Monday , December 11 2017
Breaking News

जुवाले बेलायतमा बर्बाद हुँदैछन् नेपाली : सन् सनी खबर युके

लण्डन । मार्च ७ तारिख रातको १२ बज्न १० मिनेट मात्र बाँकी छ । प्रायः सबैजना निन्द्रामा मस्त छन् । कोही नाइट ड्यूटीमा छन् । सबै पसल, रेस्टुरेण्ट र सपिङ गर्ने ठाउँहरु बन्द छन्, खोलिएका छन् त केही लेट लाइस्नस भएका अफ लाईसेन्सहरु, पबहरु, डान्सबार डिस्कोहरु र केही रात्री व्यवसाय गर्ने ठाउँहरु । दिउँसोभरी चाप हुने सडकहरु पनि प्रायः सुनसान छन्, फाटफुट केही गाडीहरु यताउता हुईकिरहेका छन् । सेन्ट्र्ल लण्डनका रात्री व्यवसायमा नाम चलेका दुई चार वटा गल्लीहरु बाहेक प्रायः सुनसान नै हुन्छ रातको समयमा लण्डन ।

तर, श्याम बस्नेत (नाम परिर्वतन) बन्ट्र्रवोकको हाई स्टीट्रमा छन् । कसैलाई पर्खे जस्तो उनी बारम्बार घडि हेरिरहेका छन् । तर, उनको पखाई अरु कसैको लागि होईन उनी त कति खेर १२ बज्ला र क्यासप्वाईण्टबाट उनको खातामा आएको तलब निकालेर नजिकैको जुवा घरमा छिरेर ठूलै बाजी मारौला भन्ने दाउमा छन् । उनी बिगत २ वर्षदेखि यस्तै प्रत्येक महिना ७ तारिखको १२ बजे कुरिरहेका हुन्छन् । तर, उनले जुवाबाट अहिलेसम्म खासै केही ठूलो जीत हात पारेका छैनन् । उनी भन्छन्, ‘नराम्रो लतमा फसियो अब उम्कने कसरी ? न पैसा, न पढाई न त गतिलो काम । बिजोग भयो यूकेमा ।’

स्टुडेण्ट भिसामा उनी सन् २०१० मा बेलायत आएका हुन तर उनको कुलतले गर्दा उनलाई अहिले आफ्नो दैनिकी चलाउन धौधौ नै परेको छ । नेपालबाट घरपरिवारले जति बोलाए पनि उनी नेपाल फर्केका छैन्न । नेपालबाट अनेकन बाहनामा ४/५ चोटि गरेर १५/२० लाख रुपैयाँ भित्र्याई सके तर सबै जुवामा चट । बेलायतमा पनि चिने जानेको साथीभाई, नातागोता सबैसँग सापटी लिएकाले धेरैजसो त उनी लुकीलुकी हिडिरहेका हुन्छन् । पहिला त साथीभाईले पनि सापटी दिन्थे तर अहिले सबै जनाले उनको खराब आनीबानी थाहा पाइसके । अहिले बस्नेतसँग सबैजसो टाढा हुने गरेका छन् । जुवाकै कारण उनको पढाई पनि नराम्ररी प्रभावित भइरहेको छ ।

 

यस्तै समस्यामा छन, केमडेन टाउनका ४२ बर्षका रमेश महत (नाम परिर्वतन) पनि । महत पनि काम गरेको पैसा सबै जुवामै उडाउँछन् । आज त जितिहाल्छु नि भन्यो सबै पैसा चट । फेरि जसोतसो गरेर पैसा जुटायो उही हालत । फुटबलमा १/२ पाउण्डको बेटिङबाट सुरु भएको उनको जुवा यात्रा ५ वर्षमा यसरी झाँगियो कि अहिले उनी निकै नाजुक अवस्थामा छन् । जुवाले नै उनको घर, परिवार र यहाँ भएको गल्फेर्डसँग उनी टाढिएका छन् । जुवाले आफ्नो जीवन नै चौपट बनाईदिएको बताउँछन् महत । तर, पनि जुवा छोड्न सकेका छैन्न उनले । साथीभाइले जुवा नखेल्न दवाव दिने गरेका कारण आजकल उनी आफु बसेको ठाउँ भन्दा २/४ माईल पर गएर दाउ जमाउँछन् । जुवामा उनले कम्तिमा पनि ५०-६० हजार पाउण्ड स्वाहा पारिसकेका छन् ।

अल्डरसटका मोहन गुरुङ (नाम परिवतर्ण) हङकङबाट युके आएका हुन् । उनका सबै परिवारका पुरुषहरु बेलायती सेनामा छन् तर, उनको हङकङको जुवा खेल्ने बानीले उनलाई सधै पैसाको मारमा पारेको बताउँछन् । हंगकंगमा चाईनिजहरुले क्यासिनोमा जितेको देखेर सुरु भएको उनको जुवा यात्रा कुकुर दैड, धोडा दैड हुदै मिसिनमा भएका रुलेट, पोकर, बल्याक ज्याक हुदै फ्रुट गेममा यति बढ्यो कि अहिले उनी टाट पल्टेका छन् उनीसँग केही छैन् । अविवाहित उनलाई परिवारले पनि त्यती वास्ता गदैनन् । उनी खाली सुत्न र खाना खानमात्र घर जान्छन् ।

‘यो एक प्रकारको कुलत हो ड्रग्स खाने बानी जस्तै । जति छोड्छु भने पनि नसकिने’, उनी भन्छन् । उनी अहिले आफुसँग पैसा नभए पनि गेम हाउस भित्र छिर्छन र रमिता हेर्छन् । कोही नयाँ ग्राहकलाई सिकाउने र टिप्स दिने पनि गर्छन् । उनलाई आफनो पैसा खाने मेसिनहरुसँग खुबै रिस उठ्छ ।

अल्डरसटकै मिलन सेन (नाम परिवर्तन) लण्डनमा राम्रै कमाउने मध्येमा पर्छन् । हप्तामा ६ दिन फुल टाईम काम गर्दछन् तर विगत १० बर्षदेखि उनी जुवा खेलिरहेका छन् । उनले हालसम्म कमाएको २ लाख पाउण्डभन्दा बढी मेसिनमा हारिसकेका छन् । उनी सम्झन्छन्, सबैभन्दा पहिला एक जना साथीले उनलाई मेशिनमा रुलेट खेल्न सिकायो र मेशिनमै जुवा खेल्न सिके । पछि त्यसैमा लत बस्दै गयो । अविवहित उनी अहिले पनि हप्तामा ६ दिन काम गर्दछन् र ब्रेकको बेलामा र काम सकेपछि जुवा मेसिनमा विभिन्न गेमहरु खेल्छन् । ‘यहाँ सबै जना खेल्छन् म मात्र होईन । अल्डरसटमा जुवा नखेल्ने नेपाली भेट्न गाह्रै होला । मलाई काममा भेटिएन भने भेट्ने ठाउँ यही हो’, सेनले हाँस्दै भने ।

उनी भन्छन, ‘जुवाले घरबार हारेका धेरै छन् । मेरो चाहीँ घर किन्ने पैसा सबै मेसिनले खायो । आखिर कमाएर के नै गर्नु छ र ? कमाएको पैसा जुवा र रक्सीमा सकिन्छ तर, कसैसँग माग्नु परेको छैन । त्यसैमा म खुशी छु ।’

फानबोरोका रामबहादुर गुरुङ (नाम परिवर्तन) रिटार्यड बेलायती सैनिक हुन् । अहिले उनको कुनै जिम्मेवारी नभएकाले फुर्सदिला छन् । समय बिताउन र साथीभाई भेटघाटका लागि जुवा घरमा जान्छन् । कहिलेकाहीँ उनीसँगै उनकी पत्नी पनि जुवाघर पुग्ने गर्छिन । ‘काम छैन दिन त काट्नै प¥यो’, उनी भन्छन्, ‘धेरै खेल्ने होईन, हामी जोईपोई त अलिअलि भाग्य अजमाउने हो । के थाहा कतिखेर के हुन्छ ?’ बेटिङ सपमा गएर चिया कफी खाने र जुवा खेल्ने धरै रिटायर्ड लाहुरेहरुको दैनिकी नै भईसकेको उनले बताए ।

बेलायतमा जुवा र नेपाली समुदायमा परेको असर

बेलायतमा जुवा ‘लिगल’ छ । १८ बर्ष भन्दा माथिकाले आफुले चाहेको ठाउँमा जुवा वा बाजी थाप्न सजिलै सक्छन् । युकेका सबै हाइस्टीट्रहरुमा २÷४ वटा बुकिसप र एडल्ट गेम हाउस भेटन खासै मुस्कील छैन । राजमार्गका सबै सर्भिस सेन्टरमा कतै न कतै एडल्ट गेम हाउस राखिएकै हुन्छन् ।

सुलभ उपलब्धता र सहजताकै कारण पनि जुवाबाट बेलायतमा रहेको नेपाली समुदाय ग्रस्त छ । यहाँ जुवामा सबै समुदाय नै लिप्त छन् । तर, आजकाल बुकिसप वा सानातिना क्यासिनो र गेम हाउसमामा जानेहो भने अत्याधिक एसियन मुलका र पूर्वी युरोपीयनहरुकै बाहुल्यता देख्न सकिन्छ । ठूला क्यासिनोमा पनि यही समुदायको उपस्थिति बाक्लो हुन्छ । जुवा घरहरुलाई यहाँका संचालकहरुले यसरी परिमार्जन गरेका छन की, उनीहरुको प्रथम टार्गेट नै ‘वर्किंग मिडल क्लास सिटिजन्स’ र आप्रवासीहरु पर्दछन् ।

२०१३ को रिपोर्ट अनुसार, सबैभन्दा बढी बेरोजगारी भएको ५० वटा पार्लियामेन्ट्री कन्स्टीचुयन्सी कुल १२५१ बेटिङ सप रहेको र त्यहाँका जुवाडे वा पन्टरहरुले ५.६ बिलियन दाउ ४४५४ फिक्सड अड्स बेटिङ टर्मिनल(सल्ट मेसिन)हरु बेट लगाएको भेटियो ।

त्यस्तै, सबैभन्दा कम बेरोजगारी भएको ५० वटा पार्लियामेन्ट्री कन्स्टीचुयन्सीमा कुल २८७ बेटिङ सप मात्रै रहेको र त्यहाँका जुवाडेहरुले १.४ बिलियन दाउ १०४५ फिक्सड अड्स बेटिङ टर्मिनल (सल्ट मेसिन)हरुमा बेट लगाएको भेटियो । सरसर्ती हेर्दा जुवा घरहरुले वर्किंग मिडल क्लास सिटिजन्स र आप्रवासीहरुलाई ४ गुणाभन्दा बढी लक्षित गरिएको देखिन्छ ।

मिरर दैनिक अखवारले २०१६ जनवरीमा गरेको एक सर्वेक्षण अनुसार फिक्सड अडस बेटिङ टर्मिनल (सल्ट मेसिन)हरुले मात्र ३४ मिलियन पाउण्ड बराबरको व्यापार गर्दछन् । जसमा १० मिलियन मान्छेहरुले यस्तो मेसिन प्रयोग गर्दा मात्रै उक्त व्यापार सम्भव छ । उक्त सर्वेक्षण अनुसार एउटा मेशिनले हप्तामा बढीमा १४०० पाउण्ड र कम्तीमा ९२३ पाउण्ड बनाउँछ । बेलायत भरका फिक्सड अडस बेटिङ टर्मिनल (सल्ट मेसिन) हरुले ४.९ मिलियन दैनिक कारोबार गर्दछन् ।

नेपालीहरुको बाक्लो बस्ती रहेको अल्डरसट, फार्नबोरो, रेडिङ, प्लमस्टीड, मेडस्टोन जस्ता ठाउँका जुवा घरहरुमा नेपालीहरुको बाक्लो उपस्थिति हुने गरेको छ । के युवा के बुढा के केटा के केटी सबै जना जुवा घरकै वरपर र भित्र बाहिर रुमल्लीरहेको भेटिन्छन् । विशेष गरी भूपू गोर्खाहरु यस्तो लतमा नराम्ररी फसेको भेटिन्छन् । अझ ५० नाघेका नेपालीहरुको भेटघाट गर्ने र चिसो तातो खाने तथा फुटबल, हर्स रेस र टेनिस हेर्ने ठाउँ नै बुकिहाउस र क्यासिनोहरु हुने गरेका छन् ।

जुवाको मारमा धेरै नेपालीहरु

नुवाकोट घरभएका रामबहादुर थापा (नाम परिर्वतन) सेक्युरिटीमा काम गर्थे । २ हजार पाउण्ड भन्दा माथि उनको तलब थियो । विवाहित उनी साथीसँग एकपटक अक्सर्फोड स्ट्रीटको क्यासिनोमा जादाँ पहिलो पटकमै ५०० पाउण्ड जिते । त्यसरी पल्किएका उनी बारम्बार क्यासिनो धाउन थाले । तर, त्यसपछि उनले कहिल्यै जितेनन् । हरेक महिना ७ तारिखमा उनको तलब आउथ्यो र त्यही दिन उनको सबै पैसा सकिन्थ्यो । उनले सबै साथिभाईसँग हजारौं पाउण्ड सापटी लिएका छन् । जुवाकै कारण अहिले उनले श्रीमतिसँग सम्बन्ध विच्छेद पनि गर्नुपरेको छ । धेरैजसो लुकेरै हिड्ने उनी भन्छन, ‘जुवा नखेल्ने नेपाली बिरलै भटिन्छन् । विदेशको जिन्दगी यस्तै हो । सबै पैसाको पछि लागेका छन् ।’

त्यस्तै, अल्डरसटका दिनेश मगर (नाम परिवर्तन) ले साथीहरुसँग जादाँ फ्रि टोकनबाट फुर्ट गेम खेलेका थिए । त्यहीबाट उनलाई जुवाको लत बसेको हो । गेम हाउसमा यस्ता अनेक फ्रि टोकन र चिसो तातोको व्यवस्था हुन्छ जसले जाँउजाउँ र खेलौंखेलौं लाग्ने बनाउँछ । कतिपय गेम हाउसमा पुल र स्नुकर अनि पब पनि हुने हुदाँ जमघट र समय काट्न नेपालीहरु पुगिरहने र त्यहीबाट जुवा वा मेशिन गेम खेल्न सिकिने उनको बुझाई छ ।

बेलायतमा सबैभन्दा बढी बेट हुने खेल फुटबल हो । डेलीमेलले जनाए अनुसार अप्रिलदेखि अक्टोबर २०१४ सम्म बुकिमेकरहरुको टर्नओभर मात्र १८.८ बिलियन पाउण्ड थियो । यसमध्ये ७० प्रतिशत बेट फुटबलबाट आएको थियो ।

प्लमस्टीडका राजु थापा (नाम परिवर्तन) बेलायत बसेको एक दशक भन्दा बढी भईसक्यो उनी कहिलेकाहीँ साथीभाइसँग म्यारिज खेल्छन तर धेरैजसो उनी फुटबलमा बेटिङ गर्दछन् । ५ पाउण्ड बेटिङबाट सुरु भएको उनको यो यात्रा अहिले पनि जारी छ । उनी आफुलाई जुवा एडिक्सनमा परेको मान्दैनन् तर फुटबलमा उनले एउटा खेलमा ८०० पाउण्डसम्म एकै पटक बेट गरेका छन् । कहिले एकुमुलेटर र कहिले डबल त कहिले फस्र्ट वा लास्ट स्कोरर वा कहिले गेम स्कोरमा बेटिङ गर्दछन् । हालसम्म उनले ५० देखि ६० हजार पाउण्ड हारिसकेको स्वीकार्छन् । उनी फुटबल बाहेक अरुकेही खेल्दैनन् । एक दुई पटक मेशिन गेम खेलेका उनी फुटबल बेटमै रमाउँछन् । एकपटक १८ सय पाउण्डसम्म जितेका उनले उझै आशा भने मारेका छैनन् ।

जुवा घरका नेपाली व्यवस्थापकको अनुभव

विलियम हिल बेटका नेपाली व्यवस्थापकले नाम नबताउने शर्तमा भने, ‘मैले काम गरेको ७÷८ वर्ष भन्दा बढी भैसक्यो, सुरुमा नर्थ लण्डनमा र त्यसपछि हाल ईस्ट लण्डनमा व्यवस्थापकको रुपमा काम गर्दैछु । मैले देखेअनुसार बिशेषत नेपालीहरु फुटबलमा बेट गर्दछन् र यो नै धेरैको जुवाको शुरुवात हो । त्यसपछि उनीहरु बिभिन्न अरु बेटहरु जस्तै टेनिस र बक्सिङमा पैसा हाल्छन् । २÷४ महिनमै मेसिनमा पैसा हाल्न थाल्छन् जसले जुवाको लत बसाउँछ ।’

उनको अनुभवमा प्राय सबै खालका नेपालीहरु जुवा घरमा छिर्ने गरेका छन् । विशेषगरी गोर्खा वा उनका परिवारका मानिसहरु धेरै जुवा घरमा जाने गर्छन । तर, उनले उल्लेख्य मात्रामा विद्यार्थी र अरु भिषामा भएका नेपालीहरु पनि भेटेका छन् । नेपाली महिलाहरु पनि केही संख्यामा जुवाघर धाउने गरेको उनी बताउँछन् । उनको ७/८ वर्षको यो अवधिमा एक नेपालीले तीन हजार पाउण्डसम्म जितेको देखेका छन् तर, प्राय सबैले हारेकै भेटेका छन् ।

उनको बुझाईमा नेपालीहरु जुवामा यसरी फस्नुको कारण ‘इकोनोमिक इमिग्रेसन’ नै हो । सबैको चहाना छिटो पैसा कमाउने र सभ्रान्त हुने भन्ने होडबाजीले र धेरै नेपालीहरुले भाग्यमा बढी विश्वास गर्नाले समेत जुवाघर पुग्ने गरेको उनको अनुभव छ । उनले धेरै नेपालीहरु जुवाको लतले घर न घाटको भएको भेटेका छन् । केही त उनकै साथीहरु पनि छन् ।

करुण श्रेष्ठले ७ बर्षसम्म व्यवस्थापकको रुपमा जेनिंग्स बेटमा काम गरेका थिए । उनको अनुभवमा धेरै नेपालीहरु नियमति ग्राहक छन । प्राय सबै फुटबल र रुलेटमा बेट गर्दछन् । एक दिन त जित्छु नि भन्दै खेल्ने बानीले धेरै नेपाली फसेको उनको अनुभव छ । अझ बुढाबुढीहरु त फुर्सदमा हुने र घरका सबै छोरा बुहारी काममा जाने हुँदा समय विताउन बेटिङ सपमा छिर्ने गरेको उनले भेटेका छन् । आफुले चिने जानेका नेपालीहरुलाई नखेल्ने सुझाव दिएपनि खासै कसैले नसुन्ने तीतो अनुभव श्रेष्ठले सुनाए । केटाहरु नै यस्तो लतमा बढी फसेको उनले भेटेका छन् । जुवामा जित्नु असम्भब बराबरै भएको उनको बुझाई छ । बेलायतमा जुवाको कडा कानुन छैन् । सरकारी स्तरबाटै कडा कानुन र नीति नबनेसम्म यसबाट मानिसहरु उम्किन मुस्किल नै पर्ने उनी ठान्छन् ।

सञ्चारकर्मी गणेश खड्का पनि सहायक व्यवस्थापकको रुपमा बेटिंग सपमा काम गर्दछन् । नेपालीहरु जुवाको लतमा फस्नुको कारण सरल उपलब्धी र सरल कानुनका साथसाथै प्रविधिको विकासले मूख्य भूमिका निर्वाह गरेको ठान्छन् खड्का । अझ कतिपय नेपाली बुढाबुढीहरु त विहान ढोका खोल्नु अगाडि नै आईपुग्ने र बेलुका सप बन्द हुँदासम्म जान नमान्ने गरेको उनले भेटेका छन् । उनको आफ्नै एकजना विद्यार्थी साथी पनि जुवामा फसेर सबैसँग पैसा सापटी लिएको र पछि भिसा थप्ने बेलामा नेपालबाट मगाएको ५६ सय पाउण्ड पनि जुवामै हारेकाले नेपाल फर्केको खड्का सम्झन्छन् ।

नेपालीहरुको जुवामोहलाई एक सामाजिक समस्या ठान्ने उनले यहाँस्थित सयौं नेपाली सामाजिक संघ संस्थामध्ये कसैले पनि यसतर्फ कुनै ध्यान नदिनुलाई दुःखद् भन्छन् ।

नेपाली संस्कृतिमा जुवा

 

नेपाली समाजमा जुवा कुनै नौलो खेल होइन । हिन्दू धर्ममा जुवाको किस्सा र किंबदन्ती निकै रोचक छन् । हाम्रा पुराना धार्मिक गन्र्थहरुमा देवी देवताहरुले जुवा बाट मनोरन्जन लिएका धेरै कथाहरु सुनिन्छ । स्वस्थानी कथामा महादेव र सतीदेवी वा महादेव र पार्वतीले खेलेको जुवाको कथा होस् वा माहाभारतमा पाण्डव र कौरबका बीचको जुवा काण्ड नै किन नहोस् धर्मग्रन्थमा निकै रोचक ढंगले प्रस्तुत गरिएको छ ।

 

नेपालमा तिहारको लक्ष्मी पुजाको दिनमा जुवा खेल्नुपर्छ भन्ने मान्यता आजपर्यन्त छ । सानै उमेरदेखि लङ्गुरबर्जा खेल्ने चलन नेपालका प्राय सबै ठाउँहरुमा छ । भोज र चाडपर्वको अवसरमा जुवा वा तास खेल्ने चलन पनि नेपाली समाजमा छ । केही अघिसम्म पुरुषको मात्रै अधिपत्य रहेको यस्ता खेलामा अहिले महिलाको सहभागिता पनि उल्लेख्य रुपमा बढेको छ । तास र जुवाको खालमा जमेकाहरुलाई प्रहरीले हतकडी लगाएको समाचार पनि बेलाबखत नआउने होइनन् । जुवा नेपालमा कानुनी रुपमा प्रतिबन्धित छ ।

 

बेलायतमा जुवाको इतिहास

 

बेलायतमा जुवाको इतिहास पनि निकै पुरानो छ । रोमन र भाईकिङ्सकै पालादेखि यहाँ उनेकन बोर्ड गेमहरु मनोरजन र भाग्य अजमाउन खेलिएको इतिहास भेटिन्छ ।

 

ईङल्याडका राजा हेनरी आठैको सासन काल (सन १५०९ देखि सन १५४७)सम्म ईङ्ल्याडमा जुवाले फस्टाउने मैका पायो । कारण, उनी आफै जुवा खेल्ने गर्दथे र उनले नै ५० भन्दा बढी जुवा खानाहरु लण्डन वरपर खोलेका थिए । उनकै पालमा विभिन्न कार्ड गेम, टेवल गेम र चेकर्स गेमहरु सुरु भएको भेटिन्छ तर आफना सेनाहरु काममा भन्दा जुवामा लागेको कारण उनले सेनामा संलग्न सबैलाई जुवाबाट पुर्ण रुपमा निषेध पनि गरेका थिए ।

त्यस्तै, उनकै छोरी एलिजाबेथ प्रथमले सन १५६९ मा टेक्स रेभेन्यु बढाउनका लागि ५ हजार पाउण्डको प्रथम नेशनल लोटरी प्रचलनमा ल्याएको भेटिन्छ । त्यस्तै, चाल्र्स प्रथमले पनि आप्mना भारदारहरुलाई लोटरी र जुवा खेलाउन दिएको र उठेको पैसाबाट लण्डनमा खानेपानीका पुर्वाधारहरु विस्तार र विकाश गरेको पाईन्छ ।

बेलायतमा जुवा दोस्रो विश्व युद्धपछि निकै फस्टाएको र आधिकारीक बनाईएको प्रमाण भेटिन्छ । ६० को दशकमा बिङ्गो हाउस बाट सुरुभएको व्यापरिकरण १९६१ मा खोलिएको पोर्ट टेलबोट क्यासिनो नै बेलायतको प्रथम आधिकारीक क्यासिनोको रुपमा लिईन्छ । १९६८ को जुवा सम्बन्धी सरल कानुनले यो क्षेत्रमा उल्लेख्य व्यापारिकरण भएको देखिन्छ । हाल १८ बर्षभन्दा माथिकालाई बेलायतमा जुवा खेल्न कुनै रोकतोक छैन् ।

 

अहिले युग परिवर्तनसँगै जुवा खेलमा पनि विभिन्न उल्लेखनीय परिर्वतण भएका छन् । अब जुवा खेल्न चार्डपर्व कुर्नुपर्ने छैन् न त साथिभाईलाई नै । आफूलाई इच्छा लागेको बेलामा मेसिनमा जुवा खेल्न सकिन्छ । बेलायतका प्राय सबै शहरहरुमा छ्यापछ्याप्ती जुवा घरहरु छन् । कतिपय ठाउँहरु २४संै घण्टा ग्राहकका लागि खुल्ला हुन्छन् । एक तथ्यांक अनुसार हाल बेलायत भर १ लाख ६७ हजारभन्दा बढि ‘फिक्सड अड्स बेटिङ टर्मिनल’(गेमिङ मेसिन) सञ्चालनमा छन् ।

 

यहाँ ठूला फाईभ स्टार क्यासिनोदेखि स–साना जुवा घरहरु यत्रतत्र छन् । विलियम हिल, पेडी पावर, कोरल, बेट फेर्ड आदि बुकमेकरहरु छन् । त्यस्तै, एमिजमेट पार्क वा एडल्ट गेमहाउसहरु छन् जहाँ बिभिन्न नयाँ नयाँ जुवाका मेशिनहरुले ग्राहकहरुलाई लोभ्याइरहेका हुन्छन् । हालै, गरिएको एक तथ्यांक अनुसार २००८ देखि बेलायतमा सबैभन्दा फस्टाएको बिजनेश नै बुकि शप र जुवा घरहरु हुन् । २००८ को रिसेसनले धेरै व्यापारहरु बन्द हुँदा ती बन्द भएका ठाउँहरुमा प्रायः जुवा घरहरु खुलेका पाईन्छ र तिनिहरुको व्यापार पनि सधैं बढेको बढै छ ।

के भन्छ एनएचएस र कसरी हुन्छ उपचार

जुवाको लतमा फसेकाहरुको उपचार एनएचएसले गर्छ भन्ने कुरा धेरै नेपालीहरुलाई थाहा नहुन सक्छ । तर, विगत केही बर्षदेखि एनएचएस सक्रिय रुपमा नै जुवाको एडिक्सन विरुद्ध लागि रहेको छ । एनएचएसका अनुसार युकेका हाल ५ लाख ९३ हजार मानिसहरु ग्याम्बलिङ एडिक्सनमा फसेका छन् । हाल स्मार्टफोन र ट्याबलेटबाटै जुवा खेल्न सकिने हुनाले महिलाहरुको संख्या पनि निकै बढेको छ । जुवाले मानिसका आकांक्षा र उत्तेजना तिब्र रुपमा बढाउने हुँदा यो एडिक्सनको रुपमा विकास हुनसक्छ । फलस्वरुप जुवाडे वा जुवा एडिक्सन भएकाहरुमा तनाब, हिनताबोध, उत्तेजना र निराशाका शिकार हुन पुग्छन् ।

एनएचएसका अनुसार जुवाडे वा जुवा एडिक्सन भएका मानिसहरु अपराधिक क्रियाकलापमा संलग्न हुने र कारागारमा जाने सम्भावना बढी पाइएको छ । साथै, एनएचएसले जुवा र रक्सीको लिंकका प्रशस्त प्रमाणहरु पनि भेटेको बताउँछ । धेरै जुवा एडिक्टहरु एकैसाथ रक्सी एडिक्सनमा पनि फसेको एनएचएसको तथ्याङ्क छ ।

जुवाडेहरुका लागि सेवा र परामर्श

एनएचएसका अनुसार जुवाको एडिक्सन पनि अरु एडिक्सन जस्तै सफलतापूर्वक हटाउन सकिन्छ र यसका लागि Cognitive Behavioural Therapy एउटा उत्तम उपाय हो ।

हाल एनएचएसले यस सम्बन्धी सहयोगको लागि विभिन्न कार्यहरु गरिरहेको छ । यदि कोही जुवाको एडिक्सनमा फसेको भए वा जुवा छुटाउन सहयोग चाहिए यी सेवाहरु सजिलै एनएचएस बाट लिन सकिन्छ ।

१) नेशनल प्रबलम ग्याम्बलिङ

१६ बर्षभन्दा माथिका ईंग्लयाण्ड र वेल्समा भएकाले आफुले आफैलाई रिफर गर्ने सुविधा

२) ग्यामकेयर (GamCare)

यो युकेको मुख्य संस्था हो जसले राष्ट्रिय ग्याम्बलिङ हेल्पलाईन चलाउँछन् । यसको हेल्पलाईन नं ०८०८८०२०१३३ हो र यसमा फेस टु फेस परामर्श लिन सकिन्छ ।

३) गेम एनोन (Gam-Anon)

यदि तपाईका साथीभाई र आफन्तहरुको जुवाको कुलतले तपाईलाई चिन्ता वा छटपटी भएको छ भने र कसरी जुवामा फसेको मानिस चिन्ने र नजिकको परामर्श लिने ठाउँ कहाँ छ भनेर यसबाट जान्न सकिन्छ ।

४) ग्याम्बलर्स एनोनिमश (Gamblers Anonymous)

यसले अल्कोहल एडिक्सनको जस्तै विभिन्न १२ थरी प्रयोग गरि ग्याम्बलिङ एडिक्सन हटाउन सहयोग गर्छ । यससँग गेम एनोन भन्ने छुट्टैसमुह छ जसले आफन्त वा परिवारलाई परामर्श दिन्छ ।

हाम्रो भनाई

यो रिपोर्टको उद्देश्य बेलायतमा रहेका नेपालीहरुको बदनाम गर्नु होइन बरु विकृतिमा फसेर विग्रिएकाहरुको बारेमा र समसामयिक घटनाक्रममा समयमै सबैको ध्यान जाओस् भन्ने हो । रिपोर्टमा उल्लेखित पात्रहरु जस्ता जुवामा लागेर टाट पल्टेका नेपालीहरु यत्रतत्र छन् । जुवाको लतले नेपालीलाई यो विदेशी भूमिमा ठूलो पीडा दिएको छ । समयमै सचेत भएर लागे यो कुलतबाट सबै नेपाली मुक्त हुन सक्छन् ।

विशेषगरी, यहाँ ठूलो संख्यामा बसाई सरेका गोर्खाहरुले कति दुःख कष्ट गरेर पेन्सन पाईरहेका छन् र यसको लागि अझ कैयन संस्थाहरु आन्दोलनमा छन । गोर्खा सैनिकका रिटाएर्ड र उनका परिवारका अरु सदस्यहरुले यसरी पेन्सनको पैसा जुवामा बार्बद गर्ने हो भने यसले उनीहरुको भविष्य कता पु¥याउँला ? गम्भिर भएर सोच्नुपर्छ । भूपू गोर्खाहरुको जुवामोह अहिलेजस्तै बढ्दै जाने हो भने भविष्यमा गोर्खाहरुप्रति यहाँको सरकारले बनाउने दृष्टिकोण र यहाँको स्थानीय समुदायले गर्ने सम्मानमा पनि असर नपर्ला भन्न सकिन्न ।

त्यसैगरी, जुवाको कुलतमा फसेका बेलायतस्थित नेपाली विद्यार्थीहरु पनि कुलतका कारण विश्वविद्यालय छोड्ने, जेल जाने र लुकेर हिड्नुपर्ने अवस्था आउनुपूर्व नै सचेत हुन जरुरी छ ।

तमुधि, एनआरएन, मगर समाज, नेवार समाज र क्षेत्री समाजहरुले तथा बेलायतका नागरिक अगुवाहरुले पनि अब च्यारिटी डिनर र नेपाल विकासका मात्र कार्य योजनाहरु नबनाएर कसरी यहाँ भएका नेपालीहरुलाई अरु सेवाहरु दिन सकिन्छ भन्ने बारेमा सोच्न आवश्यक छ । हाल यहाँ नेपालीहरु जुवा, ड्रग्स, डिप्रेसन र इमिग्रेशन जस्तै घेरै समस्याहरुमा फसेका भेटिन्छन् । तर, उचित परामर्श र सहयोग कतै बाट पाएको भेटिन्न र सुनिन्न पनि । यतातिर सबैले सोचौं ।

– नेपालीपत्र बाट साभार : 

 

Leave a Reply

%d bloggers like this: