमाथा आरोहण गर्न लागिएको पर्वतारोही तामाङले जानकारी दिए ।

नाम्सादिम छोरडान नेपालको सदस्यसमेत रहेकी तामाङले पर्यटन क्षेत्रको विकास र पर्वतारोहणमा महिलाहरूको सहभागिता वृद्धि गराउने उद्देश्यका साथ सगरमाथा आरोहण गर्न लागिएको बताइन् । अगस्ट २४, २०१७ मा गौरीशंकर हिमाल आसपासमा रहेको रामदुङ हिमालको सफल आरोहण गरिसकेका महिला पर्वतारोही तामाङ र शेर्पाद्वय माउन्ट के – २ का कान्छो आरोही भनेर चिनिने लाक्पा शेर्पाको नेतृत्वमा पायोनियर एड्भेन्चर नामक संस्थाको सहयोगमा आरोहण आउने वसन्त ऋतुमा हुने भएको हो ।

सगरमाथा आरोहणको तयारी गरिरहेकी तामाङ यस संस्थाको सदस्यसमेत रहेको हुदाँ संस्थाको तर्फबाट सक्दो सहयोग गर्नुपर्दछ र आवाज विहिनहरूको आवाज सगरमाथाको चुचुरोसम्म पुग्नु पर्दछ भन्दै नाम्सादिम छोरडान नेपालका अध्यक्ष हिरमान बल तामाङले सदस्य शर्मिला स्याङतान तामाङलाई सफल सगरमाथा आरोहणको लागि अग्रिम शुभकामना दिए । (अलतामांगअनलाइनको सहयोगमा)

निरु गौतम : लुम्बिनी । गौतमबुद्ध नेपालमा जन्मिएका हुन् भन्ने विश्वमाझ सन्देश दिँदै नेपाली दुई महिलाले बुद्ध जन्मस्थल लुम्बिनीबाट गौतम बुद्धको झण्डा लगेर सर्वोच्च शिखर सगरमाथामा फहराउने भएका छन् ।
सगरमाथा आरोहण गर्ने तयारीमा रहेका दोलखाको गौरीशंकर गाउँपालिका–९ सिमिगाउँकी २७ वर्षीया छोकी शेर्पा र काभ्रे जिल्ला रोसी गाउँपालिका–११ की २७ वर्षीया शर्मिला तामाङ्््लाइ शुक्रबार बुद्ध जन्मस्थल लुम्बिनीमा एक कार्यक्रमका बीच संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले झण्डा हस्तान्तरण गरेका हुन् ।
अप्रिल १० तारीख अर्थात चैत्र २७ गते सगरमाथा आरोहणको तयारी गरेका उनीहरूलाई पर्यटन मन्त्री अधिकारीले नेपाली झण्डा र लुम्बिनी विकास कोषका उपाध्यक्षभिक्षु मेत्रैयले गौतम बुद्धको झण्डा हस्तान्तरण गरे ।

लुम्बिनीको मायादेवी परिसरमा झण्डा हस्तान्तरण गर्दै मन्त्री अधिकारीले सगरमाथामा फरफराउने नेपाली झण्डा र बुद्धको झण्डाले संसारभर शान्तिको सन्देश फैलने विश्वास ब्यक्त गरे । महिलाहरूले गरेको आँटको सह्राना गर्दै मन्त्री अधिकारीले गौतम बुद्धलाई मन र मष्तिस्कमा राखेर सगरमाथाको आरोहण गर्न सुझाव दिए । उनले सगरमाथा आरोहणको यात्रा सफल रहोस भन्ने शुभकामना व्यक्त गरे । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्रैय, निमित्त सदस्य सचिव सरोज भट्टराई लगायत विकास कोष पदाधिकारी र कर्मचारीहरूले सगरमाथा आरोहीलाइ सफलताको शुभकामना दिए ।

केही देशमा अहिले पनि गौतमबुद्ध भारत जन्मिएको भन्ने भ्रम रहेकाले भ्रम चिर्नका लागि सर्वाेच्च शिखर सगरमाथा आरोहण गर्न लागेको आरोहण दलकी सदस्य छोकी शेर्पाले बताइन् । कार्यक्रमपछि छोकीले दैनिक पत्रसँगको कुराकानीमा भनिन्– ‘रोजगारीको शिलशिलामा ५ वर्ष दक्षिण कोरिया बस्दा गौतमबुद्ध नेपालमा जन्मेको नभई भारतमा जन्मेको भन्ने त्यहाँका नागरिकलाई भ्रम रहेकाले सो भ्रम चिर्न सगरमाथा आरोहण गर्न लागिएको हो ।’

आरोहण दलकी अर्की सदस्य शर्मिला तामाङले महिलाहरूले चाहे भने जे पनि गर्न सक्छन् भन्ने महिलाको साहस, आँट देखाउन सगरमाथा आरोहण गर्न लागेको सुनाइन । नेपालमा धेरै सम्भावना भएर पनि वैदेशिक रोजगारीमा जने महिलाहरूको संख्या धेरै भएको बताउँदै उनले विदेशमा भन्दा नेपालमा धेरै सम्भावना रहेको उल्लेख गरिन् । ‘नेपालमा पर्यटनको धेरै सम्भावना छ । पर्यटन विकासका लागि महिलाहरूको सक्रियता बढाउन अभियानमा सरिक भएँ’, उनले भनिन् ।

सगरमाथा आरोहणका लागि खर्च धेरै लाग्ने भए पनि सरकारी संघसंस्थाबाट कुनै सहयोग नपाएको उनीहरूको गुनासो छ । सामग्री खरिदका लागि केही संस्थाले सहयोग गरे पनि ब्यक्तिगत र साथीभाइको सहयोगमा आरोहणको तयारी गरेको शेर्पाले बताइन् ।
प्यनोर एडभेन्चर प्रालिको प्रायोजनमा सर्वोच्च शिखर सगरमाथा चढ्न लागेका उनीहरूसँगै अन्य ३ जना महिलाहरू पनि आरोहण दलमा सहभागी छन् ।
(दैनिकपत्र बाट साभार)