दुबईमा लुम्बिनी ड्रिम गार्डेन गेष्ट हाउसको उद्घाटन

लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । गएको २३ मार्च शुक्रबारका दिन युएईको मुटु मानिने दुबई सहरमा नेपालीहरुको धेरै चहल पहल तथा मुख्य रुपमा जमघट हुने बर दुबईस्थित नेपालीको प्रत्येक्ष लगानीमा लुम्बिनी ड्रिम गार्डेन गेष्ट हाउसको उद्घाटन भएको छ । उक्त गेष्ट हाउस नेपाली राजदूतावास अबुधावीका द्धितीय सचिव कृष्ण अर्याल, डा. दिनेश आचार्य, नेपाली समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटा र सोही गेष्ट हाउसका स्पोन्सर अहमद अब्डुल्ला अहमद अल्मुल्लाले रिवन काटेर गरेको हो ।

पछिल्लो समयमा नेपाली व्यवसायहरु मौलाउंदै गएता पनि नेपाली गेष्ट हाउस भने पहिलो नै पर्न गएको छ । नेपाली लगानीकर्ताहरु अन्य व्यवसायमा भन्दा रेष्टुरेण्ट व्यवसाय क्षेत्रमा निकै हानिएको देखिन्छ । बर दुबईमा मात्र हाल ११ वटा अन्य नेपाली रेष्टुरेण्टहरु संचालनमा रहेको छ भने यस गेष्ट हाउसको संचालनले अझै नयां आयाम थपिने आशा गरिएको छ । त्यसैगरी रेष्टुरेण्टपछि ट्राभल्स व्यवसायले पनि बजार लिएको पाईन्छ । समग्रमा हेर्ने हो भने रेष्टुरेण्ट व्यवसायको भविश्य फराकिलो देखिन्छ ।
नेपाली, इण्डियन, चाईनिज र कोन्टिनेन्टल विभिन्न परिकारका स्वादसंगै हुक्का (शिशा) का साथ अति नै सुविधा र आरामदायी बसोबासका लागि ११ वटा रुमको बिशेष व्यबस्था भएकाले नेपाली ग्राहक मात्र नभएर अन्य बिदेशी पाहुनाहरुको आगमन रहने जानकारीमा आएको छ । प्रवासमै भए पनि बिदेशीहरुले नेपाली परिभेषमा रम्न र रमाउनका लागि छुट्टै किसिमको अनुभव बटुल्न सक्ने छन् ।

सो उद्घाटन समारोहमा पन्चे बाजाले सुनमा सुगन्ध मात्र थपेन, सबैलाई नचाएर नै छाडे । दर्शकको रुपमा भेला भएका सबैले गेष्ट हाउसको धेरै जनचासो लिएको अनुभव गर्न सकिन्थ्यो । आउने पाहुनाहरुलाई सेवा र सत्कारका साथ क्वान्टिटी भन्दा पनि क्वालिटी दिने गेष्ट हाउसका मैनेजर भोजराज खनालले बताएका छन् । आशा गरौ आफ्नै नेपालीको व्यवसाय फलोस्, फुलोस् र उन्नतीले शिखर चुमुन यहि शुभकामना छ ।